प्रदेश नं १ खोप अभियानः मन्त्री कार्कीबाट उद्घाटन

प्रदेश नं १ खोप अभियानः मन्त्री कार्कीबाट उद्घाटन

प्रदेश नं १ का सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यको शुरुआत गर्नुभएको । कोशी अस्पताल विराटनगका मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दास र वरिष्ठ फिजिसियन चिकित्सक डा दीपक सिग्देललाई खोप लगाएर शुरुवात गरिएको छ ।

प्रदेशका आठ जिल्लाका आज १९ वटा खोप केन्द्रमा खोप लगाइने प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार आज झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, उदयपुर, इलाम र तेह्रथुमका २८ हजार ५०६ जनालाई खोप लगाउने लक्ष्य रहेको छ । मोरङमा पाँच, सुनसरीमा चार, झापा र इलाममा तीन÷तीन र अन्य जिल्लामा एक/एक वटा केन्द्र निर्धारण गरिएको जानकारी दिनुभयो । खोप लगाउनका लागि स्वास्थ्यकर्मीलाई तालीम दिई सकिएकाले आठ जिल्लाका १९ वटै केन्द्रमा कार्यक्रम शुरु भएको छ । बिहीबार चार र शुक्रबार दुई जिल्लामा खोप कार्यक्रम शुरु हुने बस्नेतले बताउनुभयो ।

मन्त्री कार्कीले खोप कार्यक्रमको उद्घाटन गर्दै जनताको स्वास्थ्य सुरक्षाप्रति सरकार सचेत रहेको छ भन्दै आगामी केही दिनभित्र थप जनताका लागि खोप उपलब्ध गराउने विश्वास दिलाउनुभयो । उहाँले प्रदेश सरकारले कोभिड नियन्त्रणमा गरेका कार्य अनुकरणीय रहेकामा अन्य प्रदेशले अनुशरण गरेको स्मरण गर्नुभयो । उहाँले कोरोनाबाट प्रदेशमा अत्यन्त कम मानवीय क्षति कम गर्नका लागि यस क्षेत्रका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीको योगदानको प्रशंसा गर्नुभयो ।

मन्त्री कार्कीले कोभिडविरुद्ध विजयी प्राप्त गर्ने कामको शुरुवात भएको चर्चा गर्दै जनताको स्वास्थ्य समाधानका लागि तीनै तहको सरकार सक्षम रहेको बताउनुभयो । कोभिड विरुद्धको खोप लगाइसकेपछि कोशी अस्पतालका वरिष्ठ फिजिसिजन डा दीपक सिग्देलले खोप सुरक्षित रहेकाले डराउनु नपर्ने बताउनुभयो । उहाँले कोभिसिल्ड ७० प्रतिशत प्रभावकारी रहेको बताउनुभयो । पहिलो खोप लगाएको २८ दिनपछि दोस्रो खोप लगाए पाँच महिनासम्म सुरक्षित रहन सकिने उहाँले जानकारी दिनुभयो । प्रदेश १ मा पहिलो चरणमा सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, सरफाइकर्मीसहित ३५ हजार ५७६ लाई खोप लगाइँदैछ ।

सम्बन्धित खवर