पाकिस्तानले खोज्यो कश्मीर मामिलामा नेपालको भूमिका

पाकिस्तानले खोज्यो कश्मीर मामिलामा नेपालको भूमिका

 


२०७६ भदौ ६ गते
भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकर काठमाडौंको दुईदिने भ्रमण सकेर दिल्ली फर्किएलगत्तै पाकिस्तानी विदेशमन्त्रीले कश्मीर मामिलामा नेपालसँग सहयोग मागेका छन् ।

पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई टेलिफोनमार्फत कश्मीरको पछिल्लो अवस्थाको जानकारी गराउँदै नेपालको भूमिका खोजेका हुन् । बिहीबार साँझ कश्मीर मामिलाको बारेमा टेलिफोन वार्ता भएको ज्ञवालीले पुष्टि गरे ।

मन्त्री ज्ञवालीले भने, ‘उहाँले मलाई फोन गरेर कश्मीर अवस्थाबारे जानकारी गराउँदै सीमा क्षेत्रमा तनाव बढेको बताउनुभयो । नेपाललले यो परिस्थितिमा आफ्नो भूमिकाको बारेमा विचार गरोस् भन्दै उहाँले पाकिस्तानी दृष्टिकोण र त्यहाँको अपडेट गराउनुभयो ।’

जवाफमा आफूले कश्मीर समस्याको हल दुवै देशबीचको संवादबाट निकाल्नुपर्ने बताएको उनले जानकारी दिए ।
नेपालले कश्मीरमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको र आफूहरु क्षेत्रीय शान्ति तथा स्थिरताको पक्षमा रहेको मन्त्री ज्ञवालीले बताएका थिए ।
भारत प्रशासित काश्मीरको स्वायत्तता खोसिएपछि सो क्षेत्रमा तनाव छ । यहीबीच पाकिस्तानले यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गरिरहेको छ । कश्मिरलाई स्वतन्त्रता दिलाउनुपर्ने भन्दै पाकिस्तानले सार्क मुलुकसँग पनि लबिङ थालेको छ ।

 

सम्बन्धित खवर