चिकित्सकको सिफारिसविना औषधी विक्री वितरण गर्ने विराटनगरको एक फार्मेशीमा शिल

चिकित्सकको सिफारिसविना औषधी विक्री वितरण गर्ने विराटनगरको एक फार्मेशीमा शिल

 

विराटनगर : चिकित्सकको सिफारिसविना औषधीको विक्री वितरण गरि कमाउधन्दामा लागेको विराटनगरको एउटा फार्मेशीमा शिल गरिएको छ ।

अनुगमनको क्रममा विराट नर्सिङ होम अगाडि रहेको महेश मेडिकल हलले चिकित्सकको सिफारिसविना औषधी विक्री बितरण गरेको पाइएपछि अनुगमन टोलीले ताला लगाएको हो ।

औषधि व्यवस्था विभागका विराटनगर प्रमुख सञ्जीव कट्टेलका अनुसार डाक्टरबाट सिफारिस नै नभएका औषधि फार्मेसीले बिरामीलाई आफूखुसी बेच्ने गरेको पाइएको छ । फार्मेसीका सञ्चालक कृष्णकुमार यादव हुन् । उनले कुटपिटबाट घाइते भएकी मोरङको जहदा गाउँपालिका –२ की ७० वर्षीया वृद्धा दुर्गादेवी पासवानलाई गलत औषधि दिएको पाइएको छ ।

पासवानलाई गत मंगलबार उपचारका लागि नर्सिङ होममा भर्ना गरिएको थियो । चिकित्सकले सिफारिस गरिदिएपछि बिरामीलाई आवश्यक औषधि यादवले चलाएको महेश मेडिकल हलबाट लैजाने गरेका थिए । ‘चिकित्सकले प्रेसक्रिप्सनमा बिरामीका लागि चारवटा औषधि सिफारिस गरेको पाइयो,’ विभागका प्रमुख कट्टेलले भन्नुभयो, ‘फार्मेसी सञ्चालकले भने अरु दुईवटा थप गरेर ६ वटा औषधि बिरामीलाई बेचेछन् ।’

चिकित्सकबाट सिफारिस नै नभएको कडा खालको एन्टिबायोटिक ‘इन्जेक्सन मेनम’ र ग्याष्ट्रिकका बिरामीले प्रयोग गर्ने ‘इन्जेक्सन पेन्टोसिड’ फार्मेसी सञ्चालक आफूले नै प्रेसक्रिप्सनमा थपेर दिएको पाइएको छ । चिकित्सकले लेखेको चार वटा र पछि थप गरेका दुईवटा औषधिको अक्षर नमिलेको देखिएको छ । बिरामीले खरिद गरेका दुवै औषधिको मूल्य ९ हजारको छ ।

प्रमुख कट्टेलले पसलको सबै कागजात नियन्त्रणमा लिएर छानबिन थालिसकिएको जानकारी दिनुभयो । पसलमा बिक्री अनुमति नै नभएका केही औषधि पनि भेटिएकाले जफत गरिएको छ ।

अनुमतिप्राप्त अधिकारीबाट औषधि बिक्री नगर्ने गरेको पाइएपछि फार्मेसी सञ्चालक यादवलाई दुई महिनाअघि पनि विभागले उपस्थित हुन पत्र काटेको थियो । तर, पसल दर्ताको सक्कली प्रमाणपत्र जफत गरेर विभागले लगेको भएपनि अहिलेसम्म उनी हाजिर भएका थिएनन् । अघिल्लो र अहिलेको दुवै घटनालाई समेटेर दोहोरो कारबाही अघि बढाइने कट्टेलले बताउनुभयो ।

फार्मेसीलाई निलम्बन गरेर अरु कारबाही अघि बढाइने विभागले जनाएको छ । फार्मेसीले अनाधिकृत व्यक्तिबाट चिकित्सकले उल्लेख नै नगरेको औषधि बिरामीलाई दिनु गम्भीर लापरबाही भएको कट्टेलको भनाइ छ । पैसा कमाउन अनाधिकृत व्यक्तिबाट बिरामीलाई गलत औषधि दिने गरेको पाइएपछि अनुसन्धान गम्भीर रुपमा थालिएको विभागले जनाएको छ ।

कोरोना महामारीमा मुस्लिकले अस्पतालमा उपचार पाउने बिरामीलाई सही औषधि नदिएर ज्यान नै जोखिममा पार्नु फार्मेसीको ठूलो बद्मासी हो । चिकित्सकले जतिसुकै राम्रो उपचार गरे पनि औषधि गलत पर्दा बिरामीको मृत्यु हुनसक्ने विभागले जनाएको छ । फार्मेशीलाई औषधि ऐन अनुसार कारवाहीको प्रक्रिया अगाडि बढाउने प्रमुख कट्टेटलले जानकारी दिनुभयो ।

सम्बन्धित खवर