सुनसरी र मोरङका उद्योगहरु धमाधम बन्द हुँदै

सुनसरी र मोरङका उद्योगहरु धमाधम बन्द हुँदै

आइतबार ३१, भदौ २०७६
सुनसरी र मोरङका उद्योगहरु पछिल्लो समय धमाधम बन्द हुन थालेका छन् ।
सरकारले मुलुकमा राजनीतिक स्थायित्व भएकाले लगानी गर्ने वातावरण अनुकुल रहेको बताएपनि औद्योगिक वातावरण नभएको भन्दै व्यवसायीहरुले एक पछि अर्को गर्दै कलकारखाना बन्द गर्न थालेका हुन् ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि औद्योगिक क्षेत्रको विकासमा कालो बादल नै सुरु भएको थियो । त्यसबेला सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा १ सय ५० वटा ठूला उद्योगहरु थिए ।
तर ३० वर्षपछि अहिले ठूला उद्योगको संख्या ४३ मा खुम्चिएको छ । तीमध्ये पनि अधिकांश उद्योग समस्याग्रस्त रुपमा सञ्चालन भइरहेका छन् ।
मुलुकमा नयाँ व्यवस्थासहितको स्थिर सरकार गठन भएता पनि उद्योगी व्यवसायी भने औद्योगिक क्षेत्रको विकासका लागि अनुकूल वातावरण नभएको गुनासो गरिरहेका छन् ।
नयाँ उद्योग थपिनुको साटो भएका उद्योग पनि बन्द हुने क्रममा रहेको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे बताउँछन् ।
उद्योग विभागको तथ्याङक अनुसार सुनसरी–मोरङ औद्योगिक करिडोरलगायत आसपासका क्षेत्रमा अहिले साना ठूला गरी ६६५ उद्योग सञ्चालनमा छन् ।जसमध्ये १९ प्रतिशत उद्योगले मात्र उत्पादित वस्तु भारतसहित तेस्रो मुलुकमा निर्यात गर्ने गरेका छन् ।
राजनीतिक अस्थिरता बन्द–हड्ताल, श्रमिक आन्दोलन, विद्युत् अभाव, यातायात अवरोधलगायतका कारण उद्योग बन्द भएको उद्योगीहरु बताउँछन् ।
उद्योग विभागका अनुसार सुनसरी–मोरङ औद्योगिक करिडोरमा ५ सय करोड रुपैयाँ उद्योगमा लगानी छ । यस औद्योगिक करिडोरमा जुट, चाउचाउ, बिस्कुट, तेल, मैदा, जुत्ता, चप्पल, धागो, साबुन, लगायतका वस्तु उत्पादन हुँदै आएका छन्
जहाँबाट झण्डै ५० हजार भन्दा बढी जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

सम्बन्धित खवर