आधा दर्जन गोलसहित मचिन्द्र शिर्ष स्थानमा

आधा दर्जन गोलसहित मचिन्द्र शिर्ष स्थानमा

सानमिगेल मछिन्द्र क्लबले अर्को जित निकालेपछि कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको उपाधि दौड थप रोचक बन्दै गएको छ ।

दबाबमा रहेको सरस्वती युथ क्लबमाथि ६–१ को आरामदायी जित निकाल्दै मछिन्द्र केहि समयका लागि लिग अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ । ११ खेलमा मछिन्द्रको २४ अंक पुगेको छ । एक खेल कम खेलेको त्रिभुवन आर्मी क्लबको २३ अंक छ । आजै हुने खेलमा नेपाल एपिएफ क्लबलाई हराउन सके आर्मी पुनः शीर्षस्थानमा उक्लनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मछिन्द्रलाई जित दिलाउन दीपक राईले २, देवेन्द्र तामाङ , विशाल राई ‘ए’, एडिलाज सोमिडे र आन्द्रेस नियाले समान गोल गरेका थिए । ४०औं मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । रन्जित धिमालको कर्नरमा देवेन्द्र हेडमार्फत गोल गर्न सफल भएका हुन् ।

५४औं मिनेटमा दीपकले एकल प्रयासमा गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारे । विजय धिमालको लामो पासमा अफसाइड बिट ट्याप गर्दै दीपकले एक डिफेन्डर र गोलरक्षकलाई छलाउदै पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

५८औं मिनेटमा रन्जितको क्रस पासमा विशालले गोल गर्दै मछिन्द्रलाई खेलमा ३–० को अग्रता दिलाए । गोलरक्षक प्रदीप भण्डारीबाट बल खोस्दै गरेको क्रसमा विशालले क्लोज रेन्जबाट गोल गरेका थिए ।

७७ औं मिनेटमा योगेश गुरुङको फ्लिक पासमा दीपकले व्यक्तिगत दोस्रो गोल गरेपछि मछिन्द्रले खेलमा ४–० को आरामदायी आग्रता बनाएको थियो । लगत्तै दीपक पेनाल्टीमा चुके । सरस्वतीका कप्तान राज शाहीले एडिलाजा सोमिडेलाई पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा दीपकको प्रहार आकासियो ।

 

८६ औं काजिम बुसारीले पेनाल्टीमा गोल गर्दै खेललाई ४–१ को अवस्थामा पु¥याए । पिटर सेगुनले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि सरस्वतीले पेनाल्टी पाएको थियो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एडिलाजा सोमिडे गोल गर्द मछिन्द्रलाई ५–१ ले अघि बढाए त्यसपछि आन्द्रेस नियाले गोल गर्दै मछिन्द्रको ६–१ को शानदार जित पक्का गरे ।

सम्बन्धित खवर