पोखरासहित देशभर सार्वजनिक सवारीसाधन चलाउँछौँ, पृथ्वी राजमार्ग बस कम्पनी

पोखरासहित देशभर सार्वजनिक सवारीसाधन चलाउँछौँ, पृथ्वी राजमार्ग बस कम्पनी

पोखरा, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि. ले असोज १ गतदेखि पोखरा लगायत देशैभर सवारीसाधन सञ्चालनमा ल्याउने बताएको छ ।

कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले असोज १ गते विश्वकर्मा पूजाको दिन पारेर कम्पनी मातहतका सार्वजनिक यातायात सञ्चालन गर्ने बताउनुभयो । आफुँहरूले सवारी सञ्चालन बारेमा सरकारलाई जानकारी गराउने बताउँदै अध्यक्ष केसीले सञ्चालनको लागि अनुमति नदिए पनि उक्त दिनबाट सार्वजनिक सवारीसाधन सञ्चालनमा ल्याएरै छाड्ने दाबी गर्नुभयो।

“हामीहरूले नेपाल सरकारले जारी गरेको कोभिड १९ सार्वजनिक यातायात सञ्चालन कार्यविधि निर्देशिका भित्र रहेर उच्च सुरक्षा र सावधानी अपनाउँदै प्रति २ सिटमा १ जना राखेर १ गतेबाट पूर्व मेची देखि पश्चिम महाकालीसम्म सवारीसाधन सञ्चालन गर्छौ, उहाँले भन्नुभयो “ सरकारले नदिए पनि भद्र अवज्ञासहित सवारी सञ्चालन गर्छौ, गिरफ्तार दिन पर्ने भए पनि ग्रिफ्तार दिन्छौ ।“

झन्डै साढे ५ महिनादेखि यातायात व्यवसायीहरू आफ्ना साधनहरू घरमै थन्क्याएर बस्दा समेत बैङ्क तथा वित्तीय संस्थाको ऋणको बारेमा, दैनिक सवारी चलाएर ज्यान पाल्ने मजदुरको बारेमा र गाडी चलाएर किस्ता तिर्ने तथा घर खर्च चलाउने स्वरोजगार व्यवसायीहरूको बारेमा सरकारले कुनै पनि राहत दिने तथा चासो देखाउने कार्य नगरेकोले रोगबाट भन्दा भोकबाट मर्ने अवस्थाको अन्त्य गर्न सवारी चलाउने निर्णयमा व्यवसायीहरू पुगेको उहाँले बताउनुभयो ।

“नेपालमा करिब ४ लाख यातायात व्यवसायीहरू छन् , ती ४ लाख व्यवसायीले १२ लाख जनालाई प्रत्यक्ष रोजगार दिएका छन् र १२ लाख मजदुरका घर परिवार गरी ४० देखि ४२ लाख मानिस यातायातमा निर्भर छन्”, उहाँले भन्नुभयो “ हामीले उहाँहरूलाई रोगले भन्दा पनि भोकले मर्न नदिनका लागि जुनसुकै हालतमा सवारीसाधन सञ्चालन गर्छौ ।“ निजी सवारीसाधनलाई थुनछेक बिना सुरक्षाका मापदण्ड नअपनाई ५ र७ हजार चर्को भाडा उठाएर यात्रु ओसार्न दिने तर सुरक्षा अपनाएर सार्वजनिक सवारीसाधन सञ्चालन गर्छौ भन्दा नदिएको भन्दै अध्यक्ष केसीले गुनासो समेत व्यक्त गर्नुभयो ।

पोखरा यातायात प्रालिका प्रबन्ध निर्देशक अमृत शर्मा तिमिल्सिनाले आफुँहरु सरकारको निर्णय कुरेर बसेको भए पनि अव धेरै गाह्रो भएको बताउनुभयो । लामो समय सम्म सवारीसाधन सञ्चालन गर्न नपाउँदा यातायातमा आश्रित व्यक्तिहरूलाई दैनिक जीवनयापनमा असहज भएको बताउँदै तिमिल्सिनाले सरकारले निर्बाध रूपमा सवारीसाधन सञ्चालन गर्ने वातावरण तयार गर्नुपर्ने उल्लेख गर्नुभयो । “ हामी सरकारले नै सवारीसाधन सञ्चालन गर्ने वातावरण तयार पारोस् भन्नेमा छौ, केन्द्रमा पनि छलफल भएको भन्ने कुरा आएको छ, उहाँले भन्नुभयो, “अव कुर्न गाह्रो छ, हामी पनि छलफल गर्दैछौँ ।

पोखरा सहित कास्की क्षेत्रमा विभिन्न यातायात कम्पनी मार्फत करिब ८ सय बस तथा माइक्रो बस सञ्चालन हुँदै आएका छन् भने पृथ्वी राजमार्ग बस व्यवसायी कम्पनीले देशभर १४ सय सवारी सञ्चालन गर्दै आएको छ । यस क्षेत्रबाट पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीसँगै पोखरा यातायात प्रा.लि., विन्ध्यवासिनी, बेगनास, स्थानीय श्रृङगा लगायतका बस सञ्चालक कम्पनीले सवारीसाधन सञ्चालन गरिरहेका छन् ।

कास्कीमा पछिल्लो समय जारी भएको खुकुलो निषेधाज्ञाको अवधि भदौ २७ गते राती १२ बजे सकिने र २ दिन अझै समय बाँकी रहेकाले अहिले यातायात सञ्चालन गर्ने नगर्नेबारे कुनै छलफल नभएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताउनुभयो । “लामो समय यातायातका साधन सञ्चालन नहुँदा उहाँहरूलाई कठिनाइ भएको होला, उहाँहरूले माग राख्न पाउनुहुन्छ”, प्रजिअ ढकालले भन्नुभयो “ परिस्थितिको मूल्याङ्कन गरेर अव बस्ने बैठकले के गर्ने के नगर्ने भन्ने बारे निर्णय गर्छ ।“

सम्बन्धित खवर