क्वारेन्टिनमा बस्नु भन्दा मट्टितेल छर्कीएर श्रीमतीलाई नै आगो लगाइदिए

क्वारेन्टिनमा बस्नु भन्दा मट्टितेल छर्कीएर श्रीमतीलाई नै आगो लगाइदिए

लहान, भारतबाट आएका श्रीमानलाई क्वारेन्टिनमा बस्नुभन्दा उल्टै आगो लगाएका छन् । गत ४ साउनमा २९ वर्षीय दीपेन सदा भारतको पन्जाबबाट नेपाल आएका थिए । उनीमाथि कोरोनाको आशंका गर्दै श्रीमतीले क्वारेन्टिन जान सुझाब दिएकी थिइन् । आफूमाथि कोरोनाको आशंका गरेको भन्दै दीपेनले ५ साउन बिहान ११ बजेतिर मट्टीतेल छर्किएर श्रीमती वशन्ती सदालाई आगो लगाइदिएको पीडितकी आमा सोनावतीले बताइन् ।

आगजनीबाट घाँटीमुनि र कम्मरमाथिको भाग जलेकी वसन्तीलाई तत्काल लहान ल्याएर सामान्य उपचार गरिएको थियो । भोलिपल्ट विराटनगर लगिए पनि नोबेल अस्पतालले भर्ना नलिएपछि पुनः फर्काएर घरमै ल्याएको आमा सोनावतीले बताइन् । घाइतेको अवस्था झनै गम्भीर भएपछि तीन दिन घरमै राखेर ८ साउनमा राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरेको आमा सोनावतीको भनाइ छ । ‘अस्पतालमा कोरोना संक्रमणको उच्च जोखिम भयो भन्दै घर जान भनेपछि पुनः २५ साउनमा घर ल्याएर राख्यौँ,’ उनले भनिन्, ‘छोरीको अवस्था नाजुक भएपछि १० भदौमा लहान ल्याएर उपचार गर्दै थियौँ ।’

लहान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनील कुशवाहाले घाइतेलाई अस्पतालको आन्तरिक स्रोतबाट १० भदौ देखि सम्भव भएसम्मको उपचार गरेको बताए । उनले भने, ‘उनको शरीरको ५५ देखि ६० प्रतिशत भाग जलेको छ । सुविधासम्पन्न ठाउँमा उपचार भए उनले पुनर्जीवन पाउने थिइन् ।’

उपचारका लागि सहयोग रकम संकलन हुँदै

उनको उपचारका लागि स्थानीय सरकार, सिरहाका महिलाअधिकारको क्षेत्रमा कार्यरत सामाजिक संघसंस्था र अमेरिका बसिरहेकी एक महिलाले आर्थिक सहयोग गरेका छन् ।
लहानस्थित समग्र जनउत्थान केन्द्रका कार्यकारी निर्देशक देवराज पोखरेलका अनुसार सुरुंगा नगरपालिकाले एम्बुलेन्स खर्च छुट दिएको छ भने मुक्ति नेपाल, हर्कोडेक, दलित जनकल्याण युवा क्लब, दलित महिला संघ, ओरेक नेपाल, अमेरिका बसिरहेकी सिरहाकी शर्मिला सिंहबाट तत्काल ६५ हजार रुपैयाँ संकलन भएको छ । ‘घाइतेको लामो समयसम्म उपचार गर्नुपर्ने र थप रकम लाग्ने भएकाले त्यसका लागि पहल गर्दै छौँ,’ कार्यकारी निर्देशक पोखरेलले भने ।

पति पुर्पक्षका लागि कारागार चलान

सात वर्षीया छोरीकी आमासमेत रहेकी पत्नीलाई मट्टीतेल छर्केर आगो लगाई हत्या गर्न खोजेको आरोपमा पक्राउ परेका दीपेनलाई अदालतको आदेशमा कारागार चलान गरिएको छ । घटनालगत्तै पक्राउ परेका दीपेनविरुद्ध घाइतेकी बाबुले ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए ।

प्रहरीले जाहेरीको आधारमा थप अनुसन्धान गरी राजविराजस्थित जिल्ला अदालतमा पेस गरेपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रमुख प्रहरी निरीक्षक रामराजा केसरीले बताए ।

सम्बन्धित खवर