पथरी शनिश्चरेको बजेट ६६ करोड १२ लाख, दमकल खरिदका लागि ७० लाख विनियोजन

पथरी शनिश्चरेको बजेट ६६ करोड १२ लाख, दमकल खरिदका लागि ७० लाख विनियोजन

भिमराज अधिकारी, पथरी

मोरङ पथरी शनिश्चरेको ७ औँ नगरसभाले आर्थिक वर्ष २०७७/०७८ का लागि ६६ करोड १२ लाख २२ हजार ५ सय २ रुपैया बराबरको बजेट तथा कार्यक्रम पास गरेको छ । बुधबार सम्पन्न नगरसभाले पास गरेको बजेट नीति तथा कार्यक्रमको विहिबार पत्रकार सम्मेलन गरेर नगर प्रमुख दिलिप कुमार राईले जानकारी दिनुभएको हो ।

सभाले यहि आर्थिक वर्षमा बारुण यन्त्र (दमकल) पनि खरिद गर्न बजेट विनियोजन गरेको छ । दैनिक प्रयोगमा नआउने भएता पनि अतिआवश्यक रहेको दमकल खरिदका लागि सभाले ७० लाख रुपैया विनियोजन गरेको छ ।

नगरसभाले आगामी वर्षका लागि आन्तरिक आम्दानी, राजश्व बाँडफाँड, संघीय सरकार, प्रदेश सरकार, प्रदेशको निर्वाचन क्षेत्र विकास कार्यक्रम र वडा कार्यालय निर्माणका लागि जिल्ला समन्वय समितिबाट प्राप्त हुने गरेर जम्मा ६६ करोड, १२ लाख, २२ हजार ५ सय २ रुपैयाको बजेट पास गरेको हो ।

सभाले प्रशासनिक खर्च ११ करोड ६६ लाख २८ हजार ५ सय, वडागत सिलिङ ७५ लाख, स्वास्थ्यमा १ करोड १५ लाख, शिक्षामा ६५ लाख, कृषि पशुपंक्षि तथा सहकारीमा ६३ लाख, व्यापारिक भवन १ नं. वडामा १ करोड, दमकल खरिद ७० लाख, जनता आवास कार्यक्रम ३० लाख, विपद व्यवस्थापन ६० लाख, मर्मत संहार कोष ३० लाख, सिंचाई ५० लाख, खानेपानी १५ लाख, खेलकुद १५ लाख, दोहोलु शुक्रबारे सडक कालोपत्रे १ करोड २५ लाख, रजत जयन्ती मार्ग कालोपत्रे १ करोड २५ लाख, समपुरक कोषबाट बुद्धमार्ग कालोपत्रे १ करोड ६० लाख र चालु खर्चमा ११ करोड ६६ लाख २८ हजार ५ सय लगाएतका बजेट कार्यक्रम पास गरेको छ । बजेटमा बालबालिका, जेष्ठ नागरिक, महिला, अपांग, दलित, आदिवासी जनजाती, नगरको पहिलो जाती धिमाल जाती, बालिकासंग उपमेयर, मिडिया प्रवद्र्धन, भाषा कला साहित्य, मठमन्दिर, युवा लक्षित सिप मूलक तालिम लगाएतका कार्यक्रमहरुलाई पनि समावेश गरिएको छ ।

सभाले कर्मचारी व्यवस्थापन (सेवा, शर्त सम्बन्धी) ऐन र कोभिड १९ संक्रमण रोकथाममा खटिने स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई प्रदान गरिने जोखिम प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि पनि पारित गरेको छ । योसंगै नगरसभाले आर्थिक विधेयक र विनियोजन विधेयक पनि पारित गरेको छ ।

नगरले आउने आर्थिक वर्ष देखि कृषि क्षेत्रको सिफारिलाई निःशूल्क बनाउने निर्णय गरेको नगर प्रमुख दिलिप कुमार राईले बताउनुभयो । यसका साथै विपन्न विद्यार्थी सिफारिस, अपांगता, विपन्न प्रमाणित, निःशूल्क स्वास्थ्य उपचार, कोर्टफि मिनाहा, मृत्यु प्रमाणित, बैदेशिक रोजगारीका शिलशिलामा मृत्यु भएको व्याक्तिको सिफारिस, घरटहरामा आगलागी, विपद सम्बन्धी सहुलिएत काठको सिफारिस लगाएतलाई अघिल्लो वर्ष देखि नै निःशूल्क गर्दै आएको जनाइएको छ ।

यस्तै कृषिका लागि विद्युत मिटर, वंशजको नागरिकता, छात्रवृत्ति, स्वदेशी नावालक परिचय पत्र, कोठा खोल्ने रोहबरको दस्तुर पनि निःशुल्क रहेको राईले जनाउनुभयो । आगामी दिनमा नगरको विकासका लागि सबैको साथ र सहयोग गर्न पनि राईले अनुरोध गर्नुभयो ।

सम्बन्धित खवर