लेटाङमा गरिबसंग मेयर कार्यक्रम सुरु, ५ सय बढि परिवारलाई सहयोग गरिने

लेटाङमा गरिबसंग मेयर कार्यक्रम सुरु, ५ सय बढि परिवारलाई सहयोग गरिने

पथरी, मोरङको लेटाङ नगरपालिकामा गरिबसंग मेयर कार्यक्रम सुरु भएको छ ।

शुक्रबार गरिएको एक कार्यक्रमका बिच नगर प्रमुख शङ्कर राईले ५ सय बढि परिवारलाई कार्यक्रम मार्फत प्रत्यक्षरुपमा सहयोग गरिने बताउनुभयो । नगर प्राङ्गणमा कम्बल बितरण गर्दै राईले कार्यक्रम औपाचरिक रुपमा सुरुभएको बताउनुभयो । गरिबसंग मेयर कार्यक्रमले बिपन्न परिवारका लागि पहिलो चरणमा कम्बल वितरण गर्ने र त्यसपछि आवश्यकता अनुसार सिपमूलक तालिमहरुको आयोजना गरेर स्वरोजगार बनाउने राईले बताउनुभयो ।

पहिलो चरणको कार्यक्रम अन्तर्गत वडा नं. ४ का ४० घर विपन्न परिवारलाई कम्बल बितरण गरिएको राईले बताउनुभयो । चालु वर्षको नीति तथा कार्यक्रम मै विपन्नसँग मेयर कार्यक्रम राखिएको र त्यसका लागि १५ लाख रुपियाँ विनियोजन भएको राईले बताउनु भयो ।

नगरले एक्लै केही गर्न सक्दैन, त्यसैले स्थानीय सामूदायिक वनको सहकार्यमा अति विपन्न परिवारलाई सुत्ने खाट, न्यानो लुगा र सुत्केरी आमालाई पोषणयुक्त खानाको समेत व्यवस्था गर्ने नगर प्रमुख राईको भनाई थियो ।

हरेक दिन जसो उपचारका लागि सहयोग माग्न आउनेका सङ्ख्या बढीरहेको बताउँदै उहाँले अति विपन्न परिवारलाई वडा कार्यालयको सिफारिसमा स्वास्थ्य बीमाका लागि सहयोग गर्ने समेत उल्लेख गर्नुभयो । नगरको मुख्य बजार क्षेत्रमा दैनिक ज्यालादारी गरेर कमाएको पैसाले दुई छाक खान मात्र पु¥याउने परिवारलाई नगरले विपन्नसंग मेयर कार्यक्रम मार्फत सेवा प्रदान गरेको हो ।

नगरले यसै वर्ष देखि १२ वर्ष भन्दा अघि देखि श्रीमान बेपत्ता भएर पनि एकल महिलाको पहिचान बनाउन नसकेका आमाहरूलाई स्वरोजगार बनाउने कार्यक्रम सुरु गरेको छ । ति आमाहरूको माग र गर्न सक्ने कामको मूल्याङ्कन गरी उनीहरूलाई स्वरोजगार बनाइने नगर प्रमुख शङ्कर राईले बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अच्युतप्रसाद दाहाल, वडाध्यक्ष सन्तोष कार्की लगाएतले सम्बोधन गर्नुभयो । वक्ताहरुले नगरको सिमित श्रोत र साधनका बिचपनि विपन्न परिवारलाई प्रत्यक्ष लाभहुने कार्यक्रमहरु गरिने बताउनुभयो ।

सम्बन्धित खवर