फुड बैंक मार्फत हजारौँ परीवार लाभान्वित, ८८ पिन्ट रगत समेत संकलन

फुड बैंक मार्फत हजारौँ परीवार लाभान्वित, ८८ पिन्ट रगत समेत संकलन

पथरी, मोरङ्गको पथरी शनिश्चरेमा संचालन भएको फुड बैंकले १६ औँ दिनसम्म सेवा प्रदान गर्दै आज एक औपचारिक कार्यक्रमका बिच कार्यक्रमको समापन गरेको छ। भाद्र १२ गते नगरको १० नम्बर वडाबाट सेवा शुरु गरेको फुड बैंकमार्फत १६ दिनसम्म आईपुग्दा करिब ४ हजार स्थानिय लाभान्वित भएका छ्न्। आज अभियानको अन्तिम दिन मात्र ६ सय ५ परिवारले राहत लगेका छन्।

कोरोना भाईरसको संक्रमणको जोखिम न्यूनीकरणका लागि देशमा लामो समय लक डाउन हुदाँ निकै कष्टकर दैनिकी बिताउन बाध्य ज्यालादारी मजदुर,आर्थिक रुपले अति विपन्न परिवारको लागि निकै ठूलो राहतको रुपमा रहेको फुड बैंकले ती परिवारका लागि चामल,दाल, तेल, नुन, सोयाविन लगायतका खाद्यबस्तु वितरण गरेको हो।

निस्वार्थ समाजसेवाको भावना सहित नगरमा स्थापित विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा कार्यक्रम सफल बनेको कार्यक्रमका संयोजक प्रदिप कुमार राईले बताउनु भयो। कुनै व्यक्ती विषेशको पहलमा मात्र सम्भव नभएको सो कार्यक्रममा विभिन्न संघसंस्था, सामाजिक व्यक्ती लगायतको सहयोग अनि सहकार्यका लागि संयोजक राईले आभार व्यक्त गर्दै आगामी दिनहरुमा समेत सामाजिक कार्यमा समय खर्चिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

गरिमा अनलाइन टेलिभिजन, हाम्रो फाउण्डेशन, भूटानी शिविर व्यवस्थापन समिति, प्रतिभा समाज सुधार युवा क्लब, टिचर क्लब पथरीशनिश्चरे लगायतका संघसंस्थाहरुको व्यवस्थापनमा ‘फुड बैंक’ स्थापना गरिएको थियो ।

फुड बैंकले खाद्यान्न सहयोग प्रदान गर्नका लागि वडा नम्वर १० स्थित वडा कार्यालय अगाडि बैंकका रुपमा खाद्यान्न सामग्री राख्ने ठाउँ ९स्टल०नै निर्माण गरेको थियो भने घुम्ती सेवाको रुपमा नगरको विभिन्न वडामा पुगेर घरदैलोमै राहत वितरण समेत गरेको छ ।

अभियानमा ‘हामी छौं त केवल एक अर्काका लागि छौं’, ‘सकिन्छ मुठी खोलौं, सकिदैन लिएर जाउँ’ भन्ने नाराका साथ स्वतस्फूर्त युवाहरु जुटेका हुन् । उक्त अभियानका लागि विभिन्न पक्षबाट सहयोग जुटेको अभियानका आर्थिक संयोजक सुमन कुरुङवाङले बताउनु भयो । देश, विदेशबाट पर्याप्त मात्रामा सहयोग आएकोले नै अभियान सफल भएको उल्लेख गर्दै कुरुङ्वाङले सम्पुर्ण सहयोगी मनहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । कार्यक्रम हाललाई समापन गरिएको भएता पनि आगामी दिनहरुमा आवश्यक महसुस भएमा र सहयोगी मनहरुको साथ रहेमा फेरि यस्ता कार्यक्रम संचालन गरिने कुरुङवाङको भनाई छ।

नगरमा संचालन भएको अभियानमा साथ दिन प्रदेश सांसद कृष्ण कुमारी राई, नगर प्रमुख दिलिप कुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला लगायतको उपस्थिति समेत रहेको थियो। अभियानलाई संबोधन गर्ने क्रममा सम्पुर्ण अतिथी बक्ताहरुले अभियानको खुलेर प्रशंसा समेत गर्नु भएको छ ।

लक डाउनले मारमा रहेका नगरवासीहरुको सहयोगका लागि संचालन भएको अभियानमा संकलन भएको सहयोग र वितरण गरिएको सहयोग समेत लाई एक कार्यक्रमका विच सार्वजनिक गरिने अभियानमा संलग्न प्रतिभा समाज सुधार युवा क्लबका अध्यक्ष भुवन थापाले जानकारी दिनु भयो।

फुड बैंकमा रक्तदान

पथरी शनिश्चरे १० मा संचालित फुड बैंकले लक डाउनका कारण समस्यामा परेका स्थानियलाई खानाको व्यवस्थापन गरिरहदाँ अस्पतालमा रगत अभावलाई टार्न रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ।

शुक्रवार १० नम्बर वडा कार्यालयको परिसरमा आयोजित रक्तदान कार्यक्रममा ८८ पिन्ट रगत संकलन भएको छ। विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा संचालन भैरहेको फुड बैंक अभियानमै उर्लाबारी रेड्क्रसको प्राबिधिक सहयोगमा ८८ पिन्ट रगत संकलन गरिएको सामाजिक अभियान्ता सुमन कुरुङ्वाङले बताए।

विभिन्न संघसंस्थहरुको संयुक्त आयोजनामा संचालन भैरहेको फुड बैंकमार्फत नगरका सबै वडाका दैनिक ज्यालामजदुरी गर्ने दुखी, असहायहरुलाई खाद्यान्न सहयोग गर्दै आएको छ।

 

सम्बन्धित खवर