तमोर तटिय बासिन्दाको पिडा

तमोर तटिय बासिन्दाको पिडा

३ दिनदेखिको वर्षाका कारण ग्रामीण सडक अवरुद्ध थिए । जताततै बाढी र पहिरोको प्रकोप बढ्दै जाँदा गाउँपालिका–२ पिप्लेकी ५५ वर्षीया बुद्धमाया तामाङलाई अचानक बिरामले च्याप्यो । गाउँपालिका भित्रिने र बाहिरिने सबै सडक पहिरोले अवरुद्ध थिए । गाउँमा उपचार सम्भव थिएन । उपचारको लागि छोटो दूरीको सडक तमोर कोरिडोर हुँदै धरान पुर्याउन सबै जुटे ।

सडकको भीरबाट सुख्खा पहिरो झरे पनि स्थानीयले त्यसको कुनै प्रवाह नगरी बिरामीलाई झोलुङ्गोमा बोकेर अगाडि बढाइरहे । दुई दिनको पैदल बाटोबाट धरान पु¥याउन खोला र पहिरो छिचोल्दै अघि बढेका स्थानीयले मनमायाको ज्यान जोगाउन सकेनन् । झोलुङ्गोमा छट्पटाउँदै बुद्धमायाले पीडा खप्न नसकी धनकुटाको चौबीसे गाउँपालिकामा प्राण त्याग गरिन् ।

बुद्धमाया एक उदाहरण मात्रै हुन् । गाउँघरमा उपचार अभावमा धेरै नागरिकले अकालमै ज्यान गुमाउनु परेको छ । गाउँपालिकाका बासिन्दा सदरमुकामको फिदिम र तराईको धरानसम्म उपचारको लागि पुग्ने गरेका छन् । सडक साँघुरो भएकाले स्ट्रेचर सम्भव नभएपछि झोलुङ्गो तयार गरेर बिरामीलाई धरानतर्फ लगिएको थियो ।

पछिल्लो समयमा तमोर कोरिडोरबाट सेवा पाउँदै आएका कुम्मायक र तुम्बेवा गाउँपालिकाका नागरिक सडक अवरुद्ध हुँदा मारमा परेका छन् । भनेको समयमा सवारी साधन नपाइनु, दिगो सडकको पहुँच ग्रामीण क्षेत्रमा नहुनु र स्वास्थ्यकर्मी दुर्गममा नबस्नु जस्ता कारणले नागरिकले आधारभूत आवश्यकताबाट बञ्चित भएको तुम्बेवा गाउँपालिका घर भई धरानमा व्यवसाय गर्दै आएका स्थानीय प्रकाश अधिकारीले बताए ।

‘दुईदिन लाग्ने बाटोमा बिरामी बोकेर हिँड्नु अनि निरन्तर बाढी पहिरोको पीडादायी यात्रा कस्तो होला’ उनी भन्छन्, ‘तमोरतटीय क्षेत्रमा बस्ने नागरिको पीडा सम्झेर ल्याउँदा कहालीलाग्दो अवस्था छ ।’ अस्पतालको मुख नहेरी गाउँमा ज्यान गुमाउने नागरिकको सङ्ख्या धेरै छ ।

स्वास्थ्यको पहुँचमा पुग्न नसकेका ग्रामीण क्षेत्रमा सडक, शिक्षा र स्वास्थ्यको अभाव व्याप्त छ । वर्षायाममा ग्रामीण सडक अवरुद्ध हुँदा उपचारको लागि डोको र स्ट्रेचरमा बिरामीलाई बोकेर तराईसम्म पुर्याउनु पर्ने बाध्यता छ । कतिपयले बाटैमा अकालमै मृत्युवरण गर्नुपरेको स्थानीय बताउँछन् ।

गाउँमा सिहदरबारको अनुभूति लिन नपाएका नागरिक स्वाथ्यसेवाबाट पनि बञ्चित छन् । सरकारले दिगो लक्ष्यको रूपमा लिएको तमोर कोरिडोरको दर्जनौं स्थानमा पहिरोले सडक अवरुद्ध बनाएको छ । पाँचथरको अमरपुरदेखि धनकुटाको मूलघाटसम्मको सातवटा प्याकेजको काम हुँदै आएको छ ।

निर्माणस्थलमा खटिएका निर्माण कम्पनीले सडक समयमै नखुलाउँदा पाँचथर, तेह्रथुम र धनकुटाका नागरिक मारमा परेका छन् । सम्बन्धित निकायले सडक खुलाउन पहल गर्नुपर्ने उनीहरूको माग छ ।
ब्लाष्ट खबरबाट

सम्बन्धित खवर