अर्जुन काफ्ले, पथरी
असारको मध्यबाट पशुमा देखिएको ‘लम्पी स्किन’ रोग नियन्त्रणमा आउन सकेको छैन् । ‘लम्पी स्किन’ रोगको नियन्त्रणका लागि सरकारी तवरबाट कुनै कार्य नभएको मोरङ्गका किसानले बताएका छन् । सो रोगले विषेश यस क्षेत्रमा पालिएका गाँई प्रभावित भए पनि रोग नियन्त्रणका लागि सरकारी तवरबाट कुनै प्रक्रिया नै सुरु नगरीएकोले किसानको लगानी डुब्ने खतरा बढेको छ ।
रोग प्रभावित बनेका पथरी शनिश्चरे, लेटाङ्ग कानेपोखरीका किसानहरुले व्याक्तिगत रुपमा गाईको उपचार गराएपनि रोग नियन्त्रणमा आउन नसक्दा किसानमा थप चिन्ता थपिएको छ । स्थानीय पशु स्वास्थ्य प्राविधिकहरुले रोग फैलिन नदिन एन्टीवायोटिक्स र अन्य छालाका रोगमा प्रयोग गरिने औषधी प्रयोग गरे पनि सो रोग नियन्त्रणमा आउन सकेको छैन् ।
लेटाङ्गका किसान प्रेम दाहालका अनुसार अझ अवस्था भयावह हुन लागेको छ । सो रोगको संक्रमण भएका गाईमा छाला झर्ने सम्मका समस्या देखिएका छन् । अन्य निरोगी पशु समेत विरामी पर्दै गएका छन् । रोग फैलिएको जानकारी गराए पनि सरकारी तवरका भेटरीनरी अस्पतालबाट रोग नियन्त्रणका लागि खोप लगाउने र रोगको संक्रमण रोक्नका लागि अन्य कार्य नभएको किसानहरुको भनाइ रहेको छ ।
एउटा पशु उपचारमै ३ देखी ४ हजार रुपयाँ रकम खर्चिनु परिरहेको किसानहरुको भनाइ छ ।
रोग नियन्त्रणमा नआउदा किसानमा थप समस्या भएको छ । पशुको शरीरमा फोका आउने, ज्वरो आउने, फोका फुटने, फुटेको भागबाट पानी बग्ने, खुट्टा सुन्निने र पशु वस्तुको दुध उत्पादन घटने लक्षण देखिने गरेको छ । रोगबाट संक्रमित पशुमा बाँझोपनाको समस्या देखिने पशु चिकित्सकहरु बताउछन् । प्रदेश नम्वर १ को भूमी व्यावस्था कृषी तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत पशुपती ढुङ्गानाका अनुसार प्रदेश नम्वर १ का झापा, मोरङ्ग र सुनसरीका पशुमा लम्पी स्किन रोगको प्रकोप भएपनि यसको नियन्त्रणका लागि भेटरीनरी अस्पतालले प्रयास थालेका छन् ।
रोग फैलाउने झिगा, मच्छड लगायत नियन्त्रण गर्न औषधी छर्ने काम समेत भइरहेको ढुङ्गानाको दावी छ । ढुङ्गानाले भने ‘रोग विषाणुबाट सर्ने भएकाले केन्द्रिय पशुरोग अन्वेषण केन्द्रमा यो कुन प्रजाती र उपजातीको विषाणु हो भन्ने परीक्षण भइरहेकाले तत्काल खोप लगाउने कार्य सम्भव भइरहेको छैन् । खोपका लागि केहि ढिलाइ भएपनि पशुमा संक्रमण नफैलिन कृषी मन्त्रालयले पहल थालिरहेको छ । पहिला त नेपालमा फैलिएको लम्पीको उपजात बारे पत्ता लागेपछि मात्र खोप व्यावस्थापन गर्न सकिन्छ’ उनले भने ‘ संक्रमितलाई खोप लगाउनु प्रभावकारी छैन् ’ । नेपालमा लम्पी स्किन रोगको खोप उत्पादन नभएकाले पनि विदेशको भर पर्नु पर्नेछ ।
झापा मोरङ्ग र सुनसरीका धेरै पशुमा यसको संक्रमण अझ बढ्ने पशु चिकित्सकहरु बताउछन् । वर्खायाममा चरनका लागि पशु बाहिर नछोडिने भएपनि यस पछि पशु वस्तु चरनका लागि जंगल वा अन्य क्षेत्रमा छोडीने र संक्रमितको प्रत्यक्ष सम्पर्कबाट रोग फैलने पशु चिकित्सक बताउछन् । यो रोग झापा मोरङ्ग सुनसरी र अन्य जिल्लामा देखिएको छ । रोगको संक्रमण देखिएको १ महिना पछि मात्र पशु रोग अन्वेषण कार्यालयले लम्पी रोग भएको पुष्टी गरेको थियो । कार्यालयले लम्पी फैलिएको पुष्टी गर्दा धेरै पशु यो रोगबाट प्रभावित बनिसकेका थिए । रोगको संक्रमणबाट पशु क्षती कम गर्न किसानले रोग नियन्त्रणका लागि खोप लगाउन माग गरेका हुन् ।
अफ्रिकाबाट फैलिएको यो रोग २०१९को मध्य तिर भारत र वंगलादेशमा देखिएको थियो भने नेपालमा असारको मध्यबाट देखिएको थियो । यो रोग मोरङ्गमा पालिएका गाईमा पहिलो पटक देखिएको हो । रोग नियन्त्रण गर्न भारत तथा अन्य देशमा यो रोग विरुद्धको खोप दिदै आइरहेको छ ।