प्रदेशको नामाकरणका विषयमा बोलेनन मुख्य मन्त्री

प्रदेशको नामाकरणका विषयमा बोलेनन मुख्य मन्त्री

बेलबारी, मोरङको बेलबारीमा आदिवासी जनजाति महासंघ बेलबारी समन्वय समितिको आयोजनामा सुरु भएको आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सवको सुरु भएको छ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले शनिबार महोत्सवको उद्घाटन गर्नुभयो ।

आदिवासी जनजातिहरूको महोत्सवमा सहभागिहरूले मुख्यमन्त्रीले प्रदेश नं. १ को नामाकरण र प्रदेश सभाको भवनका विषयमा बोल्नु होला भनेर अपेक्षा गरेका थिए । झण्डै २२ मिनेट भाषण गर्नु भएका मुख्यमन्त्री राईले नामाकरणको विषय नै छुवाउनु भएन । पहिचान, समृद्धि र सुशासनमा केन्द्रीत रहँदै मुख्यमन्त्री राईले नेपालका विभिन्न जातिहरूका अलग अलग पहिचानलाई एउटै मैदानमा राखेर संरक्षण गर्ने अभियानले सबैलाई एकताको सुत्रमा जोड्ने बताउनु भयो ।
आदिवासी जनजातिका खानपान, संस्कृति, भेषभुषा र पहिचान एउटै थलोमा हेर्न र बुझ्न पाउने गरी महोत्सवको आयोजना भएकोमा उहाँले खुसी प्रकट गर्नुभयो । उहाँले भन्नुभयो – हाम्रो जातीय विविधताको संरक्षण नभए मुलुकको पहिचान गुम्छ । १२५ आदिवासी जनजाति र १२३ भाषा बोलिने देश नेपाल विविधायुक्त भएकोले नै संसारमा नेपालको फकर चिनारी रहेको राईको भनाई थियो ।

ठूला राजनीतिक परिवर्तनमा साझा उदेश्य प्राप्तिका लागि सहभागि भएर आन्दोलन गरेको बताउँदै त्यही आन्दोलनको प्राप्ति वर्तमान संविधान भएको उहाँको भनाई थियो । संविधानले धेरै अधिकारहरूलाई समेटेको चर्चा गर्दै मुख्यमन्त्री राईले ब्यावहारिक रुपमा समाजका विभेद र असमानताको खाडल अझै बाँकी रहेकोले ति खाडलहरू पुर्न संविधानमा दलित, महिला, मुस्लिम, आदिवासी जनजाति लगायतका संवैधानिक आयोगको ब्यवस्था गरेको बताउनु भयो ।

हिजो सरकार खोज्न सिंहदरवार जानु प¥थ्यो । आज गाउँघर र आँगनमा सरकार छन् । तिनले जनताका दुख सुखमा साथ दिइरहेका छन् । मुख्यमन्त्री राईले सरकारले सडक, विद्युत विस्तार , खानेपानी, स्वास्थ्य र शिक्षामा सबैको पहुँच पुग्ने गरि काम गरिरहेको बताउनु भयो । उहाँले संघीयताले नै आफ्नो भाषा, धर्म संस्कार र संस्कृतिको जगेर्ना गर्ने अवसर दिलाएको उल्लेख गर्नुभयो ।

आदिवासी जनजाति महासंघ बेलबारी नगर समन्वय समितिका अध्यक्ष तिलक राईको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य राजकुमार ओझा, बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुबेदी, उप प्रमुख ढाकाकुमारी पराजुली लगायतले बोल्नु भएको थियो ।

यस अघि बेलबारी नगरपालिका परिसरबाट निस्किएको १८ जनजातिको ¥याली नगर परिक्रममा गरी कार्यक्रम स्थलमा प्रवेश गरेको थियो । ¥यालीमा चौधरी, खवास, माझी, धिमाल, राजवंशी,मुडियारी, सन्थाल लगायतका आदिवासीहरूको सहभागिता थियो । त्यस्तै राई, लिम्बू,याक्खा, मगर, तामाङ, गुरुङ, सुनुवार, भुजेल, धामी लगायतका जनजातिको ¥यालीमा सहभागिता थियो ।

सहभागि सबै आदिवासी जनजातिलाई स्टल राख्न निशुल्क ब्यवस्थाा गरिएको छ । हरेक जातिले आफ्ना मौलिक पहिचान युक्त भेषभुषा, खाना, बाजा गाजा र प्रयोग गर्ने औजार प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा मौलिक सामाग्री राखे वापत सबै जातिलाई ३०/३० हजार रुपियाँ अनुदान दिइएको आयोजक समितिका अध्यक्ष तिलक राईले बताउनु भयो । महोत्सव २४ गते सम्म सञ्चालन हुनेछ ।
इनेपालपत्रबाट

 

सम्बन्धित खवर