फुटबल लिग आयोजना गर्न नगर कार्यपालिकाको निर्णय

फुटबल लिग आयोजना गर्न नगर कार्यपालिकाको निर्णय

पथरी, मोरङको पथरी शनिश्चरे नगर कार्यपालिकाको हिजोको बैठकले नगरमा आयोजना हुन लागेको फुटबल लिगका विषयमा निर्णय गरेको छ । बैठकले स्वास्थ्य सतर्कता सहित लिग सञ्चालन गर्ने निर्णय गरेको हो ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न बैठकले, नगर क्षेत्रका सामुदायिक वनहरुका कार्ययोजना स्वीकृत गर्ने, यही मंसिर २५ देखि नगरमा सञ्चालन हुने नगरस्तरीय लिग फुटबल स्वास्थ्य सतर्कता अपनाएर सञ्चालन गर्ने, नगरले निर्माण गर्ने व्यवसायिक भवनको प्रक्रिया अघि बढाउन सम्बन्धित पक्षसँग पहल गर्ने सहितका निर्णय भएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो ।

यसका साथै बैठकले, नगरको सडक क्षेत्रभित्रमा पसल, टहरा र निर्माण लगायतका सामग्री राखेमा जरिवाना गर्ने गरी राजस्व परामर्श समितिले त्यसको नीति तय गर्ने र सरकारले पछिल्लो पटक तोके बमोजिमको धानको मुल्यमा किनबेचका लागि सूचना प्रकाशन गर्ने पनि निर्णय भएको उहाँले बताउनु भयो ।

नगर प्रमुख राईले हिजो प्रदेश राजधानी विराटनगरमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानको प्रक्रिया थाल्न पथरी शनिश्चरे सहितका पालिकाहरुसँग आयोगले समझदारीपत्रमा हस्ताक्षर गरेको बैठकमा जानकारी गराउनु भयो । उहाँले वर्षाैंदेखिको समस्या समाधानको प्रक्रिया आयोगले चाँडै थालनी गर्ने कुराले नगरपालिका र नगरवासीमा खुसी ल्याउने विश्वास व्यक्त गर्दै सो कार्य सम्पन्न गर्न सवैको सहयोगको आव्हान समेत गर्नुभयो । अघिल्लो बैठकले आयोगको कामका लागि लगत संकलन, प्रमाणिकरण तथा नाप नक्सा गर्ने कार्यमा सहयोग र सहिजकरण गर्न नगर र वडामा समिति निर्माणको प्रक्रिया अघि बढाएको थियो ।

सम्बन्धित खवर