आश्विन १२, २०७६
आज विश्व मुटु दिवस नेपालसहित विश्वभर विविध चेतनामुलुक कार्यक्रम गरी मनाइँदैछ ।
संसारभरि मुटुसम्बन्धी रोगका कारण वर्षेनी १ करोड ७५ लाखभन्दा बढी मानिसको ज्यान गइरहेको विश्व स्वास्थ्य संगठन डब्लूएचओको तथ्याङ्क छ ।
विश्वभर हुने मृत्युको ३१ प्रतिशत कारण मुटुजन्य रोग भएको डब्लूएचओले जनाएको छ । सन् २०३० सम्म मुटुजन्य रोगबाट मात्रै दुई करोड ३० लाख मानिसको मृत्यु हुनसक्ने विश्लेषण स्वास्थ्य विज्ञहरुले गरेका छन् । मुटुरोगको १० प्रतिशत कारण सूर्ती र सूर्तीजन्य पद्धार्थको उपयोगलाई मानिन्छ ।
अरुको उडाएको धूवाँ वा वरपरको धूलोको कारण मात्रै ६० लाखको मृत्यु हुने गरेको विश्वव्यापी आंकडा रहेको छ । बढ्दो शहरीकरण र अस्वथ्यकर जीवनशैलीले गर्दा नेपालमा पनि कम उमेरमै मुटुरोगबाट पीडित हुनेको संख्या उल्लेख्य बढिरहेको छ । चिकित्सका अनुसार मुटुको रोग लाग्ने कुनै एउटा मात्र कारण छैन् ।
जोखिमका तत्वहरु धूमपान, परिवारमा मुटुरोगको इतिहास, उच्च रक्तचाप, उच्च रगत कोलेस्ट्रोल, मधुमेह, मोटोपन, चिन्ता आदिले मुटुरोग लाग्ने सम्भावना बढाउने वरिष्ट मुटु रोग विशेषज्ञ डा. अवनिभूषण उपाध्यायको भनाई छ । विश्व स्वास्थ्य संगठनको अनुसार ५ देखि १७ वर्षका बच्चाहरुले दिनमा करीब १ घण्टा घर बाहिर अलि बढि शारिरीक परिश्रम गर्ने, खेल्ने वा केहि गतिविधि गर्नु मुटुको लागि राम्रो हुन्छ ।
वयस्क व्यक्तिले दिनमा न्युनतम आधा घण्टा शारीरिक व्यायम वा गतिविधि गर्नुपर्दछ मुटुजन्य रोगलाई संसारकै मृत्युको प्रमुख कारण मानिन्छ ।
