रेफ्रीमाथी हातपात गर्ने खेलाडीलाई २ वर्षसम्म खेलमा प्रतिबन्द लाग्न सक्ने, खेल अनिश्चित

रेफ्रीमाथी हातपात गर्ने खेलाडीलाई २ वर्षसम्म खेलमा प्रतिबन्द लाग्न सक्ने, खेल अनिश्चित

कुमार खड्का,  पथरी

फुटबल खेलमा रेफ्रीमाथी जाइलाग्ने खेलाडीलाई २ वर्षसम्म खेलमा प्रतिबन्द लाग्न सक्ने जनाइएको छ । सोमबार मोरङको पथरी शनिश्चरे स्थित भुटानी शरणार्थी सिविरमा रहेको खेल मैदानमा आयोजित खेलमा रेफ्री माथी नै हातपात भएको थियो ।

प्रथम नगर स्तरीय मैत्रीपूर्ण फुटबल टुर्नामेन्टमा सोमबारको खेल वडा नं. १० र बेलडाँगी सिविरको टिम बिच खेल भइरहेको थियो । खेलको निर्धारित समय सकिएपछि वडा नं. १० का खेलाडी र सो टिमका समर्थक उत्तेजित भएर रेफ्री मनिस खड्का, सहायक रेफ्री जमुना मगर र अमित लामालाई हातपात गरेका थिए । सो क्रममा जमुना मगरको कानको पछाडी भागमा चोट लागेको थियो । पछाडीको भागमा २ टाँका लगाए र सिलाई गरेपछि मगरको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ ।

रेफ्री संघका अध्यक्ष के भन्छन् ?

यसरी खेलमा रेफ्री माथी हातपात तथा अभद्र व्यवहार गर्ने खेलाडीलाई मोरङ रेफ्री संघले २ वर्षसम्म नेपाल अधिराज्यभर खेल्न नपाउने गरी कार्वाहीको सिफारिस गरिने मोरङ रेफ्री संघका अध्यक्ष मदन काफ्लेले जानकारी दिए । मोरङ फुटबल संघ मार्फत सो घटनामा संलग्न ६ खेलाडीलाई कार्वाहीका लागि बुधबार सिफारिस गरिने बताए । साथै काफ्लेले रेफ्रीहरुलाई सुरक्षा प्रदान गर्न नसकेका कारण जारी खेल रेफ्री संघले बहिस्कार गरेको बताए ।

मोरङ जिल्ला फुटबल संघका अध्यक्ष दिपेन्द्र धिमाल

खेलमा रेफ्रीको गल्ती भएमा रेफ्रीका बिरुद्धमा उजुरी गर्ने प्रसस्तै निकायहरु हुदाहुदै पनि आक्रमणमा उत्रिनु उदयीमान खेलाडीहरुमा गम्भिर अनुशासन हिनता देखियो । मोरङ जिल्ला फुटबल संघले लाइसेन्स प्राप्त रेफ्री माथी भएको दुव्र्यवहारको विषयमा फुटबल खेलको नियम अनुसार उत्तेजित हुने खेलाडीलाई कार्वाहीका लागि एन्फामा सिफारिस गर्ने अध्यक्ष धिमालले बताए ।

मुख्य रेफ्री मनिस खड्का

खेलमा जम्मा ३ वटा अफसाइड बलमा गोल भएको थियो, सो बललाई खेलाडीले गोल भएको मान्यता दिन माग गरेता पनि, गोलको मान्यता दिन योग्य थिएन । त्यसको केही समय पछाडी थप हेन्डबलको पनि अपिल गरिरहेका थिए तर उनिहरुले गरेको अपिल अनुसार हेन्डबलको मान्यता दिनुपर्ने अवस्था थिएन । पछि खेलको निर्धारित समय सकिएपछि सोही विषयलाई लिएर खेलाडी र सो टिमका समर्थकहरु आक्रोसित हुदै सामुहिक रुपमा हामी माथी आक्रमण गरे ।

२ जनाका बिरुद्धमा उजुरी

रेफ्री माथी हातपात गर्ने २ जनाका बिरुद्धमा इलाका प्रहरी कार्यालय पथरीमा उजुरी परेको छ । महिला माथी हातपात गरेको र अभद्र व्यवहार गरेको भन्दै पिडित जमुना मगरले उजुरी दिएको जानकारी दिइन् । उत्तेजित खेलाडीसंगै मैदान प्रवेश गरि रेफ्री मगर माथी मुक्का प्रहार गर्ने दर्शकलाई तत्काल पक्राउ गरि आवश्यक कानुनी कार्वाही गरिने प्रहरीले जनाएको छ ।

हिजोको खेलमा बेलडाँगीले २–० गोल अन्तरले वडा नं. १० लाई पराजित गरेको थियो । सोमबारको खेलसंगै सेमीफाइनल समिकरण पुरा भएको छ । अब सेमी फाइनलका २ वटा खेल र फाइनल खेल कहिले हुने भने अनिश्चित बनेको छ ।

 

सम्बन्धित खवर