लगातारको झरीले निर्माणाधिन बाटो र खानेपानीको पाइप बगायो

लगातारको झरीले निर्माणाधिन बाटो र खानेपानीको पाइप बगायो

डम्बर सिन्चिउरी, जाँते

केहिदिन यता देखि मनसुनको सक्रियताका कारण देशव्यापी रुपमा परेको निरन्तरको झरिले उत्तरी मोरङ्गको लेटाङ्ग ९ जाँतेमा कालोपत्रे गर्न ठिक्क पारेको सडक बगाउँदा लाखौंको क्षति भएको छ ।

गत जेष्ठ एक गतेबाट शुरु गरिएको स्थानिय सखुवानी स्थित डँणाक चौक देखि दक्षिण बुडौली चौक हुँदै गणेश मन्दिर सम्मको २४ सय मिटर कच्चि सडकलाई कालोपत्रे गरिन लागिएको थियो । उक्त सडकलाई केही हप्ता अघि मात्र सव वेसको काम सकेर एक हप्ता अघि मात्र कालोपत्रेको लागि वेस हाल्ने काम समेत सम्पन्न गरेको थियो ।

वेस हालीसकेर गत असार २६ गते देखि वेस सम्याउने काम समेत शुरु गरी सकिएको उक्त सडक खण्डको बुडौली चौक देखि दक्षिण पट्टिको करिब १२ सय मिटरको सव वेस र वेस समेत वर्षाको पानीले बगाई लगेको निर्माण समितिका अध्यक्ष विष्णुलाल पौडेल बताएका छन् । अध्यक्ष पौडेलका अनुसार यसरी निर्माण सम्पन्न हुनै लागेको सडकमा लगाईएको वेससँगै सव वेस समेत बगाउँदा अन्दाजी पाँच लाख बढिको क्षति भएको अनुमान गरिएको छ । उनी भन्छन् आजै झट्ट हेर्दा त यस ठाउँमा सडक बनाउनै नसकिने जस्तो देखिने गरी क्षति भएको देखिन्छ ।

उक्त सडकको बुडौली चौक देखि उत्तर पट्टिको भागमा त्यत्ति क्षति नदेखिए पनि बुडौली चौक दक्षिणमा भने सडक छेउ बनेका आधा दर्जन घरमा समेत क्षति पुग्ने गरी सडक बगेको स्थानिय उपभोक्ता राम खड्का वताउँछन् । १ करोड ५० लाखको लागतमा आगामी कार्तिक सम्ममा निर्माण सम्पन्न गर्ने भनिएको उक्त सडक बगेपछि भने लागत र समय दुवैको बडोत्तरी हुने र यसबाट स्थानिय उपभोक्तालाई निकै ठूलो आर्थिक भार पर्न सक्ने निर्माण समितिका अर्का अध्यक्ष बासु घिमिरेले बताए । सडक बगेपछि आर्थिक भार त बड्यो निश्चित छ, साथमा कार्तिक देखि कालो पत्रे सडकमा हिड्ने उपभोक्ताको सुन्दर सपनामा समेत तुसारापात भएको घिमिरे वताउँछन् । उनी भन्छन् अहिले नै पनि वर्षातले सडकमा क्षति पुर्याएसँगै उपभोक्तालाई दुद्य डेरी, कुटानि पिसानी, सींचाईका लागि कुलो पैनि धाउन समेत अप्ठेरो परेको छ ।

यसरी वर्षातले सडक बगाएसँगै सम्बन्धित निकायमा जानकारी गराए पनि अनुगमन भने भैनसकेको जनाईएको छ । यसबाट वास्तविक क्षतिको विवरण भने आउन बाँकि रहेको छ ।

लगातारका वर्षातले लेटाङ्ग ८ र ९ जाँतेमा अन्दाजी १५ सय घरधुरीलाई सेवा दिंदै आएको जाँते खाने पानीको ईन्टेकबाट फिल्टर ट्याङ्कि सम्म पानी ल्याउन विच्छ्याईएको अधिकांश पाईप बगाएको खाने पानी संस्थाका अध्यक्ष डिल्लि वि कले जनाएका छन् । उनका अनुसार क्षतिको पुर्ण विवरण एवं निर्माणका लागि लाग्ने समयावधि भने यकिन भैनसकेको वताईएको छ ।

यसै गरी स्थानिय तेली र मोरङ्गे खोलाले आधा दर्जन बढि सिंचाई पैनिको मुहान बगाएर सिंचाईको क्षेत्रमा पनि ठूलो क्षति पुर्याएको स्थानिय टेक्राहा गौडा सिंचाई पैनि उपभोक्ता समितिका अध्यक्ष नन्द प्रसाद खतिवडाले बताएका छन् । यसरी मुहान बगाएका पैनिहरुमा तेली गडाम्मे, टेक्राहा गौंडा, सिंहदेवी तेली, पापु गौंडा, स्माली गौंडा, मोरङ्गी किसान पैनि र सिंहदेवी मोरङ्गी सिंचाई पैनिहरु रहेका छन् ।

सम्बन्धित खवर