पत्रकार महासंघ कास्कीका अध्यक्ष श्रेष्ठ दुर्घटना

पत्रकार महासंघ कास्कीका अध्यक्ष श्रेष्ठ दुर्घटना

पोखरा, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ ठूलो दुर्घटनाबाट बचेका छन् । तिव्र गतिमा आएको पोखरा माईक्रोबसले ठक्कर दिदा दुर्घटनामा परेका उनी ठूलो दुर्घटना हुनबाट भने जोगिएका हुन् ।

भैरव टोलबाट बगर जाँदै गरेको पोखरा माईक्रो बस अन्तर्गतको ग. १ ख ५२८७ नम्बरको बसले श्रेष्ठ चढेको ग. २ च. ६३९६ नम्बरको कारलाई नदीपुर सिंगापुर क्याफे अगाडि ठक्कर दिएको थियो । पोखरा नदीपुर ट्राफिक विटबाट करीब ५० मिटर पश्चिमबाट उत्तरतर्फ मोडिन खोज्दा तिव्र गतिमा गुडिरहेको बसले अनियन्त्रित भई ठक्कर दिएको श्रेष्ठले बताए । म मेरो नया घर जानेबाटोतर्फ के मोडिन खोजेको थिएँ दुई सय मिटर टाढाबाट बस तिव्र गतिमा आईरहेको देखेँ, उनले भने,‘ क्रस गर्न नभ्याईने भएपछि हत्तपत्त बायाँ मोड्न खोजेको मात्र थिएँ बसले त घरको गेटमा अगाडिको भागले हान्यो, पछाडिको भागले भने म बसेकै साईडमा ठक्कर दियो ।’ म ठूलो दुर्घटनाबाट बचेँ, उनले भने,‘ धन्न बाँचियो ।’

तिव्र गतिका कारण बसले ब्रेकसमेत लाउन नसक्दा क्षति भएको उनको भनाई छ । म दुई सय मिटर टाढा छ भनेर क्रस गर्न खोजेको भए त मार्ने रहेछ त्यसले त ।’ चालकको लापर्वाहीका कारण दुर्घटना भएको उनले बताए । श्रेष्ठलाई ठक्कर दिने बसका चालकको लाईसेन्स म्याद गुज्रेको समेत पाईएको छ । उनले गाडी तिव्र गतिमा गुडाएका कारण निन्त्रणमा लिन नसक्दा दुर्घटना भएको पनि स्वीकारेका छन् ।

दुर्घटनाबाट श्रेष्ठ चढेको कारको अगाडीको भागमा क्षति पुगेको छ । श्रेष्ठलाई भने बाहिरी चोटपटक लागेको छैन् तर कान र आँखामा भने सामान्य दुखाई रहेको श्रेष्ठले बताए । गाडीको ठक्करबाट स्थानिय टीकादेवी शेरपुञ्जाको घरको गेट र पर्खाल भत्काएको छ ।

यसैबीच, पोखरा बस सञ्चालक कम्पनी प्रा.लि.ले आगामी दिनमा चालकलाई जिम्मेवार बनाएर लापर्वाहीपूर्ण दुर्घटना हुन नदिनका लागि आवश्यक कार्वाही गर्ने प्रतिबद्धता जनाएपछि मिलापत्र भएको छ । सहमति अनुसार पोखरा बस सञ्चालक कम्पनीले नगर क्षेत्रमा गति न्यून गर्न प्रभावकारी कदम चाल्ने, चालकलाई यात्रुमैत्री व्यवहार गर्न लगाउने तथा कथमकदाचित दुर्घटना भईहाले हिट एण्ड रन जस्तो हर्कत नगरी घाईतेको रेस्क्यू गर्ने, सम्मानजनक व्यवहार गर्ने लगायतका कार्य गर्नुपर्नेछ । त्यस्तै कम्पनीले कारको मर्मतसम्भार र घरको भत्केको गेट र पर्खाल पुर्ननिर्माण गरिदिनेगरी त्रिपक्षीय सहमति भएको वडा प्रहरी कार्यालय बगरले जनाएको छ ।

सहमतिमा पोखरा बस सञ्चालक कम्पनी प्रालिका तर्फबाट पवित्रमणी अधिकारी, कारका धनी दीपेन्द्र श्रेष्ठ, घरधनीका तर्फबाट लक्ष्मण पुन र बस चालक सुमनकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित खवर