कण्डम सित्तैमा पाइन्छ तर प्याड किन पाइदैन सरकार ?

कण्डम सित्तैमा पाइन्छ तर प्याड किन पाइदैन सरकार ?

एकपटक सोच्नुस त ! तपाइ सरकारी अस्पतालमा पुग्दा सबैभन्दा पहिला कण्डमको बक्स देख्न सक्नुहोला तर महिनावारी हुँदा प्रयोग गर्ने स्यानेटरी प्याड ? भलै पंत्तिकारलाई प्याड प्रयोगमा नआउला तर कण्डम भन्दा पहिलो अनिवार्य आवश्यकता प्याड नै हो भन्ने जरुर ठान्छ ।

सरकारी अस्पतालमा भित्र पस्नासाथ कण्डम बक्स देख्नु हुन्छ तर अहिलेसम्म अस्पतालमा स्यानेटरी प्याड भनेर राखेको बक्स पंत्तिकारका नजरमा परेन । पहिलो अनिवार्य आवश्यकता पहिचान गर्न किन सकिएन सरकार ? की प्राकृतिक रुपमा हुने महिनावारी भन्दा योजनाबद्ध रुपमा गरिने यौन सम्पर्क महत्त्वपूर्ण हो ?

हामीले थाहा पाउदा देखि हाम्रा आमा हजुरआमाहरुले महिनावारी हुदा सुतिको कपडा प्रयोग गर्नु हुन्थ्यो । अहिलेपनि त्यही सुतिको कपडा निरन्तर प्रयोगमा छ । पुरानो थोत्रो कपडाले महिनावारी टारेर जुनी काटेका आमाहरुलाई सम्मान छ तर अहिले समय त्यस्तो छैन् । बजारमा विभिन्न ब्राण्डका प्याडहरु प्रसस्तै पाइन्छन् । सबैले त्यो प्याड किनेर प्रयोग गर्न सक्ने अवस्था छैन् । ५० रुपैँयामा किनेको सुतिको कपडाले पटक पटक प्रयोग गरेर वर्षौँ बित्छ तर ५० रुपैँयामा किनेको प्याड दोस्रो पटक प्रयोगमा आउदैन् । आर्थिक हिसाबले पनि सबै नेपालीले महिलाले प्याड किन्न सक्ने अवस्था छैन् । कपडा प्रयोग गर्नाले महिलाहरुमा विभिन्न स्वास्थ्य समस्याहरु आउने गर्दछन् । इन्फेक्सन भएर ज्यानै गुमाउनु पर्ने हुनसक्छ तर अहिलेसम्म पनि सरकारले सबै नेपाली महिलाका लागि निःशूल्क स्यानेटरी प्याड दिन सकेन ।

छाउपडि प्रथा उन्मूलन गर्न कम्मर कसेर लागेको सरकारले जाबो प्याड त निःशूल्क दिन सक्दैन भने कसरी छाउगोठको दिवाल भत्काउन सक्छ ? अहिले सरकारी विद्यालयहरुमा छात्राका लागि निःशूल्क प्याड दिने चलन सुरु भएको छ तर त्यो पनि समयमा खरिद हुन नसक्दा छात्राहरुले भनेको समयमा प्याड नपाउने अवस्था रहेको छ ।

केही समय अगाडी मोरङको लेटाङमा बाल विवाह न्यूनिकरण सम्बन्धी अन्तरक्रिया गोष्ठीमा सहभागी एक छात्राले दर्विलो कुरा राखिन् ‘‘महिलाले आवश्यकताका लागि प्रयोग गर्ने प्याड चाहीँ महँगो अनि पुरुषले रमाइलोका लागि प्रयोग गर्ने कण्डम चाहीँ किन सस्तो ?’’ हलमा नगर प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत लगायत अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए तर यो प्रश्नको उत्तर आएन । आओस पनि कसरी, यसतर्फ कसैले चासो दिएकै छैन् । सरकारले कसैको घरघरमा न त कण्डम पु¥याउन सक्छ न त प्याड नै तर कण्डमको बक्स राख्ने ठाउँमा प्याडको बक्स पनि राख्न त सक्छ नी ।

कुनै समयको आवश्यकता थियो जनसंख्या नियन्त्रण गर्न, जन्मान्तर बढाउन, सुरक्षित यौन सम्पर्कका लागि कण्डम अनिवार्य प्रयोग गर्नुपर्ने । एक पटक नेपाल टेलिभिजन, रेडियो लगायतमा खुब बज्ने र सुनौ सुनौ लाग्ने बिज्ञापन थियो ‘‘सुख पनि खुसी पनि खोज्या मैले पायाँ मैले त्यो सबै मलाइ दिने ढाल नै हो । एउटा बच्चा ३÷४ वर्ष नभएसम्म रोक्ने छेक्ने सुन सबै ढाल नै हो ।………..ढाल संधै प्रयोग गरौँ ।’’ सायदै यो बिज्ञापन नसुन्ने मान्छे कम छन् । बच्चाहरुको जन्मान्तर बढाउनका लागि सन्देश दिने यो काण्डमको जस्तो प्याडको बिज्ञापन अहिलेसम्म कतै सुनिएन ।

यौन सम्पर्क नगर्न सकिन्छ तर महिनावारी हुँदा प्याड नलगाइ बस्न सकिन्छ ? यौन चाहना हुनेले १० रुपैँयाको कण्डम किन्न सक्छ त्यही १० रुपैँयाको बट्टामा पनि १० पिस यानिकी १ रुपैँया गोटा कण्डम पाइन्छ तर प्याड अँह पाइन्न । कण्डम १० रुपैँया बट्टा देखि ३०० रुपैँयासम्म पर्ने इश्वरी फार्मेसीका सञ्चालक इश्वरी साप्कोटा बताउछन् । प्याड कम्तीमा २० रुपैँया गोटा पर्छ । २० देखि २५० रुपैँयासम्मका प्याडहरु पाइने सापकोटाको भनाइ छ । एक पटक महिनावारी हुँदा सरदर कति वटा प्याड चेन्ज गर्नुपर्छ ? सामान्य परिवारका महिलालाई कति समस्या छ । सरकारले यस्ता अनिवार्य कुराहरु निःशूल्क उपलब्ध गराउन सक्नु पर्छ ।

कण्डममा कति आकर्षण छ, बास्नादार, रोजी रोजी कुन फ्लेवरको लिने डिजायर, प्यान्थर, डुरेक्स, लाइफस्टाइल, कोब्रा, ढाल, लिलो हेक्स, म्याग्नुम आदि आदि के के हो के के । अझ खोलमा उस्तै उत्ताउलो र आकर्षक चित्र राखिएका हुन्छन् तर प्याडको आकर्षणका लागि केही देखिदैन् । हैन कम्पनीहरुले पनि बिज्ञापन गर्न नचाहेका हुन् की नजानेका हुन् ?

ए अब त्यसो भए कण्डम प्रयोग गर्न छाडेर प्याड मात्रै राखिदिने त ? पंत्तिकारको त्यस्तो आशय हुदै हैन् । आशय के चाहीँ हो भने यी दुवै आवश्यकताका विषय हुन् । कण्डम भन्दा बढि अनिवार्य आवश्यकताको विषय स्यानेटरी प्याड हुने भएकाले प्याडलाई बढि महत्त्व दिऔँ भन्ने मात्रै हो । समानताका कुरा भाषणमा मात्रै दिनेहरुले पनि बिचार गरौँ । यस्ता साना साना कुराले ठुलो महत्त्व राख्छ ।

भिमराज अधिकारी
पथरी शनिश्चरे, मोरङ

सम्बन्धित खवर