रौतहटको समुदायमा पनि कोरोना देखियो, अध्यक्षका सवारी चालक सहित ३ जनामा संक्रमण

रौतहटको समुदायमा पनि कोरोना देखियो, अध्यक्षका सवारी चालक सहित ३ जनामा संक्रमण

विवेक शर्मा, रौतहट

रौतहट जिल्लामा समुदायमा पनि कोरोना देखिएको छ । क्वारेन्टिन भन्दा बाहिर रहेका ३ जना पुरुषमा कोरोना पोजिटिभ रिपोर्ट आएको हो ।

कोरोना संक्रमित विरामीहरुको संख्या रौतहटमा दिनप्रती दिन बढ्दो अवस्थामा रहेको छ । बिहीबार थपिएका ३८ जना संक्रमितहरु मध्ये ३ जना क्वारेन्टिन बाहिर समुदायका पुरुषहरु हुन् ।

गौर नगरपालिका वडा नं. ५ कोइरिया टोलका दुई पुरुष र इशनाथ नगरपालिका ३ का एक गरेर समुदायका तिन जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । भारत मोतिहारी घर भई गौरको कोइरिया टोल स्थित ससुराली घरमा बसेर बौधीमाईको बंकुल बजारमा पसल संचालन गर्दै आएका ३० वर्षीय व्यक्ति कोरोना संक्रमित भएका हुन् । गौरमै भेटिएका दोस्रो संक्रमित ईशानाथ नगरपालिका वडा नम्वर २ घर भई हाल गौर ५ बस्ने १७ वर्षीय युवक हुन् । काठमाडौं जान पीसीआर जाँच गराउँदा उनलाई संक्रमण पुष्टि भएको गौर अस्पतालले जनाएको छ । इशनाथ नगरपालिका वडा नं. ३ का २५ वर्षीय पुरुष पनि संक्रमित पाइएको छ । उनी वडाध्यक्षका सवारी चालक हुन् ।

संक्रमण पुष्टि भएका तिनै जनालाई गौर स्थित गौरीशंकर यादव क्याम्पसमा रहेको आइसोलेसनमा राखिएको छ । उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ सुरु भएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । १७ वर्षीय युवकको परिवारका सदस्य स्वास्थ्यकर्मी रहेको हुनाले उनको परिवारका सदस्यहरूको स्वाब संकलन भइसकेको छ । अन्य दुईको पनि संकलन गरिने कार्य जारी रहेको घिमिरेले बताए ।

गौर नगरपालिकाको ५ नम्वर वडालाई सिल गरी आवश्यक परेमा पिसिआर परीक्षणको लागि किटको व्यवस्थान गर्ने काम सुरु भएको छ । घर बाहिर निस्कनुपर्दा अनिवार्य रुपमा मास्क लगाई समाजिक दुरी राख्न समेत घिमिरे आग्रह गरेका छन् ।

सम्बन्धित खवर