प्याजको भाउ ह्वात्तै बढ्यो, प्याज गोदाममा छापा

प्याजको भाउ ह्वात्तै बढ्यो, प्याज गोदाममा छापा

काठमाडाँै, नेपाली बजारमा प्याजको मूल्य एक्कासि बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालीमाटीस्थित प्याज गोदाममा छापा मारेको छ । विभागको अनुगमन टोलीले आज कालीमाटीस्थित प्याज भण्डारण गरिएको गोदाममा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा आइतबारको तुलनामा सोमबार प्याजको मूल्य बढाएर बिक्री गरेको भेटिएको थियो । विभागले ती प्याज व्यापारीको परिचय सार्वजनिक गरेको छैन । व्यापारीले मौज्दातमै रहेको प्याजको मूल्य बढाएर बिक्री गरेको हो वा उनको खरीद मूल्य नै बढी परेको हो भन्नेमा अनुसन्धान भइरहेको विभागका महानिर्देशक योगेन्द्र गौचनले बताउनुभयो ।

अनुगमन टोलीले खरीद, बिक्री तथा मौज्दात विवरणसहित ती व्यापारीलाई विभागमा उपस्थित हुन निर्देशन दिएको छ । अस्वभाविकरुपमा वृद्धि भएको प्याजको भाउले जनजीवन प्रभावित पारेको पाइएपछि विभागको टोली अनुगमनमा निस्किएको हो ।

अनुगमनका क्रममा व्यापारीले अवरोध गर्ने आशङ्कामा विभागको टोली ठूलो सङ्ख्यामा सुरक्षाकर्मी लिएर कालीमाटीस्थित तरकारी बजार पुगेको थियो । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा प्याजको भाउ अस्वभाविकरुपमा वृद्धि भएको छ ।

केही दिनअधिसम्म प्रतिकिलो रु १०० मा बिक्री भइरहेको प्याजको खुद्रा मूल्य आज कालीमाटी बजारमा रु १३५ प्रतिकिलो पुगेको छ । कालीमाटीस्थित तरकारी बजारमा आज प्याजको थोक मूल्य औसत प्रतिकिलो रु ११५ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । दसैँको मुखमा प्याजको भाउ एकाएक वृद्धि हुँदा उपभोक्ता मारमा परेका छन् ।

आपूर्ति सहज बनाउन चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्शले दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापनमा देखिएको असहज अवस्था हटाउन आग्रह गरेको छ । ठूला गाडीको प्रवेशमा रोक लगाइएसँगै राजधानीमा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या भएको ठहर गर्दै चेम्बरले तत्काल आपूर्ति व्यवस्थामा ध्यान दिई ढुवानीका साधनलाई काठमाडौँ प्रवेशमा सहज वातावरण बनाउन अनुरोध गरेको छ ।

राजधानी प्रवेशको मुख्य नाका नागढुङ्गा क्षेत्रमा अत्यधिक ट्राफिक जाम भएको भन्दै सरकारले तत्कालका लागि छ चक्केभन्दा ठूला ट्रकको काठमाडौँ प्रवेशमा रोक लगाएको छ । आयातित वस्तुमा कारोवार मूल्यलाई मान्यता नदिइएको कारणले पनि मूल्यवृद्धि हुन पुगेको चेम्बरले जनाएको छ । चाडबाडका बेलामा मात्र गरिने बजार अनुगमन मूल्यवृद्धिको प्रमुख कारक बनेको चेम्बरको निष्कर्ष रहेको छ ।


सम्बन्धित खवर