पथरी, कोरोना भाइरसको दिनदिनै जोखिम बढिरहेपछि स्वास्थ्य सतर्कता अपनाउन झनै आवश्यक रहेकाले नगर कार्यपालिकाले गरेको पसलहरु वन्द गर्ने निर्णयप्रति अन्यौलमा नपर्न पथरी शनिश्चरे नगरपालिका कार्यालयले अनुरोध गरेको छ ।
पथरी शनिश्चरेको नगर कार्यपालिकाको हिजोको बैठकले नगरमा समेत कोरोनाको जोखिम बढेको अवस्थामा बाध्यात्मक परिस्थिती अनुरुप तत्कालका लागि जेठ १० गतेसम्म औषधि पसल र अस्पताल बाहेकका सवैखाले पसल वन्द गर्न निर्णय गरेको थियो । जसमा, १० गतेपछिको अवस्थामा सर्वपक्षीय नगरस्तीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिमार्फत अतिआवश्यकीय सामग्री सहितका पसल के कसरी सञ्चालन गर्ने भन्ने बारेमा निष्कर्ष निकालिने कुराको निर्णय भएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो । उहाँले यस विषयमा अन्यौलमा नपर्न र कोरोना संक्रमणबाट जोगिने उपाय निकाल्नु नै अहिलेको सर्वोपरी प्रमुख आवश्यकता रहेकाले तत्कालका लागि पसल व्यवसाय वन्द गरेर आफुपनि बाँच्ने र अरुलाई पनि बचाउने कार्यमा लाग्न नगरवासीमा अनुरोध गर्नुभयो ।