रंगेलीमा १ सय वेडको आईसोलेशन सेन्टर सञ्चालन

रंगेलीमा १ सय वेडको आईसोलेशन सेन्टर सञ्चालन

किरण न्यौपाने, रंगेली

प्रदेश नं. १ स्तरीय कोरोना उपचार अस्पतालहरु भरिएपछी रंगेली नगरपालिकाले आफै आईसोलेशन सेन्टर संचालनमा ल्याएको छ । रंगेलीमा समुदाय स्तरमै फैलिएपछी कोरोना संक्रमितलाई राख्न समस्या भएको भन्दै नगरपालिकाले आईसोलेशन सञ्चालनमा ल्याएको हो ।

रंगेली नगरपालिकाले आफ्नै स्रोत र साधन परिचालन गरी जनता क्याम्पसमा एक सय वेड क्षमताको कोरोना उपचारका लागि आईसोलेशन सेन्टर सञ्चालन गरेको हो । सेन्टरमा कोरोना संक्रमण पुष्टी भई लक्षण देखा नपरेका विरामी राखेर उपचार गरिने र थप उपचार आवश्यक परेका कडा लक्षणका विरामीहरुलाई प्रदेश कोरोना अस्पतालमा लगिने व्यवस्था मिलाएको रंगेली नगरपालिकाका मेयर दिलीप वगडियाले जानकारी दिए ।

मेयर वगडियाले पालिकास्तरीय आईसोलेशन सञ्चालन कार्य विधी अनुरुपको मापदण्ड अनुसार क्याम्पस भवनमै आईसोलेशन सेन्टर बनाएको जानकारी दिए । यस अघि नगरपालिकाले क्याम्पस भवनलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्दै आएको थियो । मेयर वगडीयाले भने ‘प्रदेश एक मै कोरोना संक्रमित दिन प्रति दिन बढ्दै गएकाले हामिले रंगेलीबासीलाई उपचारमा समस्या नहोस भनेर आईसोलेशन सेन्टर संचालन गरेका हौँ। आईसोलेशनमा अक्सिजन, तातो पानि, खाना, चिया फलफुलको प्रवन्ध गरिने छ । साथै साबुन, शौचालय र पानीको उचित प्रवन्धसंगै सरसफाईमा समेत ध्यान दिइने छ ।’

आईसोलेशनमा उपचारका लागि रंगेली अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रोहेन्द्र पाँडे नेतृत्वमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी रहने छन् । पछिल्लो समय रंगेलीका ३ स्वास्थ्यकर्मी , ५ विधुत कर्मचारी र एकै परिवारका १४ जना सहित २२ जनामा पहिलो पटक समुदाय स्तरमै कोरोना पोजेटिभ संक्रमित फेला परेपछी कन्ट्याक ट्रेसिङमा थप ३० जना संक्रमित थपिएका छन् । दिनानुदिन संक्रमित थपिदै गएकाले प्रदेशका कोरोना उपचार केन्द्रले राख्न नमानेपछी नगरले जनता क्याम्पसलाई आईसोलेशनमा रुपान्तरण गरेको बुझीएको छ । नगरले संक्रमितको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी २४ घण्टा एम्वुलेन्स सेवा व्यवस्था मिलाएको छ ।

हाल रंगेली जनता क्याम्पसको आईसोलेशनमा लक्षण देखा नपरेका तर कोरोना पुष्टी भएका २८ जना कोरोना संक्रमित रहेका छन् । साथै नगरपालीकाले रंगेली तिरुपती बालाजी मन्दिरको भवनमा छुट्टै १ सय वेड क्षमताको क्वारेनटाइन समेत रही रहने छ । सो स्थानमा अन्य मुलुकबाट फर्की आएकाहरुलाई राखिने व्यवस्था मिलाएको जनाएको छ ।

प्रदेश सरकारले सञ्चालनमा गरेको कोशी, विपी र गोठगाँऊको उपचार केन्द्र तथा आईसोलेशनहरुमा थप संक्रमण पुष्टि भएकाहरुलाई राख्ने ठाऊँ नभएको बताउदै संक्रमित लिन नमान्ने गरेका छन् ।

सम्बन्धित खवर