नेकपा, जसपा र कांग्रेस कार्यकर्ता बिच कुटाकुट, दुई प्रहरी सहित दर्जनौँ व्यक्ति घाइते

नेकपा, जसपा र कांग्रेस कार्यकर्ता बिच कुटाकुट, दुई प्रहरी सहित दर्जनौँ व्यक्ति घाइते

राजेन्द्र महतो, लहान

सिरहाको दुई छुट्टाछुट्टै ठाउँमा स्थानीय नेताहरु बिच समान्य विवादमा कुटाकुट भएको छ । दक्षिणवर्ती सिमाना नाका भगवानपुर र बरियारपट्टि गाउँपालिकामा कांग्रेस, नेकपा र जसपाका स्थानीय कार्यकर्ताबीच समान्य विवादमा कुटाकुट भएपछि दुई प्रहरीसहित दर्जनौँ व्यक्ति घाइते भएका हुन् ।

सिरहाको भगवानपुर गाउँ पालिका २ लहरनिया स्थित शनिबार दिउँसो १२ बजेको गर्मी लागेको बेला रुख भएको ठाउँ (छहारी) मा बस्ने विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताबीचको झगडामा कुटाकुट भएपछि दुवै पक्षका २२ जना घाइते भएका छन्। उनीहरुमध्ये कोही स्थानीय अस्पतालमै उपचार गराएर घर फर्केका छन् भने कोही विराटनगर रेफर भएका छन्।

नेकपाका दुनियालाल यादव र जसपाका जसिलाल यादव पक्षबीच कुटाकुट भएको हो । घटना नेकपा र जसपा कार्यकर्ताबीच भएको गाउँपालिका अध्यक्ष बेचनप्रसाद यादवले बताएका छ्न् । घाइते हुनेमा दुनियालाल पक्षको सुखिलाल यादव, कुन्देश्वर यादव, किशोर यादव, जिगिन्द्र यादव, विरेन्द्र यादव, जिबछ यादव, मिथिलेश यादव, जुनियालाल यादव, दिपक यादव, सन्दीप यादव, लालै यादव, प्रदीप यादव, उन्देश्वर यादव, जोगी यादव रहेका छन् । उनीहरुमध्ये अधिकांशलाई टाउकोमा चोटपटक लागेको प्रहरीले जनाएको छ। यसमा दुनियालाल वडा तथा न्यायिक समिति सदस्य पनि हुन् ।

अर्को पक्षमा तर्फ जसिलाल यादव, श्यामसुन्दर यादव, संजिव यादव, सन्तोष यादव, देवचन्द्र यादव, श्यामसुन्दर यादव, बच्चालाल यादव, फजिल यादव, छविलाल यादव रहेका छन्। उनीहरुमा पनि धेरैलाई टाउकोमै चोट लागेको छ। डाक्टरले सिटी स्कान लेखेर लहानबाट विराटनगर रेफर गरेका छन्।

यस्तै, शुक्रबार राति सीमावर्ती बरियारपट्टि गाउँपालिका १ कचनारी गाउँस्थित जसपा र कांग्रेस कार्यकर्ताबीच धान खेतमा पानी पट्याउने विषयमा विवाद भएको छ । त्यही विवादमै कुटाकुट भएपछि दर्जनौँ व्यक्ति घाइते भएका छन् । सो झगडा नियन्त्रण गर्न गएका दुई प्रहरी जवानमा पनि घाइते भएका छन्।

स्थानीयका अनुसार तेस्रो व्यक्तिको खेतमा पानी तान्ने मोटर जडान गरिएको थियो। त्यही मोटरबाट गर्भु यादवले आफ्नो खेतमा पानी पटाउदैँ थिए। त्यहीबेला रामनाथ यादवको पक्षले आफू पानी पटाउने खोज्न थालेपछि विवाद भएको थियो।
त्यहाँ कुटाकुटमा कांग्रेसका गर्भु यादव, सुरेन्द्र यादव, विजयकुमार यादव, रामउदगार यादव, रामप्रकास यादव, स्वस्तीकादेवी यादव, रामजीवन यादव र मन्जु गिरी घाइतेका छन्। जसपाका रामनाथ यादव, मिथिलेश यादव, श्याम यादव, दिनेश यादव, सिकिन्द्रभगत यादव घाइते भएका छन्।
झगडा छुटाउन गएका प्रहरी जवान देवकुमार यादव र राजेश सिंह घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

दुवै पक्ष अहिले घाइते भएर उपचार गराइरहेका छन् । कसैले पनि प्रहरी उजुरी दर्ता गराएको छैन् । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विनोद घिमिरेले जानकारी दिए ।

सम्बन्धित खवर