उपभोक्ताको माग र आवश्यकतालाई उच्च प्राथमिकतामा ः के.वि गुरुङ

उपभोक्ताको माग र आवश्यकतालाई उच्च प्राथमिकतामा ः के.वि गुरुङ

अध्यक्ष
कुल बहादुर गुरुङ (के.वि)
शान्ति सामुदायिक वन उपभोक्ता समुह
पथरी शनिश्चरे, मोरङ

सामुदायिक वनका चर्चा परिचर्चा आइरहन्छन् । मोरङमा रहेका सामुदायिक वनहरु मध्ये राष्टिय स्तरको गणेशमान सिंह राष्टिय वन पुरस्कार पाउन सफल भएको वन पनि मोरङको पथरी शनिश्चरेमा नै रहेको छ । पथरी शनिश्चरेमा रहेका ११ वटा सामुदायिक वन मध्ये शान्ति सामुदायिक वनले भने आफ्नो छुट्टै छाप बनाइरहेको छ । वन संरक्षण र सम्बद्र्धन संगसगै पर्यापर्यटनलाई पनि मुख्य प्राथमिकतामा राखेको छ । साधारणसभाको संघारमा रहेका बेला यस वनमा भइरहेका गतिविधिका बारे अध्यक्ष कुल बहादुर गुरुङसंग पत्रकार भिमराज अधिकारीले गरेको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत छ ः

हिजोआज के काममा व्यस्त हुनुहुन्छ ?

अहिले पछिल्लो समय वनको आफ्नो ९ औँ निर्वाचन अधिवेशन तथा साधारणसभा नजिकै आउदै छ । साधारणसभाका लागि आवश्यक प्रतिवेदन, छलफल यस्तै यस्तै कुरामा व्यस्त छु । साधारणसभासंगै वनको नियमित काम, पर्यटकीय क्षेत्रको व्यवस्थापन, नयाँ बन्दै गरेका संरचना सबै कुरामा ध्यान दिनुपर्छ । मेरो दैनिकी यसरी नै बित्ने गरेको छ ।

साधारण सभाको तयारी चैँ कस्तो छ ?

यो साधारणसभा मात्रै नभएर चुनावी साधारणसभा अर्थात निर्वाचन अधिवेशन पनि हो । यसरी हेर्दा हरु समय भन्दा अलिक वढी तयारी त गर्नु पर्छ नै । नियमित रुपमा बनाउनुपर्ने प्रतिवेदन, आगामी योजना तथा कार्यक्रमहरु त लगभग तयारी हुने क्रममा छन् । निर्वाचन सहितको साधारणसभा भएकाले नयाँ जिम्मेवारी, पुराना साथिहरुको सोचाइ के छ ? आम उपभोक्ताहरुको विचार के छ ? सबै कुरामा ध्यान दिनुपरेको छ । अध्यक्षको नाताले पनि मैले धेरै जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ नै त्यसको अलावा पनि साथिहरुसंगको छलफल, व्यवस्थापनका कुरा, जिम्मेवारी बाँडफाँड गर्ने कुरा, यस्तै यस्तै छ अहिलेको तयारी ।

निर्वाचन सहितको साधारणसभा रहेछ । तपाइँको पनि उम्मेद्वारी रहन्छ ?

पहिलो कुरा त मैले एक कार्यकाल अध्यक्ष पदमा जिम्मेवारी वहन गरिसकेको छु । यो अवधीमा कति समय सिक्ने क्रममा नै व्यतित भए भने जे जति भएता पनि काम गर्ने अवधी पनि रहयो । छोटो अवधीमा थुप्रै कामहरु गरेका छौँ र संगै अनुभव पनि लिएका छौँ । अब मैले अहिले नै मेरो उम्मेद्वारी घोषणा गर्ने समय भएको छैन् । हामी अझैपनि साधारणसभालाई कसरी सम्पन्न गर्ने भन्ने विषयमा नै केन्द्रीत छौँ । अब सल्लाह गर्दा नयाँ साथीहरुको चासो र आकांक्षा पनि उत्तिकै छ । यदि सबै साथिहरुको साथ र सहयोग भएको खण्डमा पूनः दोस्रो कार्यकालका लागि पनि अध्यक्ष पदमा रहने सोच बनाएको छु । हामी सल्लाहकै क्रममा छौँ । सक्षम साथिहरु आएको खण्डमा जिम्मेवारी दिनुपनि पर्छ भन्ने लाग्छ । अहिले नै मेरो उम्मेद्वारी नै घोषणा भने भएको छैन । कार्तिक ४ गतेको साधारणसभा पछि यो सबैकुराको टुङ्गो लाग्ने छ ।

पर्यापर्यटनका क्षेत्रमा पनि काम गर्दै हुनुहुन्छ । के के गर्नुभयो शान्ति सामुदायिकले पर्यटनका क्षेत्रमा ?

हाम्रो मुख्य उद्देश्य भनेको नै पर्यापर्यटनलाई अगाडी बढाउदै वन नियम अनुसार वन संरक्षण र सम्बद्र्धन गर्ने हो । शान्ति सामुदायिक वनले छोटो समयमा नै शान्ति भुल्के सिमसार निर्माण गरी संचालनमा ल्याएको छ । सो सिमसारमा अहिले पूर्वका अधिकांश मानिसहरुको जमघट हुने गरेको छ, घुम्न, विदा मनाउन, गर्मी छल्न आउने क्रम रहेको छ । सिमसारको गुरु योजना अनुसार काम भइरहेको छ । अहिले बाल उद्यान (चिल्ड्रेन पार्क) पनि धमाधम निर्माण भइरहेको छ । अबको केही दिनमा नै बाल उद्यान पनि सुचारी हुनेछ । यस अघि नै पिक्निक स्थल, बोटिङ, लगाएतका कुराहरु पुरा भइसकेका छन् । आगामी दिनमा पनि ट्रि हाउस देखि लिएर पोखरीको बिचमा निर्माणधिन रहेको क्याफे पनि सम्पन्न हुनेछ ।

तपाइले अध्यक्ष भइकन आफ्नो कार्यकालमा गरेका मुख्य कामहरु के के हुन ?

अब हेर्नुस् है अध्यक्ष भएर आएपछि कामहरु निकै गरियो । वन विकास, सामाजिक विकास यी यस्ता कुराहरु भनेको वनको अनिवार्य गर्नैपर्ने वार्षिक कामहरु हुन् । यसका अलावा पनि हामीले केही योजनाहरु ल्याएर काम गरेका छौँ । म सुरुमा अध्यक्षको जिम्मेवारीमा आउदा शान्ति सामुदायिक वनका विरुद्धमा अख्तियारमा मुद्दा थियो । त्यो मुद्दा किनारा लगाउन पहल गरेँ, संस्थाको अवस्था लथालिङ्ग थियो, संस्थाको कुनै अभिलेख थिएन, पहिला संस्थाको अभिलेख व्यवस्थापन गर्नेकाम गरेँ, वन हस्तान्तरण भएको थिएन त्यसका लागि पहल गरेँ र वन हस्तान्तरण पनि भयो । वनको अतिक्रमण ठुलो समस्याका रुपमा थियो । त्यो समस्या दीर्घकाल सम्मका लागि अन्त्य गरेको छु । खाली खोल्सा ठाउँमा वृक्षारोपण गरी हरियाली वनाइएको छ । आफ्नो सेवा क्षेत्रमा रहेका संगसंस्थाहरुलाई आवश्यक सहयोग पनि गरिएको छ । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले नै स्वीकृत गरेको वैज्ञानिक वन व्यवस्थापन, वनमा भएका सिमसार संरक्षण, पर्यापर्यटनको विकास, भुल्के शान्ति सिमसारको व्यवस्थापन र व्यावसायिक रुपमा सुचारु, बाल उद्यान निर्माणाधिन अवस्थामा रहेको छ । सो बाल उद्यानमा उपभोक्ताको नै सेयर लगानी रहेको र मुनाफा बितरण गर्ने व्यवस्था गरेको छु । सिमसारले अहिले नै महिनाको ९० हजार सम्मको आमदानी दिन थालेको छ । हाल सम्म आउदा आर्थिक वर्ष २०७१/०७२ मा मोरङ जिल्लामा उत्कृष्ट वनका रुपमा पुरस्कार, अघिल्लो आर्थिक वर्षमा गणेशमान सिंह राष्टिय पुरस्कारका लागि मोरङबाट सिफारिस गरिएका २ वटा वन मध्ये शान्ति सामुदायिक वन पनि पर्न सफल भएको छ । तल्लो तह देखि माथिल्लो निकाय सम्म आफ्ना कुरा पु¥याउन सक्ने भएका छौँ । यो सबै कुराहरु मेरो कार्यकालमा नै भएका हुन् ।

यदि यो निर्वाचनले पनि तपाइलाई नै दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचन गर्यो भने तपाइका आगामी योजना के छन् ?

हेनुस् काम केही गरेकै छैन् । योजना त अझै कति छन् कति । सबैको साथ सहयोग भयो, मलाई दोस्रो कार्यकालका लागि अध्यक्ष हुने अवसर भयो भने हाल निर्माणाधिन अवस्थामा रहेका संरचनाहरु पुरा गर्ने छु । वनको कसरी वढी भन्दा वढी उच्चतम आमदानी गरेर उपभोक्तालाई दिन सकिन्छ त्यस तर्फ बिचार गर्ने छु । पथरी शनिश्चरेको नै गौरव हो यो शान्ति भुल्के सिमसार यसको सम्बद्र्धन, व्यवस्थापन, बाँकी रहेका संरचना निर्माण लगाएतका कामहरु गरिने छ । अधुरा अपुरा काम पुरा गर्ने छु । उपभोक्ताको माग र आवश्यकतालाई उच्च प्राथमिकतामा राख्ने छु । पर्यटनको अकार्षक केन्द्र बनाउनका लागि सहयोगी दाताको खोजी, लगानी गर्ने वातावरण, वनको राम्रो व्यवस्थापन, संस्थाको हरेका खातापाता चुस्त दुरुस्त राख्ने लगाएतका हरेका कुराहरु मेरा योजनामा छन् ।

अन्त्यमा केही भन्नु छ ?

अन्त्यमा सुन्दर नगरी पथरी शनिश्चरेको काखमा रहेको शान्ति सामुदायिक वनका बारेमा केही कुराहरु, मेरा अनुभवहरु राख्ने अवसर दिनुभयो त्यसका लागि धन्यवाद, आगामी कार्तिक ४ गते विहान ११ बजे देखि संस्थाको कार्यालयमा ९ औँ चुनावी साधारणसभा हुदैछ, साधारणसभामा सम्पूर्ण उपभोक्ताहरुलाई उपस्थीतिका लागि सादर अनुरोध गर्दछु । साथै कार्तिक ७ गते हुने चुनावमा पनि सबैले आफ्नो विवेकले आफ्नो मतको प्रयोग गर्न पनि अनुरोध गर्दछु ।

सम्बन्धित खवर