वित्तीय साक्षरतामा जोड ः मेयर फागो

वित्तीय साक्षरतामा जोड ः मेयर फागो

तीलक नेपाली, उर्लाबारी

उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले बैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारका सदस्यहरुले अब वित्तीय रुपमा साक्षरतामा जोड दिनुपर्ने बताएका छन् ।

उर्लाबारी नगरपालिका वडा नं. ८ को अठियाबारी टोलमा आईतबार आयोजित वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षाको उद्घाटन गर्दै फागोले सो कुरा बताएका हुन् । टोलको बाल केन्द्रको हलमा भएको औपचारिक कार्यक्रममा फागोले बित्तीय साक्षरता कक्षाको उद्घाटन गरेका छन् ।

सो अवसरमा फागोले बिदेशबाट आएको रेमिट्यान्सलाई सही ठाउँमा सदुपयोग गरी आर्थिक आयआर्जनमा लगाउन सकिने बताएका छन् । फागोले कुनैपनि नेपाली बैदेशिक रोजगारीमा जाँदा वेपत्ता, मृत्यु वा अंगभंग भएमा उद्दारका लागि सामी परियोजनाले काम गर्ने भएकाले आफूलाई परेको समस्याको सही सूचना सम्बन्धित निकायलाई उपलब्ध गराउन अनुरोध गरेका छन् । कुनै पनि नेपाली दाजु भाईले दुःख नपाउन् भनी यो सामी परियोजना उर्लाबारी नगरपालिकामा पनि लागु गरिएको उनको भनाई छ ।

बैदेशिक रोजगारमा जाँदा मेनपावरले ठगी गरेमा, भने जस्तो काम नपाएमा, सेवा सुबिधा नपाएमा वा बैदेशिक रोजगार सम्बन्धी जुनसुकै समस्या आएमा उर्लाबारी ईलाका प्रशासन कार्यलय मंगलबारेमा सूचना वा उजुरी दिन सबैलाई अनुरोध गरेका छन् । उनले बैदेशिक रोजगारमा जानेलाई सीप प्रदान गर्ने र गएर आएकालाई आफ्नो सीप र क्षमतालाई स्थानीय स्तरमा रोजगारीका लागि अवसरहरु सिर्जना गर्ने योजना रहेको बताएका छन् ।

सुरक्षित आप्रबासन परियोजना (सामी) कार्यक्रम अन्तरगत उर्लाबारी नगरपालिकाले बैदेशिक रोजगारमा बढी गएका वडाहरु मध्ये १, २, ८ र ९ मा पहिलोमा वडा नं. २ बाट सो कक्षाको शुरु गरिएको स्थनीय स्वयंसेवक गोपाल निरौलाले बताए । विशेष गरेर बिदेशबाट आएको रेमिट्यान्सलाई कसरी सदुपयोग गर्ने र कसरी बचत गर्ने, ऋण कसरी लिने, बीमा किन गर्ने, कस्तो क्षेत्रमा लगानी गर्ने, आम्दानी कसरी बढाउने, खर्च कसरी कम गर्ने ? भन्ने लगायतका बिषयमा छलफल हुने सामी परियोजनका मनोसामाजिक परामर्शकर्ता कल्पना बरालले बताएकी छन् ।

वित्तीय साक्षरता कक्षा लिने ३० जना सहभागी रहेको उक्त कार्यक्रमको कार्यपालिका सदस्य चन्द्रा डाँगीको अध्यक्षतामा समपन्न भएको थियो । कायैक्रममा वडा सदस्य जानुका बराईली महिला स्वयंसेविका नेचिमाया धिमाल, रिट्रनी स्वयंसेवक बेदराज गिरी, फुलमाया श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर