कोरोना महामारीले समस्यामा परेकालाई घर घरमै नगद र खाधान्न

कोरोना महामारीले समस्यामा परेकालाई घर घरमै नगद र खाधान्न

पोखरा, पंचासे हर्पन डाँडा समाज युकेले कोरोना महामारीका कारण समस्यामा परेकाहरुको लागि दोश्रो चरणमा राहत स्वरुप नगद र खाधान्न सामाग्री वितरण गरेको छ । कास्कीको पोखरा महानगरपालिका २३ मा पर्ने पर्यटकीय स्थल पंचासे डांडा नजिकका दमदमे, सिधाने, कुद्बीडाँडा र मकानपुर गाउंबाट बेलायतमा गएर विभिन्न पेशा र व्यवसायमा संलग्नहरुले झण्डै एक दशक अगाडी समाजको स्थापना गरेका थिए ।

समाजले पहिलो चरणमा उल्लिखित चारवटा गाउँमा पुगेर ८० परिवारलाई करिव २ लाख ४० हजारको खाधान्न सामाग्री राहत स्वरुप वितरण गरेको थियो । हाल दोश्रो चरणमा ति गाउँबाट पोखरा आएर बसोबास गर्ने तर कोरोनाका कारण समस्यामा परेका १७ परिवारलाई करिब ९० हजार रुपैया बराबरको नगद र खाधान्न सामाग्री वितरण गरिएको छ ।

राहत वितरणमा समाजका महासचिव प्रकाश गुरुङ र समाजका सदस्यहरु धर्मवती गुरुङ, संगीना गुरुङ, मन देवी गुरुङ सहित पोखराका निर्माण व्यवसायी ठाकुर गुरुङ र अग्रज पत्रकार एवं स्कुल अफ डेमोक्रेसीका गण्डकी प्रदेश समितिका अध्यक्ष गंगाधर पराजुली समेत सहभागी थिए ।

समाजका महासचिव र सदस्यहरु चारै जना लकडाउनका कारण बेलायत फर्किन नपाएपछि पोखरामा बसेर राहत वितरण लगायतका सामाजिक काममा जुटिरहेका छन् ।
मंगलवार पनि टोलीले पोखराको छोरेपाटन, पृथ्वीचोक, लालीगुरांस टोल, लेकसाईड, विरौटा, लामाचौर लगायतका क्षेत्रमा गाउँबाट आएर बसोबास गर्दै आएका दलित, विपन्न र असहाय परिवारलाई घरघरमै पुगेर राहत वितरण गरिएको थियो ।

त्यस क्रममा पोखराको बिरौटमा भाडामा बस्दै गरेकी चीज कुमारी गुरुङलाई नगद ३० हजार रुपैया र खाधान्न सामाग्री वितरण गरिएको थियो । आफ्नो श्रीमानको रहस्यमय मृत्यु पछि होटलमा सामान्य काम गरेर चार जना छोरीहरु सहित बस्दै आएकी उनले श्रीमानको मृत्युपछि घरपरिवारबाट समेत कुनै सहयोग नपाएको भन्दै दुखेसो गरेकी थिईन ।
यसैगरि पृथ्वीचोक क्षेत्रमा सुकुम्बासी टोलमा बस्ने जौमाया गुरुङ लाई नगद १० हजार रुपैया सहित खाधान्न सामाग्री वितरण गरिएको थियो ।

लालीगुरास टोलमा बस्ने वृद्धा मिन कुमारी घलेका श्रीमान ४० वर्ष अगाडीबाट सम्पर्क विहिन (वेपत्ता) रहेको भएपनि एकल महिलाले पाउने भत्ता पाउन सकेकी छैनन् । उनको छोरा बुहारीबाट एक छोरीको जन्म भएपछि छोराको मृत्यु भएको र बुहारीले पनि घर छोडेर अन्यत्र हिंडेपछि वृद्ध हजुरआमा र नातिनी सलिना घले मात्र परिवारमा छन् । सलिनाले कक्षा १२ उत्तिर्ण गरेको भएपनि आर्थिक अभावका कारण पढाईलाई निरन्तरता दिन नसकेको बताएपछि टोलीले उनको अध्ययनका लागि सहयोग गर्न पहल गर्ने आश्वासन समेत दिएको छ । राहात सामाग्री वितरण गर्नुपर्नेहरुको छनौटका लागि विष्णु पौडेल, सविन गुरुङ, शिव घले लगायतले सहयोग गरेका थिए ।

समाजले आफ्नो गाउँ क्षेत्रबाट पोखरा आएर बसेकाहरुको वास्तविक समस्याबारेमा जानकारी लिने अनि राहत पाउनेहरुलाई गर्मी र वर्षाका कारण समस्या नहोस भन्ने उद्देश्यले उनिहरु बस्ने ठाउँमा नै राहत सामाग्री पुर्याएको समाजका महासचिव प्रकाश गुरुङले जानकारी दिए ।

सम्बन्धित खवर