पोखरा : पोखरा अन्तराष्ट्रिय विमान स्थलमा बम विष्फोट हुदा दर्जनौ घरहरुमा क्षति भएको छ । नेपालको राष्ट्रिय गौरवको आयोजना मध्ये एक रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नका लागि विष्फोटन गराउँदा विमान स्थल वरिपरि रहेको घरहरु चर्किएको छ । उक्त घटनालाई लिएर पिडित भएका स्थानियहरु आन्दोलित भएको छ ।
विमान स्थल बनाउनको कार्य छिटो गर्नका लागि विमान स्थलमा रहेको ठुला चट्टानहरुलाई सजिलै सगँ फोड्न विष्फोट गराउनु परेको थिायो । उक्त विष्फोटको कारणले गर्दा स्थानीयहरुको सानो देखि ठुलो घरहरु चर्किएको छ । यसै विषयलाई लिएर पोखरा महानगरपालिका वडा नं. १४, हवेली मार्गका स्थानीयहरू नारा जुलुससहित आन्दोलनमा उत्रिएका हुन् । विमान स्थलमा रहेका ठुला चट्टनहरुलाई फोडन विष्फोटको सट्टामा ड्रिलिङ्ग गरेर कार्यलाई अगाडी बढाउन स्थानिय जनप्रतिनिधीहरु सहित स्थानीयहरुले विमान स्थल निर्माण आयोजना सँग पटक पटक वार्ता गरेको थियो । तर आयोजना पक्षले स्थानीहरुको मागलाई कुनै वास्ता नै नगरि विष्फोट गर्दा घरमा क्षति हुदा स्थानीयहरुले संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका छन ।
पिडित स्थानीयहरुले आफूहरू विकास विरोधी नभएको तर विमानस्थलका लागि आफूहरूको उठिवास लाग्न नहुने बताएका छन् । उनीहरू घर चर्किएपछि आफूहरू निकै तनावमा रहेको बताएका छन् । स्थानीय मोहन गिरीले विमानस्थलका लागि विष्फोट गराउँदा आफूहरूको मानसिक सन्तुलनमा समेत खलल पुगेको भन्दै आक्रोश व्यक्त गरे । उनले विष्फोटनको विकल्प रोज्न जिल्ला प्रशासन, वडा कार्यालय र आयोजना प्रमु्खसंग पटक पटक संवाद र छलफल गरे पनि वेवास्ता गरिएको बताए ।
त्यस्तै अर्का स्थानीय मिनु कंडेल लामिछानेले विष्फोन नगर्नुस्, विकल्प खोज्नुस भन्दा पनि विमानस्थल पक्षले नटेरेको बताइन् । यसरी एकैपटक धेरै मात्रामा विष्फोट गराउँदा आफूहरूको घर कामै नलाग्ने अवस्थामा पुग्न लागेको बताइन् । यस्तो घटना नहुन दिनको लागि पोखरा महानगरपालिका वडा नं. १४ का जनप्रतिनिधि जितेन्द्र जंग थापाले विमानस्थलको चट्टान ब्रेकरले पनि फुटाउन सक्ने भन्दै विष्फोटको विकल्प खोज्नुपर्ने बताए । उनले विष्पोट गराउँदा हुने असरबारे आयोजना पक्षले सोच्नुपर्ने खाँचो औंल्याए ।
यता, भने विमानस्थल निर्माण आयोजना प्रमुख ईन्जिनियर विनेश मुनंकर्मीको अनुसार विमानस्थलमा अझै पनि चार टन विष्फोटक पदार्थ बाँकी रहेको छ तर आवश्यक परेको ठाँउहरुमा मात्र विष्फोट गराएर काम अगाडी बढाईरहेको छ । स्थानीहरुले भने जस्तो क्षति हुने गरि विष्फोट भएको छैन । यस विषयलाई स्थानिय तथा आयोजना पक्षविच समझदारी गराउन कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले समन्वय गरिरहेको बताए । विमन स्थलको कार्य गर्न विष्फोट गराउँदा स्थानीयको घरमा क्षति भएमा विमानस्थल आयोजना पक्षले क्षतिपूर्ति दिनुपर्ने र स्थानीयले काममा अवरोध गर्न नमिल्ने प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले स्पष्ट पारे ।
विमानस्थल निर्माणको काम अहिलेसम्म ६० प्रतिशत सकिएको छ । आगामी २०२१ जुलाईसम्ममा निर्माण कार्य सक्ने लक्ष्य भए पनि लकडाउनका कारण निर्माण सामग्री र कामदारको अभावमा यसमा धक्का पुग्ने देखिन्छ ।हाल विमानस्थल भित्रै रहेका ८५ जना नेपाली र २५० जना चाइनिज कामदारले मात्र काम गरिरहेका छन् । आयोजना निर्माण शुरु भएको छोटो समयमै उल्लेख्य काम भएको विमानस्थलमा सन् २०२० को अन्त्यसम्ममा सबै काम सम्पन्न गरी २०२१ को जुलाईसम्ममा अन्तर्राष्ट्रिय जहाज पोखरामा ल्याण्ड गर्ने लक्ष्य निर्माण कम्पनीले राखेको थियो ।
विमान स्थल निमार्ण गर्न विभिन्न किसिमका समस्या जस्तै कहिले मुआव्जा, कहिले सिंचाइ लगायत विविध विवादबाट पन्छिदै तीव्रगतिमा निर्माण भइरहेको विमानस्थल निर्माणमा विष्फोटको प्रकरणमा पुनः अर्को विवाद शुरु भएको छ । यसमा आयोजना पक्ष, स्थानीय र प्रशासनले बेलैमा समन्वय गर्न आवश्यक देखिन्छ ।