बामदेवलाई राष्ट्रियसभामा ल्याउने तयारी

बामदेवलाई राष्ट्रियसभामा ल्याउने तयारी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभामा लैजाने निर्णय गरेको छ।

पार्टीको बुधबार बसेको सचिवालय बैठकले उनलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको हो। अब गौतम मन्त्रिपरिषद्को कोटामा राष्ट्रियसभा सदस्य बन्ने निश्चित भएको छ।

केपी शर्मा ओली नेतृत्वको नेकपाको सरकारले गौतमलाई सिफारिस गरेपछि राष्ट्रपतिले त्यसलाई अनुमोदन गर्नेछिन्। २०७४ साल मंसिरमा भएको आमनिर्वाचनमा बर्दियाबाट पराजित वामदेवलाई संविधान संशोधनमार्फत् प्रधानमन्त्री बन्ने बाटो खुला गरी राष्ट्रियसभामा लैजान खोजिँदा यसअघि व्यापक आलोचना भएको थियो।

कार्यदल भङ्‌ग

संविधान संशोधन गर्नका लागि नेकपाले बनाएको कार्यदल सचिवालय बैठकले भङ्‌ग गरेको छ।

राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउन मिल्ने गरी संविधान संशोधन गर्न नेता माधवकुमार नेपालको संयोजकत्वमा सुवास नेम्वाङ र खिमलाल देवकोटा सदस्य रहेको कार्यदल भङ्‌ग गरिएको नेकपाले जनाएको छ।

सम्बन्धित खवर