शंखेकिराको आतंक, नियन्त्रणका लागि वडाको एक लाख वजेट

शंखेकिराको आतंक, नियन्त्रणका लागि वडाको एक लाख वजेट

डम्बर सिन्चिउरी, जाँते

शंखेकिराले आतंक मच्चाउन थालेपछि मोरङको लेटाङ ९ जाँतेमा वडा कार्यालयले १ लाख रकम खर्चिने निर्णय गरेको छ । किसानलाई अति दुःख दिन थालेपछि वडाले यो निर्णय गर्नुपरेको वडा अध्यक्ष कृष्ण प्रसाद लुइटेलले जानकारी दिएका छन् ।

कृषकले लगाएका सिमि, वोडि, घिरौला, करेला, चिचिण्डा, फर्सी लगायतका हरेक साग सब्जीमा शंखेकिरा लाग्ने गरेको छ । मोरङको सब्जी उत्पादनको केन्द्र मानिदै आएको जाँतेमा शंखेकिराका कारण किसान मारमा परेपछि विकासको बजेट पनि शंखेकिरामा खर्चिनु परेको अध्यक्ष लुइटेलको भनाइ छ । व्यक्तिगत रुपमा नियन्त्रणका लागि असम्भव भएपछि वडाले नै यसको व्यवस्थापनका लागि रकम खर्चेको लुइटेलले बताए ।

विगत ४, ५ वर्ष देखि यस क्षेत्रमा देखा परेको शंखेकिरा २ वर्ष अघि देखि आतंक मच्चाउन थालेको स्थानीय कृषक कमल खड्काले बताए । रातको समयमा कलिला पात, मुन्टा, बोक्रा र डाँठ नै खाइदिने यो किराको ¥यालले भेटेको सम्पूर्ण भाग मर्ने गर्दछ । दिनमा भन्दा पनि रातको समय र पानी परेको समयमा यो किरा बढी मात्रामा सक्रिय हुने गरेको पाइन्छ ।

शंखेकिराले आतंक नै मच्चाउन थालेपछि वडाले वर्षै पिच्छे केही न केही कार्यक्रम ल्याउने गरेको छ । सुरुका वर्षमा कृषकलाई वारीमा भएका शंखेकिरा टिपेर ल्याउन भनिएको थियो । गत वर्ष भने शंखेकिराको संकलन केन्द्र नै खडा गरियो र टोल टोलबाट बोरामा शंखेकिरा संकलन गरियो । त्यसरी शंकलन गरेवापत कृषकलाई प्रतिकेजी २५ रुपैयाका दरले वडाले किनेर शंखेकिरा नष्ट गर्ने काम गरेको थियो । यसरी पनि शंखेकिरा पूर्ण रुपमा नष्ट नभएका कारण यस वर्ष पनि वडाले १ लाख रकम विनियोजन गरेको वडा कार्यालयको भनाइ छ । यो वर्ष वडा कार्यालयले वडाका १२ सय घरधुरीलाई ६० किलो विषादि खरिद गरेर वितरण गरेको छ । प्रतिघरधुरी ५० ग्रामका दरले वितरण गरेको वडा सदस्य गोपाल मगरले जानकारी दिए ।

आगामी वर्षमा पनि नियन्त्रणमा आउन नसके जीव विशेषज्ञसंगको परामर्शमा अन्य उपाय गरिने वडा सदस्य इन्द्र ढकालले जनाए । यसरी किरा मार्दा मानव र अन्य प्राणीमा पर्ने असरका बारेमा पनि ख्याल गरिनुपर्नेमा स्थानीयको जोड छ ।


आर्थिक वर्ष २०७५/०७६ मा नियन्त्रण गरिएको शंखेकिरा

सम्बन्धित खवर