काठमाडौंका ४ वटा फिल्महलले मात्रै बुझाए कर

काठमाडौंका ४ वटा फिल्महलले मात्रै बुझाए कर

काठमाडौं, काठमाडौं उपत्यकामा सञ्चालित ४२ वटा मध्ये चारवटा फिल्महलले मात्र अघिल्लो आर्थिक वर्ष ०७५–०७६ को कर बुझाएका छन् । काठमाडौं महानगरपालिका राजस्व विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार अघिल्लो आर्थिक वर्षमा चारवटा फिल्महलले मनोरञ्जन बापतको शुल्क बुझाउँदा १९ लाख रुपैयाँमात्र संकलन गरेको छ ।

फिल्महलले मनोरञ्जन शुल्कबापतको कर नबुझाएपछि महानगरको राजस्व विभागले सूचना जारी गर्दै भदौ १७ सम्मको म्याद दिएको छ । “टिकट बिक्रीसँगै संकलन भएको शुल्क पनि महानगरमा नबुझाएपछि यसमा हामी गम्भीर भएका छौं । टिकट काट्दा नै दर्शकसँग करशुल्क जोडेर पैसा असुल्ने तर सरकारलाई कर नबुझाउनु गैरकानुनी हो,” काठमाडौं महानगरपालिका राजस्व विभागका प्रमुख न्यौपानेले भने ।

प्रदेश नं. ३ को आर्थिक ऐन, ०७६ को व्यवस्थाबमोजिम फिल्महलले चलचित्र प्रदर्शन गर्दा मनोरञ्जन करबापत प्रतिटिकट ५ प्रतिशत रकम सोही महिनाको २५ गतेभित्र स्थानीय सरकारलाई बुझाउनुपर्छ ।

“ऐनले यस्तो व्यवस्था गरे पनि पालना भएको पाइएन । व्यवसायीले गतवर्ष नै तिर्नुपर्ने कर तिर्नसमेत चासो देखाएका छैनन्,” न्यौपानेले भने, “ऐनको दफा ४ (३) बमोजिम हामीले चलचित्र घरहरुलाई बक्यौता रकमसमेत लिएर आउन सूचना जारी गरेका छौं ।”
बाह्रखरीबाट

सम्बन्धित खवर