काठमाडौं, कैलालीको धनगढी उपमहानगर–३, शहीद गेटमा विहिबार साँझ भयानक विष्फोट भएको छ । सो शक्तिशाली बम विष्फोटमा विप्लव समूहको संलग्नता रहेको आशंका प्रहरीले गरेको छ ।
बिहीबार साँझ निलम होटल अगाडि भएको बम विस्फोटमा ५ जना घाइते भएका छन् । घटनाको अनुसन्धानका लागि खटिएका प्रहरी अधिकृतहरुले विप्लव समूहको संलग्नता हुनसक्ने आशंका गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी सुदिप गिरीले बताएअनुसार ग्यासको सिलिण्डर विष्फोट भएको आशंकामा प्रहरी टोली घटनास्थल पुगेको थियो । तर घटनास्थलमा विष्फोट भएको स्टीलको टिफिन बक्सको अवशेष भेटिएको थियो ।
नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहले विष्फोट पदार्थ टिफिन बक्समा लुकाएर ओसार्न खोजेको र त्यसक्रममा विस्फोट भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
कैलाली प्रहरीका एक अनुसन्धान अधिकृतले भने, ‘प्रारम्भिक प्रमाण हेर्र्दा दुर्घटनावश विस्फोट भएको हुनसक्ने देखिन्छ ।’
घटनास्थलमा ९ एमएमको पुरानो चाइनिज पेस्तोल समेत भेटिएको प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापा बताउँछन् ।
विस्फोटमा घाइते भएका बझाङका राम सिंह विप्लव समूहको कार्यकर्ता हुनसक्ने प्रहरीको आशंका छ ।
घटनामा उनीसँगै कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र धनगढी–४, बोराडाडीका केशवराज पाण्डे छन् । पाण्डे होटल सञ्चालक हुन् भने मोविन नजिकै रहेको गाडी मर्मत केन्द्रका मिस्त्री हुन् ।
प्रारम्भिक उपचारपछि अन्यसँग बयान लिन प्रयास गरिने प्रहरीले जनाएको छ ।
अनलाइन खबरको सहयोगमा