काठमाडौं : संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दामाथी बहस जारी रहेका बेला न्यायाधीशका प्रश्नको जवाफ दिन नसकेर वकिलहरु हायलकायल भएका छन् । संविधानविद् भिमार्जुन आचार्यदेखी अधिवक्तासम्मलाई इजलासमा रहेका न्यायाधीशले प्रश्नको वर्षा गरेका छन् । कतिपय अधिवक्ता त प्रश्नको उत्तर दिन नसकेर रातोपिरो भएर फर्किएको देखिन्छ ।
मंगलबारको बहसमा पनि न्यायाधीशका प्रश्नहरु अधिवक्तामाथी जारी छ । अधिवक्ता हर्कबहादुर रावलले बहुमतको प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने व्यवस्था संविधानका नरहेको तर्क पेश गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रश्न गर्नुभएको छ, ‘बहुमतको सरकारले विश्वासको मत लिन कहाँ जाने ?’ त्यसको जवाफमा रावलले भन्नुभयो, ‘संसद्मा जाने नि ?’
प्रधानन्यायाधीश जबराले रावललाई फेरी प्रश्न सोध्नुभयो, ‘संविधानको धारा ७६ (१) अनुसारको सरकार छ, विश्वासको मत किन जरुरी पर्यो ?’ उपधारा १ मा प्रतिनिधिसभामा बहुमत दलको नेता प्रधानमन्त्री हुने व्यवस्था रहेको छ । सोही कुरा प्रधानन्यायाधीशले उठाएपछि अधिवक्ता अकमकाए । त्यसपछि प्रधानन्यायाधीश राणाले फेरी प्रश्न सोध्नुभयो, ‘मानौं संसदमा गयो । अल्पमतमा भएको भए पो विश्वासको मत लिने । बहुमतको प्रधानमन्त्रीले के गर्ने ?’
‘संसदमा गइसकेपछि (यदि) प्रधानमन्त्रीले विश्वासको मत आह्वान गरे तर संसदले विश्वास दिएन, अहिले नेकपा बहुमतप्राप्त, उहाँ (ओली) त्यसको संसदीय दलको नेता प्रधानमन्त्री भएकाले अर्को विकल्प छैन’, प्रधानन्यायाधीश राणाले सोधे, ‘फेरि पनि त्यो अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत पाउनुभएन भने विघटन गर्नुहोला, त्यसो गरे के हुन्छ ? कसरी हल दिने हामीले ?’
सवालजवाफकै क्रममा प्रधानन्यायाधीश राणाले अधिवक्ता रावललाई नेकपाले (यदि) सरकार नचलाउने निर्णय गर्यो, प्रधानमन्त्रीले चलाउँदिन भन्नुभयो भने के विकल्प दिने हामीले, बहुमत त नेकपा छँदै छ, त्योबाहेक सरकार गठन सम्भव छैन भनी जिज्ञासा राख्नु भएको थियो । अधिवक्ता रावलले प्रधानमन्त्री पद छाडेर जान र संसदीय दलमा अर्को नेता छान्न सहयोग गर्नुपर्ने बताउनु भयो ।
त्यसमा इजलासबाट अर्को न्यायाधीशले प्रश्न गरे, ‘संसद्मा गयो, विश्वासको मत पाएन, संसदीय दलमा गयो विश्वासको मत आयो भने त्यो अवस्थामा के गर्ने ? त्यसमा अधिवक्ता फेरी गोलमटोल जवाफ दिए । त्यसपछि प्रधानन्यायाधीश राणाले भन्नुभयो, उसो भए समस्याको हल के छ ? संविधानले के दिन्छ ? त्यसमा फोकस गर्नुस् । बहस जारी रहेको छ । आज यो समाचार तयार पार्दासम्म तीन जना अधिवक्ताले बहस सकाएका छन् भने चौथो अधिवक्ताले बहस गरिरहनु भएको छ ।