पथरी, मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले वडा नम्वर ४ को किर्तिपुर संगत चोककी असहाय तथा आर्थिक विपन्न कल्पना थापाको घर निर्माण अभियानको आज शिलान्यास गर्दै समस्यामा परेकाहरुको सहयोगमा नगरपालिका कार्यालय पनि संगसंगै रहेको बताउनु भएको छ ।
शिलान्यास कार्यक्रममा बोल्दै उहाँले स्थानीय युवाहरुको सक्रियतामा थालिएको ‘कल्पना थापा गृह निर्माण अभियान’मा देश विदेशबाट प्राप्त सहयोगप्रति खुसी व्यक्त गर्दै नगर र वडाले पनि यस प्रकारको अभियानमा सधैं सहयोग पुर्याउने जनाउनु भएको छ । आफ्नो व्यक्तिगत तबरको अगुवाई र स्थानीय युवाहरुको सक्रियतामा वडा नम्वर ८ स्थित शुक्रबारेमा आर्थिक विपन्न तथा अपाङ्गता भएकी तुम्बादेवी राईको घर निर्माण सम्पन्न भएको समेत उहाँले जानकारी गराउनु भयो । साथै उहाँले नगरपालिकामार्फत विपन्नहरुको आवास कार्यक्रम पनि अघि बढ्दै गरेको उल्लेख गर्नुभयो ।
नगर प्रमुख वास्तोलाका साथै वडा नम्वर ४ का अध्यक्ष गोविन्दबहादुर भण्डारीले घरको शिलान्यास गर्नुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले वडामा रहेका यसप्रकारका समस्या भएकाहरुको समस्या समाधानमा वडा सधैं तत्पर रहेको बताउनु भयो ।
आर्थिक विपन्नताका कारण परालको छानो भएको घर चुहिएको अवस्था देखेपछि ज्यालामजदुरी गर्ने थापाको घर निर्माणका लागि शिक्षासेवी सन्तोष बस्नेतको संयोजकत्वमा समिति गठन गरी सहयोग जुटाउने क्रम अघि बढेको छ । जसमा, अमेरिकामा रहेका किर्तिपुरका युवाहरुले ३८ हजार २ सय २० सहित अन्य देशमा रोजगारीमा गएका स्थानीयबाट हालसम्म ८८ हजार २ सय ७५ रुपैयाँ संकलन भएको छ । नगरपालिका र वडा कार्यालयबाट ३ बण्डिल जस्तापाता पनि उपलब्ध भएको अभियानका सचिव लोककिरण न्यौपानेले जनाउनु भयो । उहाँले सहयोग जुटाएर थापाको ऐलानी जग्गामा जस्तापाताको छानो भएको तत्काल २ कोठे घर निर्माण गरिने योजना बताउनु भयो ।