सिन्धुपाल्चोकमा गएराति गएको पहिरोले १८ घर पुरेको छ। जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको ना’गपुजेमा गएराति खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको सभामुख अग्निप्रसाद सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले बताए। स्थानीय शिक्षक बजीर भण्डारीको भनाइ उद्धृत गर्दै न्यौपानेले भने, ‘नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन्। भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानीयको भनाइ छ।
प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले क्षतिको एकिन विवरण आइनसकेको बताए । ‘नागपुजेमा बढी क्षति पुगेको जानकारी आएको छ । तर कति भन्ने थाहा छैन,’ प्रमुख जिल्ला अधिकारी ढकालले भने । उनले घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पठाइएको जानकारी दिए । बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले भने कम्तिमा १२ जना मानिस बेपत्ता भएको बताए । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार सिन्धुपाल्चोकका गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा ६ घण्टायता ठूलो वर्षा भएको थियो ।
बलेफी र जलविरेमा जलसतह सतर्कता तहसम्म पुगेको र यो बढ्दो क्रममा रहेको केन्द्रले जनाएको छ । साथै भोटेकोशी, इन्द्रावती, मेलम्ची र सिन्धुपाल्चोकका अन्य साना नदीमा आकस्मिक बहाव हुन सक्ने र पहिरो जान सक्ने भएकाले आज बिहान १० बजेसम्म सतर्क रहन केन्द्रले आग्रह गरेको छ । ईसिधाकुराबाट