गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महिना दिनअघि पिसिआर टेस्ट बिना क्वारेण्टिनमा बसेका कसैलाई पनि घर नपठाउने बताएका थिए ।
अन्य प्रदेशले बिना पिसिआर घरघरै पठाउँदा कोरोना संक्रमण फैलिएको भन्दै व्यापक आलोचना पनि भएको थियो ।
पिसिआर गरेर मात्रै घर पठाउने गण्डकीको कदमलाई सबैले तारिफ गरेका थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको एक मात्र पिसिआर मेसिनबाट जाँच गर्दा ढिलो रिपोर्ट आएको गुनासो बढेपछि प्रदेश सरकारले अहिले ३ वटा मेसिनबाट कोरोना जाँच सुरु गरेको छ । प्रदेशसभाको बर्खे अधिवेशनमै पनि सांसदहरुले कोरोना रिपोर्ट ढिलो आएको भन्दै चर्को विरोध गरेका थिए ।
स्थानीय तहका पालिकालाई नै पिसिआर मेसिन किन्ने अधिकार दिन सांसदहरुले सदनमा माग गरेका थिए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगसँगै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला र प्रदेश क्षयरोग केन्द्रबाट पनि अहिले कोरोनाको जाँच हुन्छ । नयाँ मेसिन थपिएपछि ढिलोमा दुई, चार दिनमै रिपोर्ट आउने गरेको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले बताए ।
एउटा मात्रै पिसिआर मेसिन हुँदा रिपोर्ट आउन ढिला भए पनि अहिले धमाधम रिपोर्ट आई रहेको बताए । ‘पहिला एउटा मात्रै मेसिन थियो’,उनले भने, ‘एउटा मेसिन हुँदा रिपोर्ट आउन केही ढिला भए पनि अहिले त दुई, चार दिनमै आउछ ।’
अहिले महानगरको क्वारेण्टिनमा २ सय १४ जना जिल्ला बाहिरबाट आएका क्वारेण्टिनमा बसेका छन् । ४२ जना आइसोलेसन कक्षमा उपचाररत छन् । उनका अनुसार आइसोलेसनमा उपचाररत ४२ मध्ये २५ जना निको भएर घर फर्किसके । बन्दाबन्दीको अवधिमा ६ सय ५३ जनालाई क्वारेण्टिनमा राखिएको उनले जानकारी दिए ।
तीमध्ये ४ सय जना क्वारेण्टिन र आइसोलेसन बसाई पूरा गरि घर फर्किसकेका छन् । रिपोर्ट आउन ढिला हुँदा क्वारेन्टाइन बसाईं केही लम्बिए पनि न्युनत १४ दिन क्वारेण्टिनमा राखेर घर फिर्ता पठाइएकोउनले सुनाए ।
यस्तै माँदी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ ‘श्याम’ले पालिकाभित्र १४ जना क्वारेन्टाइनमा बसेको जानकारी दिए । पालिकाका दुईजना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा उपचाररत छन् ।
मादी गाउँपालिकाले पनि १४ दिनको क्वारिण्टिन बसाई पूरा गराएर मात्रै घर फिर्ता पठाउने गरेको छ । क्वारन्टाइनमा बसेका पालिकाबासीलाई रिपोर्ट आउन ढिलाहुँदा महिनादिनसम्म पनि क्वारेण्टिनमै राख्नु परेको गाउँपालिका अध्यक्ष गुरुङले बताए । पालिकालाई क्वारेण्टिनमा राख्नको लािग समस्या नै रहेको उनले सुनाए । ‘समस्यै छ । स्कुल, समाजघरलाई क्वारेण्टिन बनाएर राखेका छौं । स्रोत, साधन छैन’, उनले भने । लकडाउन अवधिभर १ सय ७० बढीले क्वारेण्टिन बसाई बसेको अध्यक्ष गुरुङले सुनाए ।
रुपा गाउँपालिकामा पनि हाल २० जना क्वारेन्टाइनमा छन् । केही समयअघि भारतबाट आएका दुई जनालाई कोरोना संक्रमण देखिए पनि अहिले यो पालिका संक्रमण ‘फ्रि’ छ । पालिकाले लकडाउन अवधिभर १ सय ५३ जनालाई क्वारेन्टाइन बसाई पूरा गरेर घर पठाएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाले विदेशबाट आउनेहरुलाई होम क्वारेण्टिनमा समेत राखेको छ ।
अन्नपूर्ण र माछापुच्छ«ेमा पनि विद्यालयलाई नै क्वारेण्टिन बनाइएको छ । लकडाउन अवधिमा कास्कीमा १७ सय ३९ जना भित्रिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कार्यालयका सूचना अधिकारी सुवास हमालका अनुसार बाहिरी जिल्लाबाट ५ सय ६३ र भारतबाट ५ सय ८९ जना कास्की भित्रिएको उनले जानकारी दिए । अन्य बाह्य मुलुकबाट ५८७ जना कास्की भित्रिएको उनले बताए ।