रहेन्न पथरीका धरोहर तिलक राई

रहेन्न पथरीका धरोहर तिलक राई

पथरी, पथरी बजार व्यवस्थापन गर्ने देखि समाजसेवा सम्मका कामका जोडिएको नाम हो तिलक वान्तावा राई । मोरङको पथरी शनिश्चरे नगरपालिका १ निवासी ६६ वर्षीय राईको कोरोना संक्रमणका कारण आज बिहान निधन भएको नगरका स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी दिनुभयो ।

राई प्रजातन्त्र पूनःबहाली पछिको पहिलो स्थानीय निकाय साविक पथरी गाविसका अध्यक्ष समेत हुन् । वि.सं. २०४९–०५४ का गाविस अध्यक्ष राई तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका थिए । गाविस अध्यक्ष हुँदा ताकादेखि नै अस्थव्यस्थ रहेको पथरी बजारलाई व्यवस्थित बनाउने काममा मुख्य भूमिका राईले नै खेलेका थिए ।

राई पथरीमा स्थापित मनकामना साकोसका संस्थापक अध्यक्ष समेत हुन् । विभिन्न सामाजिक काममा सक्रिय रहेका राईको पछिल्लो समय कोरोना भाइरस संक्रमणपछि बिराट मेडिकल कलेज बिराटनगरमा उपचार भइरहेको थियो । उपचरकै क्रममा राईको निधनपछि पथरीले एकजना असल अभिभावक गुमाएको छ ।

समाजिक अगुवा हो तिलक ः मेयर राई

तिलक राई पथरीको सामाजिक अगुवा रहेको नगर प्रमुख दिलिप कुमार राईले बताउनुभयो । नेकपाका नेता समेत रहेका तिलक राई पथरीको दह्रो खम्बा थिए । आफ्नो बिचारमा जहिले अडिग रहने अगुवा राईलाई पथरीबासीले सधैं सम्झिरहने मेयर राईले बताउनुभयो ।

पथरीको विकासको पर्याय भनेकै तिलक ः उपमेयर विष्ट

पथरीको विकासको पर्याय भनेको नै तिलक राई रहेको नगर उप–प्रमुख यमुना विष्टले बताउनुभयो । पथरीको विकास निर्माण, स्वास्थ्य, शिक्षा लगायत अन्य व्यावसायिक संघसंस्थाहरुमा समेत नेतृत्व राख्ने राईलाई कुनैपनि शब्दले बयान गर्दा अपुग हुने विष्टले बताउनुभयो । पथरीको विकास र तिलकलाई पथरीबासीले सधैं सम्झने विष्टको भनाइ छ ।

समाजका लागि एउटा आस्था, निष्ठा र भरोसाको सतिसाल हो तिलक ः युवराज बास्कोटा

तिलक राई यो समाजका लागि एउटा आस्था, निष्ठा र भरोसाको सतिसाल रहेको नेकपा प्रदेश १ सदस्य युवराज बास्कोटाले बताउनुभयो । राजनीतिक रूपमा सचेत हामी पहिलोपुस्ताका लागि प्रेरणापात्र, जीवनभर इमान र निष्ठासाथ उभिने,सामाजिक मर्यादामा रहँदा होस् वा राजकीय जिम्मेवारीमा रहँदा होस् कहिल्यै रमझम, सेवा र चाकरीमा नलाग्ने बरु वर्ग मुक्तीका लागि लडिरहने एउटा नाम हो तिलक बान्तावा राई ।

पथरीको सहकारी अभियान्ता राई ः युवराज भट्टराई

पथरीको सहकारीका लागि दह्रो खम्बा नै तिलक राई रहेको मनकामना साकोसका अध्यक्ष युवराज भट्टराईले बताउनुभयो । पथरीको पहिलो सहकारी मनकामना साकोसका संस्थापक अध्यक्ष रहेका राईले सहकारी अभियानमा पु¥याएको योगदान कहिले भुल्न नसकिने भट्टराईले बताउनुभयो । शिष्ट, शभ्य, अडिग, निडर, आफ्नो अडानमा कहिले नझुक्ने राईलाई पथरीको सहकारी अभियानमा विर्सनै नसकिने योगदान छ ।

यतिमात्रै नभएर पथरीको सिनभिलेज पार्टिप्यालेस लगायतका थुप्रै व्यावसायिक कम्पनीहरुका संस्थापक रहेका राईका २ छोरा र ४ छोरी रहेका छ्न् । विर्सनै नसकिने राईका योगदानलाई कदर गर्दै मृतक राईप्रति भावपूर्ण श्रदाञ्जली ।

सम्बन्धित खवर