विराटनगर : कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि सीमा नाकाबाट आवतजावतमा रोक लगाइएको बेला लुकिछिपी नेपाल प्रवेश गरेका १५ जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल बिओपी रानीले विराटनगर –१७ इश्लामपुरस्थित सीमा नाकाबाट लुकीछिपी नेपाल छिरेका भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।
अहिले नेपालबाट भारत र भारतबाट नेपाल आवतजावतको लागि सरकारले प्रदेश १ को मोरङको जोगवनी, सुनसरीको भान्टावरी, झापाको काँकडभिट्टा र इलामको पशुपती नगरको नाका तोकिएको छ । सो नाकाबाहेक अन्यत्रबाट नेपाल प्रवेश गर्नेलाई सुरक्षामा खटिएको प्रहरीले नियन्त्रणमा लिने गरेको छ ।
चोर बाटो हुँदै नेपाल प्रवेश गरेको १५ जना भारतीय नागरिकहरूलाई सशस्त्र प्रहरी बल बिओपी रानी विराटनगरले नियन्त्रणमा लिएर भारतीय प्रहरीलाई बुझाएको जनाएको छ ।