अपाङगता सहायक सामग्री खरिद सहितको कार्यक्रम तय

अपाङगता सहायक सामग्री खरिद सहितको कार्यक्रम तय

पथरी, मोरङको पथरी शनिश्चरे नगरमा सञ्चालित अपाङगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत अपाङगता सहायक सामग्री खरिद सहितको कार्यक्रम तय भएको छ ।

अपाङगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम व्यवस्थापन समिति अध्यक्ष नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षताको आजको बैठकले यस अघि सम्पन्न वडा वडामा सञ्चालित अपाङगता शिविरमा संकलन भएको तथ्यांकका आधारमा सहायता सामग्री व्यवस्थापन गर्ने निर्णय गरेको छ । जस अनुरुप ६१ वटा ह्विलचियर, २६ वटा श्रवणयन्त्र, ११ वटा बैशाखी, २ वटा ट्राइसाइकल, ४ वटा सेतोछडी, २ वटा वाकर सहितका सामग्री व्यवस्थापनको निर्णय भएको समिति सदस्य सचिव एवम् महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले जनाउनु भयो ।

बैठकले, गर्भवती जाँचका लागि युएसजी मेसिन खरिद तथा अपाङगता भएका विद्यार्थीको विशेष विद्यालय भर्ना अभियान, समावेशी शिक्षाका लागि शिक्षक तथा सहयोगी कार्यकर्तालाई तालिम सञ्चालनको निर्णय गरेको छ । यसका साथै अपाङगता भएका बालबालिकाका लागि घरमा आधारित शिक्षा कार्यक्रम समेत सञ्चालन गरिने भएको छ ।

बैठकमा नगर उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, शिक्षा शाखा प्रमुख उपसचिव शालिग्राम काफ्ले, करुणा फाउण्डेशनका प्रतिनिधि सगुन गुरुङ सहितले कार्यक्रमको प्रभावकारिताका बारेमा बोल्नु भयो ।

१ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालय, करुण फाउण्डेशन् र नगरपालिकाको सहकार्यमा अपाङगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम सञ्चालन अघि बढेको छ ।

पथरी शनिश्चरे नगर क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरुका लागि ०६९ पुस मसान्तसम्म सञ्चालन हुने ३ वर्षे कार्यक्रममा कुल लागत २ करोड ९५ लाख ३३ हजार रुपैयाँको रहेको छ । जसमा, पथरी शनिश्चरे नगरपालिकाले ७२ लाख २६ हजार ५ सय ८, प्रदेश सरकारको ७२ लाख २६ हजार ५ सय ८ र करुणा फाउण्डेशनको ६५ लाख २ सय ८३ रुपैयाँ रहने सम्झौता भएको छ ।

सम्बन्धित खवर