कांग्रेसको माग : १ घर १ पिसिआर टेस्ट

कांग्रेसको माग : १ घर १ पिसिआर टेस्ट

पोखरा : नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले मंगलबार मुख्यमन्त्री मार्फत् प्रधानमन्त्रीलाई २१ बुँदे ज्ञापन पत्र बुझाएको छ । दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोलीले मंगलबार बिहान मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पुगेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापन पत्र बुझाएको हो ।

तत्काल आरडिटी परीक्षण रोक्न माग गर्दै ज्ञापनत्रमा कोभिड रोकथामका लागि गरिएको खर्च नियमित र पारदर्शी बनाउन सरकारसँग आग्रह गरिएको छ ।

मृत्युपछि परीक्षण गर्ने प्रक्रियालाई निरुत्साहित गरी देशैभर १ घर १ पिसिआर टेस्टको माग कांग्रेसले गरेको छ ।

डेडिकेटेड अस्पताल र आइसोलेसन वार्डमा भेन्टिलेटर र आइसियु लगायत अत्यावश्यक स्वास्थ्य पूर्वाधार, उपकरण, सामग्री र जनशक्तिको तत्काल व्यवस्था गर्न ज्ञापनपत्रमार्फत सुझाव दिइएको ।

दलले नियमित रुपमा सरकारलाई सुझाव र सल्लाह दिँदै आए पनि सरका बोली मात्र रहने आत्मुग्ध भएर स्वप्रंशसामा रमाउने, निर्णय गर्ने तर लागु नगर्ने निर्देशन दिने तर कार्यान्वयन नगर्ने गरेको भन्दै ज्ञापनपत्रमा यसप्रति खेद जनाइएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘प्रतिपक्षको सकारात्मक सुझावलाई आत्मसात गरी व्यवहारमा उतार्न देखाएको उपेक्षा चिन्ताजनक र खेदजनक छ ।’

आगामी दिनमा परिणाम आउने गरी ,स्पष्ट महसूस हुने गरी कोभिड १९ को समस्यालाई समाधान गर्ने गरी सरकारले आफ्नो कर्तव्य पूरा नगरे, नागरिकको स्वास्थ्य र जीवन रक्षाप्रति सरकार संवेदनशील नभएमा नेपाली कांग्रेस संसद र सडकमा प्रदेशका जनताको रक्षाको लागि कडा रुपमा प्रस्तुत हुन वाध्य हुने चेतावनी दिइएकाे छ ।

विपदको यो असाधारण परिस्थितिमा कृषकलाई आवश्यक मल, बिउ र प्राविधिक सहयोग निशुल्क उपलब्ध गराउन, कृषकको उत्पादनको सहज बजारीकरण वा खरिद गर्ने व्यवस्था गर्न दलले माग गरेको छ ।

‘उद्योगी व्यवसायीहरुले राहत महसुस गर्ने गरी बैंकको ब्याजदरमा कटौती, करमा छुट, ऋणको व्याजलाई पुनर्तालिकीकरण गरी ब्याज र किस्ता तिर्न सरल र समयावधि बढाउनेतर्फ सकारात्मक सम्बोधन गरियोस,’ ज्ञापन पत्रमा भनिएको छ ।

दलका नेता कृष्णचन्द्र नेपालीले उद्योग र व्यवसायमा सम्बद्ध मजदुरहरुको दैनिक गुजारको माग समेत गरिएको बताए ।

कोभिड १९ का कारण अति प्रभावित भएको कृषि क्षेत्र, उद्योग व्यवसायलाई जीवित राख्न संघ सरकारले आवश्यक आर्थिक प्याकेज ल्याउने व्यवस्था गर्न प्रमुख प्रतिपक्षी दल कांग्रेसको आग्रह छ ।

ज्ञापनपत्र बुझाउन गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने कांग्रेसका १५ जना सांसद पुगेका थिए । ६० सदस्यीय संसदमा कांग्रस सांसद १५ जना नै हुन् ।

ज्ञापनपत्र ग्रहण गर्दै मुख्यमन्त्री गुरुङले प्रमुख प्रतिपक्षी दलको सुझाव र सल्लाहलाई ग्रहण गर्दै सरकार अगाडि बढिरहेको बताए । काम गर्ने सिलसिलामा कतिपय अवस्थामा कमजोरी भएको भए सच्याएर अगाडि बढ्ने प्रतिबद्धता उनले जनाएका छन् ।

ज्ञापन पत्रकाे पूर्णपाठ

सम्माननीय प्रधानमन्त्री ज्यू मिति
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय
सिंह दरवार काठमाडाैं ।
मार्फत
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय
गण्डकी प्रदेश पोखरा ।

विषय – ज्ञापन पत्र

विसं २०७६ साल माघ ९ गते कोभिड १९ को पहिलो संक्रमीत भेटिए पछिको करिव पांच महिनाको अवधिमा नेपाल संक्रमितको संख्या ६२११ र मृत्यु संख्या १९ पुगेको छ भने गण्डकी प्रदेशमा समेत संक्रमितको संख्या गुणात्मक रुपमा बढेर २०५ पुगेको छ ।

नेपाल बाहिर करिब १२५ नेपालीको मृत्यु भएको छ भने पन्ध्र हजारको संख्यामा संक्रमित छन् ।

कोभिड १९ को कारण मृत्युवरण गर्ने सम्पूर्ण नेपालीदिदी, बहिनी,दाजु, भाइहरु प्रति नेपाली कांग्रेस संसदीयदल गण्डकी प्रदेश हार्दिक श्रदासुमन अर्पण गर्दछ र संक्रमित सवैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

महामारीको यस विषम परिस्थितिमा पनि जीवनको समेत परवाह नगरी नेपाली जनताको अत्यावश्यक स्वास्थ्य र उपचारको लागी अनवरत खीिरहनु हुने स्वास्थ्यकर्मीहरु प्रति उच्च सम्मान र कृतज्ञता व्यक्त गर्दछौं । त्यस्तै गरी
कोभिड १९ को नियन्त्रण र जनहितका लागि मोर्चामा खटीनु हुने सफाईकर्मी, एम्बुलेन्स चालक÷कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, लगायत सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दछौं ।

गण्डकी प्रदेशको सर्वांगीण विकास र उन्नति हेतु प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसले प्रदेश सरकारलाई निःशर्त सहयोग गरिरहेको छ । यसै शृंखलामा लकडाउनको प्रतिकूल परिस्थितिमा पनि कांग्रेस संसदीयदलले भर्चुअल बैठक बसी गण्डकी प्रदेशलाई कोरोनाबाट सुरक्षित राख्न र यसबाट उत्पन्न समस्यासंग जुध्न विभिन्न उपाय सहितको पटक–पटक लिखित तथा मौखिक सुझाव दिइँदै आएको र यस महामारीसँग लडन सरकार सँगै रहने र सरकारलाई सहयोग गर्ने गरेको तथ्य सर्वविदितै छ ।

सरकार बोली मात्र रहने, आत्ममुग्ध भएर स्वप्रशंशामा रमाउने, निर्णय गर्ने तर लागु नगर्ने, निर्देशन दिने तर कार्यान्वयन नगर्ने, प्रतिपक्षको सकारात्मक सुझावलाई आत्मसात गरी व्यवहारमा उतार्न देखाएको उपेक्षा चिन्ताजनक छ, खेदजनक छ ।

आगामी दिनमा परिणाम आउने गरी, स्पष्ट महसूस हुने गरी कोभिड १९ को समस्यालाई समाधान गर्ने गरी सरकारले आफ्नो कर्तव्य पूरा नगरे, नागरिकको स्वास्थ्य र जिवन रक्षाप्रति सरकार संवेदनशील नभएमा नेपाली कांग्रेस संसद र सडकमा प्रदेशका जनताको रक्षाको लागि कडा रुपमा प्रस्तुत हुन वाध्य हुनेछ ।

कोभिड १९ को महामारी नियन्त्रण गर्न यसको अल्पकालिन र दीर्घकालिन नकारात्मक प्रभाव न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्वोधन गराउन प्रदेश सरकारले तत्काल चाल्नु पर्ने कदमका लागि निम्न सुझावहरुलाई गम्भीरतापूर्वक लिई शीघा्रतीशीघ्र कार्यन्वयनको लागी जोडदार माग गर्दछौं ।

१) आरडिटीको सफलता दर ०.३२५ भन्दा कम भएको र विश्व स्वास्थ्य संघले समेत अनुपयुक्त ठहराएकोले यसको प्रयोग रोकिनु पर्दछ ।

२) लकडाउनको करिब ८५ दिन सम्म नेपालमा १ लाख ३८ हजार ६ सय ८३ मात्र पिसिआर परीक्षण भएको र गण्डकी प्रदेशमा पिसिआर टेस्टमध्ये ६ हजार ६७ को मात्र नतिजा आउनु अत्यन्त दुःखद छ । पिसिआर टेस्टको संख्या व्यापक रुपमा बढाइयोस ।

पहिलो चरणमा देशको सबै जिल्लामा न्यूनतम एक पिसिआर टेस्ट मेसिनको व्यवस्था गरियोस् र दोश्रो चरणमा प्रत्येक पालिकामा न्यूनतम एक पिसिआर टेस्टिङ मेसिनसहितको ल्याबको व्यवस्था गरियोस्् ।

३) नेपालमा धेरै क्वारेन्टिनमा उपयुक्त व्यवस्था नगरिएको र संक्रमित तथा असंक्रमित सबैलाई सामूहिक रुपमा सँगसँगेै राखिँदा असंक्रमितमा पनि संक्रमण बढेको दृष्टान्तलाई मध्यनजर गरेर मापदण्ड अनुसारको व्यवस्थित क्वारेन्टिनको व्यवस्था गरियोस्् ।

पार्टी प्यालेस, सरकारी विद्यालय, गाउँपालिका, सामुदायिक भवन लगायतका स्थानहरुमा जहाँ शौचालय, सुत्ने कोठा लगायतका आवश्यक सुविधा धेरै व्यक्तिले सामूहिक रुपमा प्रयोग गर्दा संक्रमण व्यापक रुपले फैलिने सम्भावनालाई विचार गरेर उपयुक्त व्यवस्था गरियोस् ।

४) क्वारेन्टिनमा रहेको व्यक्तिलाई आवश्यक दिनसम्म त्यहाँ राख्ने, रहने बेला सम्म अत्यावश्यक सुविधा उपलव्ध गराउने, समयमै परीक्षण गर्ने र यथाशीघ्र परिणाम बताउने व्यवस्था गरियोस् । क्वारेन्टिनबाट मानिस भाग्ने, आत्महत्या गर्ने, बस्न नचाहने समस्याको कारण खोजी समयमै निदान गरियोस् ।

५) क्वारेन्टिनमा बस्ने महिलामाथि हुने यौन हिंसा, बलात्कार जस्ता घटनाका दोषीलाई कडा कारवाही गरी महिलाहरुको आत्म सम्मान, गरिमा र सुरक्षाको आवश्यक प्रवन्ध गरियोस् ।

६) डेडिकेटेड अस्पताल र आइसोलेसन वार्डमा भेन्टिलेटर र आइसियु लगायत अत्यावश्यक स्वास्थ्य पूर्वाधार, उपकरण, सामग्री र जनशक्तिको व्यवस्था तत्काल गरियोस् ।

७) कोभिड १९ मा प्रथम मोर्चामा खटिनु हुने स्वास्थ्यकर्मी लगायत सबैको लागि आवश्यक संख्यामा पिपिई, मास्क, पञ्जा, लगायतका व्यक्तिगत सुरक्षण सामाग्रीको व्यवस्था तत्काल गरियोस् ।

८) स्वास्थकर्मीको बिमा गर्ने घोषणा तत्काल कार्यन्वयन गरियोस् ।

९) मृत्यु भएपछि परीक्षण गर्ने प्रक्रियालाई निरुत्साहित गरी
देशैभरी एक घर एक पिसिआर टेस्टको व्यवस्था गरियोस् ।

१०) कोभिड १९ बाट मृत्यु हुनेको परम्परागत रुपमा गरिने दाहसंस्कारका लागि उपयुक्त स्थान चयन र शव व्यवस्थापनको आवश्यक व्यवस्था तत्काल गरियोस् ।

११) एम्बुलेन्सले कोरोनाको आशंकामा सेवा दिन आनाकानी गरिरहेको सन्दर्भमा त्यस्ता बिरामी बोक्ने पर्याप्त संख्यामा एम्बुलेन्सको व्यवस्था गरियोस् ।

१२) कोभिड १९ बाहेक अन्य बिमारी, रोगी, गर्भवती महिला, दीर्घ रोगीहरुको सहज रुपमा उपचारको व्यवस्था गरियोस् ।

१३) राहत पाउनु पर्ने सवै मानिसलाई आवश्यकताको आधारमा न्यायपूर्ण ढंगले राहत वितरण गर्नु पर्नेमा सत्तापक्षीय र राजनीतिक दबाबको आधारमा राहत वितरण गर्ने गरी राहतमा राजनीति भइरहेको छ । एकद्वार प्रणालीको नाममा राहत वितरणमा व्यापक भेदभाव र दुरुपयोग भएको छ । यस्तो निन्दनीय कार्यलाई तत्काल रोकेर न्यायपूर्ण तरिकाले विवेक सम्मत रुपमा वितरण गर्ने व्यवस्था गरियोस् ।

१४) नेपाल फर्कन चाहेका विदेशमा रहने देशका नागरिकहरुका लागि उपयुक्त व्यवस्था गर्न र हवाई भाडा लगायतका अन्य खर्चको ब्यवस्था गर्न नसक्नेको लागि सरकारले उपयुक्त व्यवस्था गरोेस् ।

स्वास्थ्य सामग्री, उपकरण खरिददेखि सम्पूर्ण क्षेत्रमा संस्थागत भ्रष्टाचार भइरहेको बेला विदेशमा दुखमा परेका नेपालीलाई नेपाल ल्याउँदा हवाई भाडामा व्यापक अनियमितता भइरहेको हुँदा कात्रोमा पनि भ्रष्टाचार गर्ने आसुरी प्रवृतिका जिम्मेवार निकाय र व्यक्तिबाट जनता नठगिने जिम्मेवारी सरकारले लियोस ।

१५) विदेशमा आम माफी पाएका नेपालीहरुका लागीे कानुनी रुपमा बस्ने र काम गर्ने व्यवस्थाको लागी सम्वन्धित देशको सरकारसँग समन्वय गर्न पहल गर्ने । फर्कन नचाहने वा त्यस्तो परिस्थिति नभएको कारणले विदेशमै बस्नुपर्ने नेपालीको लागि सहज जीवन यापन लगायत अन्य उपयुक्त व्यवस्थाको लागि सम्वन्धित देशका सरकारसँग कुटनीतिक पहल गर्ने व्यवस्था गरियोस्् ।

१६) कोभिड १९ कोषमा जम्मा भएको रकम, सरकारी ढुकुटीबाट खर्च गरिने रकमको विश्वसनिय पारदर्शीता कायम गरियोस्् ।

१७) लकडाउनको परिपालन, नियमनको व्यवस्था गरियोस्् ।

१८) बजारको नियमन गरी कालो बजारी गर्न नदिन र अस्वभाविक मूल्य वृद्धि रोक्न उपयुक्त संयन्त्रको व्यवस्था गरियोस्् ।

१९) विपतको यो असाधारण परिस्थितिमा कृषकलाई आवश्यक मल, विउ, र प्राविधिक सहयोग निःशुल्क उपलव्ध गराइयोेस् । कृषकको उत्पादनको सहज बजारीकरण वा खरिद गर्ने व्यवस्था तत्काल गरियोस्् ।

२०) उद्योगी व्यवसायीहरुले राहत महसुस गर्ने गरी बैंकको ब्याजदरमा कटौती, करमा छुट, ऋण व्याजलाई पुनर्तालिकीकरण गरी ब्याज÷किस्ता तिर्न सरल र समया वधि बढाउने तर्फ सकारात्मक सम्बोधन गरियोस् । उद्योग र व्यवसायमा सम्बद्ध मजदूरहरको दैनिक गुजाराको व्यवस्था गरियोस्् ।

२१) कोभिड १९ कारण अति प्रभावित भएको कृषि क्षेत्र, उद्योग, व्यवसाय लगायतलाई जीवित राख्न संघ सरकारले आवश्यक आर्थिक प्याकेज ल्याउने व्यवस्था गरोस ।

मा.कृष्णचन्द्र नेपाली पोखरेल
नेता
गण्डकी प्रदेश संसदीय दल
नेपाली कांग्रेस

सम्बन्धित खवर