प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत तनहुँमा साइकल लेन निर्माण शुरु

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत तनहुँमा  साइकल लेन निर्माण शुरु

तनहुँ  : तनहुँको बन्दीपुर गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ गरिएको छ । ‘सबैका लागि रोजगार, संवैधानिक अधिकार’ भन्ने मूल नाराका साथ सरकारले गत वर्षदेखि शुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाले चालू आर्थिक वर्षका लागि सोमबारदेखि कार्यक्रम शुभारम्भ गरेको हो ।

कार्यक्रमअन्तर्गत गाउँपालिकामा साइकल लेन निर्माणको थालनी गरिएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित गाउँपालिकाले बन्दीपुर गाउँपालिका–४ र ५ मा अवस्थित रानीवन क्षेत्रमा साइकल लेनको खोजी गरेको थियो । साइकल लेन बनाउनका लागि रोजगार कार्यक्रममार्फत २७ जनालाई खटाइएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो ।

साइकल लेन निर्माणका लागि १७ पुरुष र १० महिला खटाइएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सावधानी अपनाएर काम शुरु गरिएको थापाले जानकारी दिनुभयो । “बन्दीपुर पर्यटन गन्तव्यका रूपमा विकास भइरहेको छ, यहाँभित्र नयाँ–नयाँ गन्तव्य निर्माण गर्न सकिए पर्यटनमा थप टेवा पुग्ने विश्वास गरिएको छ”, थापाले भन्नुभयो, “सोहीबमोजिम साइकल लेन निर्माणका लागि काम शुरु गरेका हौँ ।”

रानीवनको जङ्गलमा साइकल लेन बनाउनका लागि सम्भाव्यता अध्ययन गरिएको थियो । अध्ययनबाट साइकल लेन बनाउन उपयुक्त देखिएकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत यो काम शुरु गरिएको उहाँको भनाइ छ ।

गाउँपालिकाका रोजगार संयोजक शरणसिं गुरुङले साइकल लेन निर्माणका लागि बन्दीपुर गाउँपालिका–२, ३ र ४ का कामदार खटाइएको जानकारी दिनुभयो । रामकोटबाट मुकुन्देश्वरीतर्फ साइकल लेन निर्माणका लागि १२ र वडा नं ४ तर्फबाट साइकल लेन निर्माणका लागि १५ जना खटाइएको छ ।

प्रधानमन्त्री रोजगारमार्फत खटिएकालाई दैनिक रु ७०० पारिश्रमिक दिइनेछ । रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएका १४५ जना छन् । कार्यक्रमका लागि चालू आर्थिक वर्षमा सरकारले गाउँपालिकालाई रु १४ लाख ६० हजार सशर्त अनुदान दिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गाउँपालिकामा विभिन्न आयोजना सञ्चालन गरिनेछ । जसअनुसार वडा नं ५ मा गाउँपालिकासँगको लागत साझेदारीमा सडक ढलान गर्ने काम हुँदैछ । त्यसका लागि गाउँपालिकाले रु छ लाख र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रु तीन लाख लागत साझेदारी गरिँदैछ ।

त्यस्तै वडा नं ६ मा पैदलमार्ग र सिँढी बाटो निर्माण गरिने र त्यसको स्टिमेट हुन बाँकी रहेको गुरुङले जानकारी दिनुभयो । “रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएका बेरोजगारलाई नै आगामी दिनमा विभिन्न आयोजना निर्माणमा खटाउँछौँ”, उहाँले भन्नुभयो ।

पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास
साइकल लेनले गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । देश तथा विदेशमा प्रख्यात रहेको बन्दीपुरमा नयाँ–नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने उद्देश्यसहित साइकल लेन निर्माण गर्न लागिएको र यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलयात्रीलाई बन्दीपुरमा भित्र्याएर यहाँको पर्यटन प्रवद्र्धन गर्न सकिने गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो ।

साइकल लेन निर्माणपछि राष्ट्रियस्तरका साइकल प्रतियोगिता बन्दीपुरमा गर्न सकिने र यसले यहाँको प्रचारप्रसार हुने अध्यक्ष थापाको विश्वास छ । रानीवन जङ्गल र हिमशृङ्खलाको मनोरम दृश्य पनि अवलोकन गर्न सकिन्छ ।

गाउँपालिकाले विकासका लागि गुरुयोजना नै बनाएर नै अगाडि बढेको छ । गाउँपालिकाले बन्दीपुरको २० वर्षे गुरुयोजना तयार गरिसकेको छ । काठमाडौँ, पोखरा र सौराहाजस्ता पर्यटकीय केन्द्रहरुको बीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रहरुको पनि केन्द्रका रूपमा विकास गर्ने गाउँपालिकाको सोच लिइएको छ ।

बन्दीपुर आफैँमा एउटा प्राकृतिक सौन्दर्यता र पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकाले यसलाई संरक्षण, संवद्र्धन र विकास गरी यो क्षेत्रको प्रमुख आयस्रोत नै पर्यटन बनाउने योजनासहित गाउँपालिकाले कार्यक्रमहरु अगाडि बढाउने थापाले जानकारी दिनुभयो ।

सोहीबमोजिम गाउँपालिकाले वडा नं २ स्थित थानीमाई मन्दिरबाट पदमार्ग पर्खाल निर्माण शुरु गरिसकेको छ । चीनमा रहेको विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी गत वर्षदेखि नै पदमार्ग पर्खाल निर्माणको काम भइरहेको छ ।

गत आर्थिक वर्षमा रु १० लाखको लागतमा ३०० मिटर पदमार्ग पर्खाल निर्माण सम्पन्न भएको र चालू आवमा रु ६० लाखको लागतमा एक हजार ३०० मिटर पदमार्ग पर्खाल निर्माण गरिनेछ । करिब तीन किलोमिटर दूरी रहने उक्त पदमार्ग पर्खाल निर्माणका लागि करिब रु दुई करोड बजेट अनुमान गरिएको छ ।

गाउँपालिकाले टुँडिखेलमा सिसाको ‘दृश्यावलोकन स्तम्भ’ निर्माण गर्ने योजना अगाडि सारेको छ । सिसाको ‘दृश्यावलोकन स्तम्भ’ का लागि करिब रु तीन करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको थापाले जानकारी दिनुभयो । जमिनको सतहबाट पाँच फिट अग्लो टावर निर्माण गरेर दृश्यावलोकनको केन्द्र निर्माण गर्ने लक्ष्य राखिएको छ ।

बन्दीपुरमा ढुङ्गाले छापेको बाटोबाट सवारी साधन जान निषेध गरिएको र पुराना घर भएकाले पनि विदेशी आकर्षित हुने गरेका छन् । यहाँ रहेका परम्परागत घरका कारण यहाँको पर्यटनमा टेवा मिलेको व्यवसायीको भनाइ छ । पोखराबाट ७४ किलोमिटर र काठमाडौँबाट १४२ किलोमिटरको दूरीमा रहेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धवलागिरिलगायत हिमशृङ्खला देखिन्छ ।

भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।

सम्बन्धित खवर