लेटाङको छैटौँ नगर सभा सम्पन्न, चालु बजेट ३१ प्रतिशत मात्रै खर्च

लेटाङको छैटौँ नगर सभा सम्पन्न, चालु बजेट ३१ प्रतिशत मात्रै खर्च

भीमराज अधिकारी, पथरी

मोरङको लेटाङ नगरपालिकाको छैटौँ नगरसभा शुक्रबार सम्पन्न भएको छ । नगर सभाले पुरक बजेट तथा कार्यक्रम मार्फत ३ ककरोड ४५ लाख ७० हजारको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । हाल सम्मको चालु खर्च ३१ प्रतिशत मात्रै भएको छ ।

चालु अवस्थामा रहेको ५० करोड ८६ लाख ५७ हजार बजेट मध्ये हाल सम्म ३१ प्रतिशत मात्रै खर्च भएको प्रगति विवरण उप प्रमुख कृष्ण कुमारी पोख्रेलले प्रस्तुत गर्नुभयो । चालु अवस्थामा पूर्वाधार विकास तर्फ २० करोड ५२ लाख २७ हजार रहेकामा माघ मसान्त सम्ममा २२.८ प्रतिशत अर्थात ४ करोड ६८ लाख ११ हजार रुपैँया मात्रै खर्च भएको छ । सामाजिक विकास तर्फ १७ करोड १५ लाख १७ हाजर मध्ये ४१.४५ प्रतिशत अर्थात ७ करोड ११ लाख २ हजार मात्रै खर्च भएको छ । आर्थिक विकास तर्फ २ करोड ३१ लाख ३९ हजार मध्ये १५.०८ प्रतिशत अर्थात ३४ लाख ९० हजार खर्च भएको छ । सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २ करोड ३१ लाख ३९ हजार विनियोजन भएकामा १३.९७ प्रतिशत अर्थात ३१ लाख ५७ हजार मात्रै खर्च भएको छ । यस्तै कार्यालय संचालन तथा प्रशासनिक खर्च तर्फ ८ करोड ६१ लाख ६४ हजार विनियोजन भएकामा ४० प्रतिशत अर्थात ३ करोड ४५ लाख २४ हजार मात्रै खर्च भएको हो । यसरी हेर्दा आर्थिक वर्ष २०७६/०७७ को जम्मा बजेटमा ३१ प्रतिशत मात्रै खर्च भएको पाइएको हो । हाल सम्मको उपलब्धी हेर्दा निकै सुस्त गतिमा खर्च भइरहेको देखिन्छ ।

शुक्रबारको नगरसभाले पुरक बजेट मार्फत पूर्वाधार विकासका लागि २ करोड १६ लाख ३० हजार, सामाजिक विकास तर्फ ५९ लाख ४० हजार, आर्थिक विकास तर्फ ९ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र विकास तर्फ ४७ लाख र कार्यालय संचालनका लागि १४ लाख रुपैया विनियोजन गरेको पोख्रेलले प्रस्तुत गर्नुभयो । केही योजनाहरु सम्पन्न भएका र भुक्तानी हुन बाँकी रहेको पोख्रेलको भनाइ छ ।

कार्यक्रममा नगर प्रमुख शंकर राईले चलिरहेका योजनाहरु, आगामी दिनमा संचालन गर्नका लागि बनाइएका रणनीति तथा कार्यक्रमहरुका बारेमा प्रकाश पार्नुभयो । लेटाङमा ‘‘मेरो सुविधा कटाइदेउ, फुसको छानो हटाइदेउ’’ कार्यक्रम निकै चर्चित बनेको छ । यसको संगसंगै नगरले दमकल, सव वाहन लगाएतको व्यवस्थापनमा पनि अगाढी बढेको राईले बताउनुभयो ।

यसअघि संविधान सभा सदस्य डिक बहादुर लिम्बूले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै लिम्बूले कर्मचारीसंग समन्वय गरेर नगरको तिब्र बिकासमा जनप्रतिनिधिहरु लाग्नुपर्ने बताउनुभयो । स्थाइ सरकारको रुपमा रहेका कर्मचारीहरुसंगको टकरावले कुनैपनि हालतमा विकासले तिब्रता नपाउने लिम्बूको भनाइ थियो ।

कार्यक्रमका विशिष्ट अतिथि प्रदेश १ का सांसद उपेन्द्र घिमिरेले जनप्रतिनिधिहरुले आफ्नो मर्यादा कायम राख्नुपर्नेमा जोड दिनुभयो । नगरको विकासका लागि कुनै पाटि भन्दा पनि निस्वार्थ भावनाले सबैले लाग्नुपर्ने घिमिरेले बताउनुभयो । लेटाङको विकासका लागि सबैले एकजुट भएर अगाडी बढ्न पनि घिमिरेले अनुरोध गर्नुभयो ।

नगर सभामा नगरका सबै पाटिका प्रतिनिधिहरु, संघसंस्थाका प्रतिनिधि सहित सहभागी गराएको भन्दै सबै बक्ताहरुले नगरको प्रशंसा गरे । नेकपा, नेपाली कांग्रेस, समाजवादी पाटि लगाएत सबै प्रतिनिधिहरुले सभामा आफ्नो राय राखेका थिए ।

सम्बन्धित खवर