जाँतेमा कृषि सामाग्री वितरण

जाँतेमा कृषि सामाग्री वितरण

डम्बर सिन्चिउरी, जाँते

उत्तरी मोरङ्गको लेटाङ्ग ९ जाँतेमा आज एक विशेष कार्यक्रमको आयोजनागरी स्थानिय सक्रिय कृषकहरुलाई विभिन्न प्रकारका कृषि सामाग्रीहरु वितरण गरिएको छ । विगत केही वर्ष सम्म हिउँदे तरकारीको पकेट क्षेत्र रहेको यस लेटाङ्ग ९ जाँतेलाई यसै वर्ष देखि भने तरकारीको ब्ल्क घोषणा गरिएको छ ।

यसैको औपचारिक उद्घाटन एवं प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सम्बन्धी तालिम तथा अभिमुखिकरणको अवसर पारी उक्त सामग्री वितरण गरिएको तरकारी ब्ल्क संचालक समितिकी सचिव भुमिका बुर्जाले बताएकी छन् ।

तरकारी खेतीका लागि तालिम समेत संचालन गरिने भएको छ । तालिम आषाढ १४ र १५ गते गरी दुई दिन सम्म संचालन भइरहेको छ । तालिममा कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नुनुलाल उराँवले सहजीकरण गरिरहनुभएको छ ।

आज वितरित सामग्रीहरुमा खनजोत गर्नका लागि मिनि टेलर १० थान र खेत सम्म मल पुर्याउने हाते ठेला ६० थान रहेका छन् । पानी सिचाईंका लागि हजारी र अग्र्यानिक मल देखि विभिन्न साग सब्जीको बीउ भने तत्कालै आउनेक्रमा रहेको संस्थाकी संयोजक मथुरा अधिकारीले जनाएकी छन् । उनका अनुसार उक्त सामाग्रीहरु आए लगत्तै स्थानिय कृषकहरुलाई वितरण गरिने छ । यसरी संस्थाले वितरण गर्ने समाग्रीहरुमा कृषि ज्ञान केन्द्र मोरङ्ग सुनसरीको ५० प्रतिशत अनुदान रहेको छ ।

अनुदानमा प्राप्त समाग्री भएकाले मिनिटिलरका लागि नगद रु ५५ हजार र हाते ठेलाका लागि नगद रु २ हजार १ सय आफुहरुले संस्थालाई बुझाएको स्थानिय कृषक सन्त बहादुर राईले बताए ।

विगत लामो समयदेखि कृषि पेशामा लागेर मौषमी र बेमौसमी दुवै प्रकारका सब्जी खेति गर्दै आएका स्थानिय १० जना सक्रिय कृषकहरुलाई कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख शंखर राईले वितरण गरेका थिए ।

संस्थाकी संयोजकको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा लेटाङ्ग नगर प्रमुखले तरकारी ब्लग पार्नमा आफू पनि दिन रात खटिएको एवं आगामी दिनमा समेत कृषकको साथमा रहेर विविध समस्या समाधानमा लागि पर्ने बताएका छन् । विभिन्न प्रकारका किराले कृषकको बाली नष्ट गर्न थालेकोले यसका लागि कृषकले बाली विमामा पनि ध्यान दिन राईले सुझाएका छन् ।

यसै गरी सोही अवसरमा मन्तब्य राख्दै नगर उपप्रमुख कृष्ण कुमारी निरौलाले कृषकलाई ५० प्रतिशत मात्र अनुदान दिँदा अधिकांस कृषक यसको लाभ लिनबाट बञ्चित हुने भएकाले विपन्न कृषकका लागि पनि संस्थाले जोड दिन सुझाएकि छन् । विपन्न कृषकलाई कसरी बढि भन्दा बढि लाभ पुर्याउन सकिन्छ भनेर आफुले पनि नगरमा सशक्त रुपले लागि पर्ने निरौलाले बताइन् ।

सोही अवसर परेर संस्थाले आर्थिक वर्ष ०७६÷०७७ को ७२ लाख ३२ हजार २ सय५० बराबरको आय ब्याय समेतको सार्वजनिक सुनुवाई गरेको छ ।

सम्बन्धित खवर