लेटाङका युवाहरुको काठमाडौंमा वाहवाही

लेटाङका युवाहरुको काठमाडौंमा वाहवाही

सीप भए स्वदेशमै मनग्य आम्दानी र चर्चा कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् उत्तरी मोरङको लेटाङ घर भएका केही युवाहरु ।

त्यसो त नेपाल भिन्न क्षमता भएका मानिसको एकीकृत घर पनि मानिन्छ । सीप भएका मानिसले लगावका साथ काम गरे चर्चासँगै मनग्य आम्दानी गर्न सकिने नजिर धेरैले बसाइसकेका छन् । यस्तै गत वैशाख १५ गते राजधानी काठमाडौं छिरेका तीन युवा आफ्नै कला र लगनशीलताले अहिले वाहवाही बटुल्नुका साथै आम्दानी पनि गर्न सफल भएका छन् ।

काठमाडौं पुतलीसडकको तारे होटलको भित्तामा बनाएको आर्कषक तस्वीरले ती युवाहरुको परिचय नै फेरिदिएको छ । लेटाङ स्थायी घर भएका तीन युवा मनिष चेम्जोङ, उज्ज्वल सूर्य मगर र जोन राईले कलात्मक ढंगमा गौतम बुद्धको तस्वीर जस्ताको तस्तै भित्तामा उतारेसँगै उपत्यकामा उनीहरुले वाहवाही बटुलेका हुन् ।

केही समयअघिसम्म नामले मात्र बोलाउनेहरुले हिजोआज आर्टिष्ट थपेर बोलाउन थालेको द आर्टिसियन ग्रुपका सदस्य उज्ज्वल सूर्य मगर बताउँछन् । सामाजिक सञ्जालमा आफूहरुले बनाएको चित्र मन पराएर काठमाडौंबाट फोन आएसँगै राजधानीमा आएर गौतम बुद्धको तस्वीर उतारेको ग्रुपका अर्का सदस्य जोन राई बताउँछन् ।

तस्वीर उतार्ने क्रममा सडकमा यात्रा गर्ने प्रायः सबैले प्रशंसा गरेको र गाडी रोकेरसमेत मोबाइलमा तस्वीर कैद भएको क्षण रमाइलो लागेको ग्रुपका संयोजक मनिष चेम्जोङ सम्झन्छन् । द आर्टिसियन ग्रुपलाई थप मलजल गर्ने, प्रतिभाको खोजी गरी समाजमा रोजगार सिर्जना गर्ने र चित्रकलाको माध्यमबाट लेटाङको नामलाई संसारभर चिनाउने लक्ष्य चेम्जोङको रहेको छ ।

थप चित्र बनाउने प्रस्ताव निकै आएपनि मुलुकको मौलिक कला, संस्कृति, रीतिरिवाज झल्कने र नेपाली भनेर गर्व गर्न लायक प्रस्तावलाई मात्र प्राथमिकता दिने चेम्जोङ बताउँछन् ।

 

सम्बन्धित खवर