कामदार अभावमा पोखरा खानेपानी परियोजनाको काम रोकियो

कामदार अभावमा पोखरा खानेपानी परियोजनाको काम रोकियो

मेलम्ची पछिकै दोस्रो ठूलो खानेपानीको आयोजना चलिरहेको पोखरामा यतिबेला काम ठप्प भएको छ । कामदारको अभावमा पोखरा खानेपानी सुधार बिस्तार आयोजनाको काम अघि नबढेको हो । लकडाउन अघिसम्म परियोजनाको काम तीव्र गतिमा चलिरहेको थियो ।

फागुनसम्म लक्ष्यभन्दा अघि रहेको आयोजना चैतबाट भने अघिबढ्न सकेको छैन । अहिले काम ठप्प भएको छ, कामदारहरु कोरोना त्रासले घर गएका थिए, आउने स्थिति छैन, हामिसँग कामदार छैन ।

काममा हामी लक्ष्यभन्दा एक प्रतिशत अघि थियौँ’ पोखरा खानेपानी संस्थानका प्रमुख एवम् खानेपानी सुधार बिस्तार आयोजना प्रमुख इन्जिनियर आशिष कार्कीले भने, ‘लक्ष्यभन्दा पहिले नै काम सम्पन्न गर्ने सोच थियो, अब समय पछि धकेलिएको छ ।

कामदार ल्याउने प्रयास जारी छ ।’ घर गएका कामदारलाई ल्याउनको लागि सम्बन्धित जिल्लाका जिल्ला अधिकारीसँग समन्वय भएको उनले सुनाए । परियोजनामा ६ सय कामदार दैनिक रुपमा खटिएका थिए । आयोजनाको २२ प्रतिशत काम सम्पन्न भएको उनले बताए ।

खानेपानी मन्त्रालयको उपत्यका बाहिर निर्माणाधिन पहिलो ठूलो परियोजना यही हो । परियोजना सम्पन्न हुँदा पोखरा महानगरपालिका भित्रका साढे ४ लाख जनसंख्याले दैनिक शुद्ध पानी उपभोग गर्न पाउनेछन् ।

तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित पोखरामा खानेपानी सुधार आयोजना सुरु गर्न जापान सरकारले नेपाललाई ४ अर्ब ८१ करोड रुपैंयाँ अनुदान सम्झौता भएपछि परियोजना अघिबढेको हो । तर, लकडाउनको कारण समयमै काम नसकिने हुँदा पोखरेली जनताले शुद्ध पानी पाउन थप समय पर्खिनुपर्ने भएको छ ।

खानेपानीको क्षेत्रमा यो अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय आर्थिक सहयोग हो । नेपाल सरकारको ऋण लगानी र जापान सरकारको अनुदान सहयोगमा नेपाल खानेपानी संस्थानद्वारा संचालन हुने पोखरा खानेपानी सुधार बिस्तार आयोजना अन्तरगत मर्दी मुहानबाट उत्पादन हुने पानी प्रशोधन केन्द्रको निर्माणमा २० हजार घनमिटर क्षमताको पानी पोखरी निर्माण हुनेछ ।

दैनिक साढे ४ करोड लिटर पानी प्रशोधन गर्ने प्लान्ट मर्दी खोलामा राखिएको छ । खानेपानी आपूर्तिका लागि १ सय किलोमिटर पाइप बिछ्याइने भएपनि ८५ किलोमिटरमात्र बिछ्याउने आयोजना प्रमुख कार्कीले जानकारी दिए ।

 

खानेपानी भण्डारण गर्न २० लाख लिटरको ३ वटा रिजर्भभ्वायर पानी ट्यांकी निर्माण काम अघिबढेको छ । पोखराको पस्र्याङ, फूलबारी र मालेपाटनमा ट्यांकी निर्माण भइराखेको प्रमुख इन्जिनियर कार्कीले जानकारी दिए । त्यो बाहेक पोखरा नगरक्षेत्रमा १६ किलोमिटर पाइप बिछ्याउने काम पनि सम्पन्न भएको छ ।

पोखरा खानेपानी सुधार तथा बिस्तारको लागि याचियो इन्जिनियरिङ कम्पनी लिमिटेडले बिस्तृत डिजाइन गरेको थियो । सन् २००४ मा यसको सम्भाव्यता अध्ययन गरिएको थियो । सम्भाव्यता अध्ययनको १५ वर्षपछि योजना निर्माण अघिबढेको हो ।

अहिले पोखरामा मर्दीखोलाबाट दैनिक ३ करोड लिटर, पोखराको पुरानो पानी आपूर्तिस्थल बालधाराबाट ४ लाख लिटर, भोटीखोलाबाट साढे २ लाख लिटर पानी आपूर्ति हुँदै आएको छ । पोखरामा दैनिक साढे ४ करोेड लिटर पानीको माग छ ।

४ करोड लिटर पानी दैनिक आपूर्ति हुँदै आए पनि खानेपानी लाइनको बिस्तार हुन नसक्दा त्यो पानी विन्ध्यवासिनीमा रहेको ट्याङ्कीबाटै खेरजाने गरेको छ । पोखरामा दैनिक करिब साढे ३ करोड लिटर पानी बितरण हुँदै आएको छ । मर्दीबाट चार भागको एक भाग मात्र पानी पोखरा ल्याइएकोले पोखरालाई पानीको स्रोतको भने अभाव भने छैन ।

पोखरामा १९७७ सालदेखि नै योजनावद्ध रुपले खानेपानी बितरणको थालनी भएको हो । पोखरामा आधुनिक रुपले खानेपानी परियोजना भने २०४४ सालमा मर्दीबाट १६ इञ्चको पाइमा पानी ल्याएर सुरु भएको हो । जाइकाकै १३ करोड ५० लाखको सहयोगमा २०६८ सालमा १६ इञ्चको सट्टामा २० इञ्चको पाइप हाली विन्ध्यवासिनीसम्म पानी ल्याए पनि बितरण पाइप नहुँदा पानी खेर गइरहेको छ ।

धारामा फोहर पानी

पोखराको हरेक धारामा अहिले धमिलो, हिलो र लेउ पानी आउन सुरु भइसकेको छ । पोखराको लागी यो नौलो कुरै भएन । लगातार परेको पानीको कारणले ५ दिनसम्म पानी आपूर्तिमा समस्या आएको आयोजना प्रमुख कार्की बताउँछन् । ‘यो समस्या वर्षौँ देखिको हो, बर्खाको समयमा हिलो, धमिलो र लेउपानी आउँछ । हिलोपानी आउँदा ५ दिनदेखि आपूर्ति बन्द भएको थियो । अहिले समस्या हटिसकेको छ’, उनले भने ।

पोखरा खानेपानीको मुहान मर्दीखोला हो । पोखराको धारामा मर्दीखोलाको पानी सिधै आउने गर्छ । बारम्बार पानी पर्दा र खोलाको बहाव बढ्दा बगाएर ल्याएका रुख, झार तथा हिलोको कारणले समस्या आएको हो । त्यस्तै खानेपानी योजनाअन्तर्गत पोखराको लभ्लीडाँडा, खहरे र मजुवामा समान २–२ करोडको लगानीमा रिजर्भभ्वायर ट्यांकी तथा सराङ्कोटमा एक करोडको लगानीमा पानी टंकी निर्माण योजना अघि बढेको छ ।

सम्बन्धित खवर