पुल बनेपछि बाटो छोट्टियो

पुल बनेपछि बाटो छोट्टियो

खोटाङ र उदयपुरको सिमानामा १ करोड ९ लाख लागतमा १ सय ५८ मिटर लम्बाइ भएको पुल निर्माण गरिएको हो ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम र उदयपुरको लिम्चुङबुङ गाउँपालिका–१ भाते जोड्ने पुल निर्माणको जिम्मा जगदम्बा निर्माण सेवा हलेसीले लिएको थियो ।
पुल सञ्चालनमा आपछि दुई जिल्लाबीच आवतजावतका साथै दैनिक उपभोग्यवस्तु ढुवानीमा समेत सहज भएको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका वडासदस्य फलामसिं राईले बताए ।
छिमेकी जिल्ला जान तथा आउन आठ घण्टा लाग्ने समय अहिले घटेर दुई घण्टामा झरेको स्थानीय फडेन्द्रकुमार राईले बताए ।
खोटाङको सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी आसपासका गाउँमा उपभोग हुने अधिकांश कृषिउपज सुनकोशीपारीको लिम्चुङबुङ गाउँपालिका–१ भातेबाट ल्याउने गरिन्छ ।
कृषि बालीका लागि उर्बरभूमि मानिने लिम्चुङबुङ गाउँपालिकाको भातेमा उत्पादन भएको मकै, कोदो, दात, चामललगायत डुङ्गामार्फत हलेसी तार्ने गरिएको थियो ।
दुई वर्ष्भित्रै निर्माण सम्पन्न गरेर सञ्चालनमा आएको पुलमार्फत भातेमा उत्पादन भएको कृषिउपज निर्यात गर्न सकिने भएपछि कृषकसमेत उत्साहित बनेका छन् ।
पुल बहुउपयोगी भएको लिम्चुङबुङ गाउँपालिका–१ भातेका वडाध्यक्ष भीम किराँतले बताए ।
लिम्चुङबुङ गाउँपालिकाका साथै उदयपुरको उत्तरी क्षेत्रमा पर्ने अधिकांश स्थानीय तहका कुनाइघाट भएर हलेसी हुँदै मध्यपहाडी लोकमार्गमार्फत राजधानी काठमाडौँलगायत विभिन्न जिल्ला आवतजावत गर्ने गर्छन् ।
उदयपुरवासीका लागि कुनाइघाटको झोलुङ्गे पुल खोटाङको त्रिधार्मिकस्थल हलेसी आवतजावत गर्ने प्रमुख मार्ग बनेको छ ।

सम्बन्धित खवर