ललितपुर, बन्दाबन्दीका बेला महिला तथा बालिकामाथि हुनसक्ने हिंसा/अन्य जोखिमको अवस्था र यसको सम्बोधनका लागि आवश्यक पहलहरु विषयमा आज पत्रकारसँग भर्चुअल अन्तरक्रिया भएको छ ।
ओरेक नेपालको आयोजना र संचारिका समूहको समन्वयमा भएको अन्तरक्रिया कार्यक्रममा बन्दाबन्दीको अवधिमा परिवारका सदस्यसंगै बस्नुपर्दा श्रीमान्, सासूससुरा र परिवारका अन्य सदस्यबाट माया पाउनु पर्नेमा उल्टै महिलामाथि हत्या, हिंसा बढेको सम्बन्धमा छलफल भएको थियो । हिंसा गर्ने व्यक्ति आफ्नै परिवारको सदस्य हुँदा उविरुद्ध उजुरी दिन, आवाज उठान समस्या भएको र केही गरि उजुरी दिँदासमेत प्रहरीले बन्दाबन्दीलाई बहाना बनाएर उजुरी दर्तासम्म नगर्ने गरेको विषयमा पनि छलफल भएको संचारिका समूहका अध्यक्ष नितु पण्डितले जानकारी दिइन् ।
भर्चुअल कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै ओरेक नेपालका वरिष्ठ कार्यक्रम संयोजक संजिता तिम्सिनाले बन्दाबन्दी शुरु भएपछि अदालतहरु बन्द रहँदा सोझै अदालत जाने मुद्दाहरु कानूनी प्रक्रियामा जान नसकेको, सरकारले गरेका प्रयास र बन्दाबन्दीको समयमा उजुरी गर्न सकिने प्रक्रियाका बारेमा प्रयाप्त सूचनाको अभाव हुँदा हिंसापीडितलाई न्याय पाउन मुस्किल भएको, हिंसा गर्ने व्यक्तिविरुद्ध उजुरी गर्न घरबाहिर निस्कने अवस्था नरहेको र घरबाटै उजुरी गर्दा थप जोखिम हुने भएकाले अधिकांश हिंसाका घटना लुकेर रहेको बताइन् ।
यस्तै अन्तरक्रियाका सहभागीहरुले सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि घर, टोल र समुदायमा सचेतना फैलाउँदा महिला र बालिकामाथि हुने हिंसाविरुद्ध पनि सचेतना फैलाउन पर्ने, घरभित्रको काम महिलाको मात्रै जिम्मेवारी नहुने, यसमा परिवारका पुरुषको विशेष जिम्मेवारी हुने भएकाले कामको बाँडफाँड गर्नुपर्ने, हिंसाविरुद्ध सरकारले गरेका सकारात्मक कामको समुदायस्तरमा प्रचारप्रसार हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा ओरेक नेपालका गार्डिका बर्जाचार्य, सबिता पोखरेल, संचारिकाका उपाध्यक्ष कमला पन्थी, सदस्य बिमला भण्डारी, पत्रकार पुनम पौडेल, गिता चिमोरिया लगायतले धारणा राखेका थिए ।