अब ताराखोलामै ट्राउटका भुरा उत्पादन

अब ताराखोलामै ट्राउटका भुरा उत्पादन

पाेखरा : ताराखोलामा दुइ वर्षअघिदेखि सुरु गरिएको रेम्बो ट्राउट माछा फर्ममा भुरा उत्पादन थालिएको छ ।

यसअघि पोखरा र अन्य स्थानमा पुगेर ल्याउनुपर्ने भुरा अब आफ्नै फर्ममा उत्पादन थालिएको हो । हरेक मौसममा ८ लाख रुपैयाँको भुरा खरिद गर्नुपर्ने बाध्यता आफ्नै फर्मले पुरा गरिदिएको संचालक दिवश खत्रीले बताए । माग बढ्दै जाँदा भुराको संख्या पनि बढाउने बाध्यता भुरा उत्पादनले पुरा गर्नेछ ।

ट्राउट फर्ममा तत्कालका लागि ३ लाखसम्म भुरा उत्पादन गर्ने पूर्वाधार बनाइएको छ । पहिलो चरणमा भने थोरै भुरा उत्पादन गरेर गरिएको परीक्षण सफल देखिएको हो । दुई महिनाअघि फर्मले तमानखोला गाउँपालिकामा ३ हजार २ सय भुरा बेचेको थियो । प्रतिभुरा ७ रुपैयाँमा बेच्न सकिने बताइएको छ । आँफैले अन्यत्र गएर किन्दा मूल्यबाहेक ढुवानी जोड्दा महंगो पर्ने, धेरै मर्ने खतरा थियो । आफ्नै फर्ममा उत्पादन गर्दा धेरै बचत हुने उनले बताए ।

१ करोड ३० लाख लगानीमा निर्माण सम्पन्न फर्मले बजारसमेत बढाएको छ । बजारमा १ हजार १ सय रुपैयाँ केजीमा बेच्न सकिने माछा फर्मबाट सस्तो मूल्यमा बेचिएको छ । ४ जना व्यवसायीले थालेको यो अभियानले ७ जनालाई रोजगारी पनि दिएको छ । रोजगारीसँगै गाउँमै आर्थिक विकासमा फर्म उपयोगी बन्दै गएकोले भुरा उत्पादनमा चासो दिइएको अर्का संचालक सुबास राजभण्डारीले बताए ।

सानो संख्यामा पाल्न चाहनेका लागि बिक्री गर्ने र आफ्नो फर्ममा हरेक वर्ष दुइदेखि तीनपटकसम्म खरिद गरेर ल्याउनुपर्ने बाध्यता पनि हटाउने लक्ष राखिएको छ । पोखरा पुगेर किनेर ल्याउँदा धेरै मर्ने, हावापानी समेत फरक फर्ने गरेकोमा आफ्नै फर्मको उत्पादनले सहज बनाउने उनले बताए । ढुवानी गर्ने खर्च बचाउने योजनाले थप कमाइ बढाईदिएको उनको अनुभव छ ।

गण्डकी प्रदेश सभा सदस्य दिपा रोकासहित ४ जनाले थालेको ‘ताराखोला बहुउद्धेश्यीय रेम्बो ट्राउट माछा फर्म’ अहिले धेरैको रोजाइको केन्द्र बनिसकेको छ । घोडाबाँधेस्थित सेनाको व्यारेकबाट त दैनिक माछा अर्डर हुन थालेको छ । ब्रोइलर कुखुराभन्दा माछामा धेरैको चासो बढेकोले सेनाका जवान समय मिलाएर फर्ममै माछा लिन पुग्न थालेका छन् । आफ्नै फर्ममा भुरा उत्पादन भएको सुनेर उनीहरु उत्साही भएको खत्रीले बताए ।

‘यही उत्पादन हुन्छ भनेपछि गुणस्तरमा पनि विश्वास बढेको छ’ उनले भने । आएका पाहुनालाई आँफै माछा छोप्ने व्यवस्थापनि गराएर पर्यटक आर्कषित गर्ने लक्ष पनि राखिएको छ ।
१२ रोपनी जमिनमा बनाइएको फर्ममा झण्डै १५ हजार माछाका भुरा पाल्न सकिने क्षमता छ । ‘गाउ“ तहमै हरेक कृषि फसल उत्पादन गर्ने, पाहुनाले सुविधा सम्पन्न होटल र रेष्टुरेन्टमा खान बस्न पाउने व्यवस्थामा सबैको पहल आवस्यक छ’ राजभण्डारीले भने, ‘अब लगानी गर्न सक्ने हरेकले व्यवसायमार्फत रोजगारी र समृद्धिका बाटा खोज्नुपर्छ ।’ सदरमुकामको व्यवसाय छाडेर गाउ“मा लगानी गरेको उनले बताए ।

ट्राउट माछा भनेपछि टाढादेखि खान आउनेको लर्को लाग्न थालिसकेको छ । यहाँ आवस्यक पर्दा फर्म बढाउन सकिने स्थान छ । पानीको श्रोत पनि प्रसस्त छ । यहाँ माछा फर्मस“गै रेष्टुरेन्ट संचालन गरिएको छ । ताराखोलाको चिसो पानी माछाका लागि उपयुक्त छ । लगानी गर्न सकेमा माछाको बजारका लागि दुःख नहुने अनुभव खत्रीले बटुलिसकेका छन् । सुरुमा उनीहरुले नुवाकोटको ककनी र पोखराबाट भुरा ल्याएका थिए ।

सम्बन्धित खवर