कृषि परियोजनाका लागि जग्गा व्यवस्थापन गरिदै

कृषि परियोजनाका लागि जग्गा व्यवस्थापन गरिदै

पथरी, मोरङको पथरी शनिश्चरे स्थित भूटानी शरणार्थी प्रभावित क्षेत्रका लागि सञ्चालन गर्ने कृषि तथा पशुपालन परियोजनाका लागि आवश्यक जग्गा व्यवस्थापनका विषयमा आज छलफल भएको छ ।

शरणार्थी सम्वन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर) को सहयोगमा लुथरन विश्व फेडेरेशनले सञ्चालन गर्ने परियोजनाका लागि आवश्यक जग्गा व्यवस्थापनका विषयमा इच्छुक जग्गादातासँग छलफल गरिएको हो । १० नम्वर वडा कार्यालयको संयोजनमा नगरको कृषि शाखामार्फत लुथरन विश्व फेडेरेशन दमकका प्रतिनिधि र इच्छुक जग्गाधनीहरुबीच छलफल भएको कार्यवाहक वडाध्यक्ष मैनादेवी फूयाँल आचार्यले जनाउनु भयो ।

छलफलका क्रममा वडा नम्वर १० मा २ ठाउँको गरी १० विगाहा र वडा नम्वर ४ र ९ अन्तर्गत भागिरथ माद्यामिक विद्यालयको ३ विगाहा जग्गाका सम्वन्धमा छलफल भएको छ । जग्गाको भाडा निर्धारण तथा समूह निर्माण लगाएका विषयमा अर्काे बैठकमा पुनः छलफल हुने छ ।

पथरी शनिश्चरे १० मा रहेका शरणार्थी र विशेष गरी सो वडा र आसपासका आर्थिक विपन्न स्थानीय समुदायको जीवनस्तर सुधार गर्न ‘भूटानी शरणार्थी र स्थानीय समुदायका लागि कृषि तथा पशुपालन परियोजना’ तय भएको छ । परियोजना सञ्चालनका लागि युएनएचसीआर, लुथरन, पथरी शनिश्चरे नगरपालिकाबीच सम्झौता भइसकेको छ ।

कृषक समूह निर्माण गरी खेतीका लागि आवश्यक औजार, बाख्रा, बंगुर र कुखुरा खरिद तथा तिनीहरुका लागि खोर तयार गर्ने तथा जग्गाको पहिलो वर्षको ठेक्का रकम व्यवस्थापनमा लुथरनमार्फत युएनएचसीआरले सघाउने भएको हो । जसमा शरणार्थी र स्थानीयको बराबरी सहभागितामा बढीमा १ सय परिवार आवद्ध बनाई समूह निर्माण गरेर परियोजना अघि बढाइने छ ।

सन् २०२० को अन्त्यसम्ममा परियोजना सुरु गर्नेगरी युएनएचसीआरले १ करोड ३८ लाख ९६ हजार रुपैयाँ बजेट छुट्याएको जानकारी गराइएको छ ।

सम्बन्धित खवर