जाँते खाने पानीको पाईप बाढिले बगायो, १७ लाख बढिको क्षति

जाँते खाने पानीको पाईप बाढिले बगायो, १७ लाख बढिको क्षति

डम्बर सिन्चिउरी, जाँते

लगातारको वर्षाका कारण आएको बाढिले उत्तरी मोरङ्गको लेटाङ्ग ८ र ९ जाँतेमा सेवा दिंदै आएको जाँते खाने पानी संस्थाको पाईप बगाउँदा १७ लाख बढिको क्षति भएको छ ।

गत असार २७ गते शनिबार राती परेको मुसलधारे पानीका कारण स्थानीय तेली खोलामा आएको बाढिले पाईप सहित अन्य संरचना बगाउदा १७ लाख बराबरको क्षति भएको उपभोक्ता समितिका अध्यक्ष डिल्ली विश्वकर्माले बताउनुभयो। बाढिले सोही खोलाको किनारमा निर्माण गरेको ईन्टेक ट्याङ्की देखि रिजर्भर सम्म पानी ल्याउन खोलाको किनारै किनार विच्छ्याएको १७ सय ५० मिटर पाईप, १६ वटा आरसिसि पिल्लर र ५३ थान स्पर बगाउँदा १७ लाख २ हजार ७ सय ५० रुपैंया बराबरको क्षति भएको विश्वकर्माले जानकारी दिनुभयो ।

विगतमा पाईप विच्छाएको ठाउँमा हाल खोलाको मुल भङ्गालो नै बगीरहेकोले पाईप जोडेर उपभोक्ताहरुलाई पहिलेकै अवस्थामा पानी उपलब्ध गराउन खोलाले स्थाई रुपमै धार परिवर्तन नगरे सम्म सम्भव नरहेको विश्वकर्माले बताउनुभयो । तथापी वैकल्पिक मार्ग अपनाएर अबको ४÷५ दिनमा मात्र उपभोक्ताले खाने पानी उपभोग गर्न सक्ने सम्भावना रहेको विश्वकर्माको भनाइ छ ।

बाढिले पाईप बगाउँदा स्थानिय १ हजार ४ सय ५० घरधुरीका उपभोक्ता दैनिक खाने पानी उपभोग गर्नबाट बञ्चित भएको संस्थाका कार्यलय सचिव प्रेम राईले जानकारी दिनुभएको छ ।

स्थानिय स्तरमा खाने पानीको संस्थागत धारा बाहेक कुनै पनि विकल्प नभएका जाँते बासी हाल दैनिक २ देखि ३ किलोमिटर भन्दा टाढाका खोला किनार धाएर पिउने र दैनिक उपभोगका लागि पानी संकलन गर्न बाध्य भएका छन् । स्थानियहरु भन्छन् खेतिको समय छ, खेति गर्नु कि पानी खोज्न जानु अति कष्ट भो । दिन भरी खेतमा हिलोमा काम गर्यो, बेलुका घरमा आउँदा नुहाउँन त परै जाओस हात खुट्टा धुने धरी पानी छैन् । कुलो पनि खोलैले लग्यो, आकाशबाट पनि पानी आउन छोड्यो, अब त सौच जाने समेत पानीको सारै पर्न थाल्यो । तत्काल समितिले बैकल्पिक उपाय खोजेर भएपनि पानीको व्यवस्थापन गर्न नसके जाँतेवासीमा पानीको हाहकार मच्चिने देखिएको छ ।

सम्बन्धित खवर